बागलुङ, ३ जेठ– लकडाउनमा पनि अन्य समयजस्तै पसलहरु खुल्न थालेपछि बागलुङ बजारमा कडाई थालिएको छ । बागलुङ बजार र आसपासका फलफुल तथा तरकारी पसललाई समेत तोकिएको समयमा मात्रै खुल्ला गर्न भनिएको छ ।
शुक्रबार व्यवसायी, जिल्ला प्रशासन, बागलुङ नगरपालिका र उद्योग बाणिज्य संघका प्रतिनिधिसहितको छलफलपछि खाद्यान्न, फलफुल तथा तरकारी पसल खोल्ने समय तालिका बनाईएको हो । सर्वपक्षिय छलफलपछि बिहान र बेलुकाको समयमा मात्रै पसल खोल्ने सहमति भएको बागलुङ नगरपालिकाले जनाएको छ ।
कोरोना संक्रमणको त्रास बढ्दै गएपछि अत्यावश्यक खाद्यान्न तथा तरकारीको व्यवसायमा समेत साबधानी अपनाउन थालिएको नगर प्रमुख जनकारज पौडेलले बताए । दिनभर पसलहरु खोल्दा किनमेलको बहानामा बिनाकाम बजार डुल्नेहरु बढेकाले समय तोकेर व्यवसायीलाई पसल खोल्न भनिएको उनले बताए ।
बिहान ६ बजेदेखि १० बजेसम्म र साँझ ४ बजेदेखि ७ बजेसम्म पसल खोल्ने निर्णय भएको हो । छलफलको क्रममा बागलुङ बजारका व्यवसायीहरुले दुई महिनालाई पुग्ने खाद्यान्न स्टोर रहेको भन्दै बाहिरी जिल्लाबाट ढुवानी हुँदै आएको खाद्यान्न रोक्दा कुनै समस्या नहुने भएकाले लकडाउनमा थप कडाई गर्न आग्रह गरेका थिए ।
व्यवसायीको आग्रहपछि जेठ ५ गतेपछि जिल्ला बाहिरबाट खाद्यान्न लिएर आउने सवारीलाई केही समयका लागि रोक लगाउने निर्णय गरिएको छ । स्थानीय स्तरमै तरकारी उत्पादन भैरहेकाले बाहिरी जिल्लाबाट ढुवानी रोकिँदा समस्या नहुने बैठकको निष्कर्ष छ ।
बागलुङ नगरपालिकाले स्थानीय किसानले उत्पादन गरेका तरकारी खरिद गर्न व्यवसायीलाई निर्देशनसमेत दिएको छ । गाउँमा खाद्यान्न ढुवानी गरिरहेका सवारीलाई समेत बजारमा पसल खुलेको समयमा मात्रै लोडअनलोड गर्न भनिएको छ । अहिले पनि दुई बोरा चामल राखेर बजारमा गुडिरहेका सवारी भेटिन्छन् । खाद्यान्न बोक्ने बहनामा तोकिएको समयभन्दा अघिपछि बजार क्षेत्रमा देखिए कारवाही गरिने बागलुङ प्रहरीले जनाएको छ ।
यसैबीच, नेपाल सरकारको निर्देशनअनुसार बागलुङ नगरपालिकाले बैंक तथा बित्तिय संस्था सञ्चालनका लागि समय तोकेको छ । सबै बैंक एकैपटक खुल्दा बजार क्षेत्रमा चहलपहल बढेको भन्दै बैंक तथा बित्तिय संस्थाका लागि समेत समयावधी तोकिएको हो । साप्ताहिक पालो प्रणाली लागु गरेर बैंक तथा बित्तिय संस्था सञ्चालनमा ल्याउन निर्देशन दिईएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत डण्डपाणी शर्माले बताए । बागलुङ बजारमा शाखा रहेका बैंकले हप्तामा दुई दिन कार्यालय खोल्न पाउने छन् । केही सरकारी बैंक तथा निजी क्षेत्रको धेरै कारोवार हुने बैंकको हकमा भने हप्तामा तिन दिनसम्म समायावधी तोकिएको छ ।





