पर्वत, २ जेठ– सुलभ दरमा नागरिकलाई स्वास्थ्य सेवा दिने उद्देश्यले पर्वतमा बिहीबारदेखि स्वास्थ्य बिमा कार्यक्रम कार्यान्वयनमा आएको छ । कोरोना भाइरसका कारण गरिएको लकडाउनले स्वास्थ्य बिमा कार्यक्रमका लागि आवश्यक तयारी गर्न नपाएको भएपनि पूर्व निर्धारित तालिकाअनुसार नै जेठ एक गतेबाट नै बिमा कार्यक्रमलाई कार्यान्वयनमा लगिएको पर्वत अस्पताल व्यवस्थापन समितिका अध्यक्ष गोविन्द पहाडीले बताए ।
‘लकडाउनका कारण औषधि खरिद, बिमा कार्यक्रमका लागि कर्मचारी नियुक्ति, अन्य सामग्रीहरूको व्यवस्थापन लगायतका कामहरू बाँकी नै रहेका छन् । लकडाउनका कारण धेरैले स्वास्थ्य बिमा गरिसकेको अवस्था छैन’ पहाडीले भने, ‘अब बिमा कार्यक्रममार्पmत स्वास्थ्य सेवा लिन सबैलाई अनुरोध छ ।’ जारी लकडाउन सकिएलगत्तै अपुरा कामहरू पूरा गरेर स्वास्थ्य बिमा कार्यक्रमलाई प्रभावकारी रूपमा सञ्चालन गरिने पहाडीले बताए ।
स्वास्थ्य बिमा गर्ने परिवारमा ५ जना सदस्य भएमा एकमुष्ट रूपमा वार्षिक ३५ सय रुपैयाँ बिमाको प्रिमियमको रूपमा जम्मा गर्नुपर्ने तर ५ जनाभन्दा बढी सदस्य भएमा प्रतिथप सदस्यको ७ सय रुपैयाँका दरले रकम थप गर्नुपर्ने छ । एक वर्षको लागि बिमा शुल्क तिरेका व्यक्तिले वर्षमा एक लाख सम्मको निःशुल्क उपचार गर्न पाउने छन् । बिमा गरेका व्यक्तिहरूले नेपाल सरकारबाट निःशुल्क उपलब्ध गराइएका सम्पूर्ण स्वास्थ्य सुविधाहरू त प्राप्त गर्ने नै छन् त्यसबाहेक बहिरङ्ग, अन्तरङ्ग र आकस्मिक कक्षबाट प्रदान गरिने सेवाहरू तथा कार्यक्रमले तोकेका निदानात्मक र परीक्षण सेवाहरू पनि पाउने छन् ।
धनी र गरिब सबै वर्गलाई उचित स्वास्थ्य सेवा पाउनको लागि, उपचारको लागि विदेश जान नसक्ने तथा नेपालमै लाखौँ खर्च गर्न नसक्नेलाई यसबाट सजिलो र फाइदा हुने बिमाका लागि एक पटक नवीकरण गरिएको शुल्कले एक वर्षका लागि मात्र काम गर्नेछ ।
बिमामा समावेश भएका ७० वर्ष माथिका प्रत्येक ज्येष्ठ नागरिकको बिमा निःशुल्क रूपमा गरिने र एक लाख सम्मको औषधि उपचार सेवा प्राप्त गर्ने छन् । स्वास्थ्य बिमा कार्यक्रममा कस्मेटिक सर्जरी, सहायक उपकरण यन्त्रहरू चस्मा, कान सुन्ने यन्त्र लगायत उपलब्ध नहुने, दाँतसम्बन्धी महँगा उपचार, कृत्रिम गर्भाधान, लिङ्ग परिवर्तन लगायतका केही सेवा भने समावेश नभएको बिमा बोर्ड गण्डकी प्रदेश प्रमुख जीवलाल खरेलले बताए । बिमा गरेकै आधारमा आफ्नो जिल्लाको सूचीकृत अस्पताल छोडेर बाहिरका अस्पतालमा जाँदैमा सेवा नपाइने तर तोकिएको अस्पतालको सिफारिस साथ अन्य सूचीकृत अस्पतालमा गएमा भने सेवा पाइने उनको भनाई छ ।





