बागलुङ, ३ जेठ– चालु आर्थिक बर्षको पछिल्ला दुई महिना बाँकी रहँदा यहाँका स्थानीय तहलाई बिकास निर्माणको काममा भ्याईनभ्याई छ । लकडाउनको पालना गर्दै सामाजिक दुरी कायम गरेर पूवार्धार विकास र मानव विकासका कार्यक्रमहरु सुरु गरेका स्थानीय तहले केन्द्र सरकारले पठाएको बजेट सिलिङमा रहेर आगामी आर्थिक बर्षको नीति तथा कार्यक्रमको तयारी थालेका छन् ।
लकडाउनका कारण थलिएको अर्थव्यवस्थाका बाबजुद स्थानीय तहले गरिरहेको नीति तथा कार्यक्रम र बजेट तयारीको लागि कोरोना रोकथाम र नियन्त्रणका लागि तयार पारिएका तथ्यांकले भने सघाउने भएको छ ।
गतवर्ष अनुमानकै आधारमा गर्भवती तथा सुत्केरी महिलाको पोषण कार्यक्रम सञ्चालन गरेको बरेङ गाउँपालिकाले यो बर्ष अनुमानकै आधारमा कार्यक्रम बनाउनुपर्ने छैन । किनभने तत्कालका लागि गर्भवती र सुत्केरी महिलाको तथ्यांक तयार भएको छ । सोही तथ्यांकका आधारमा आगामी वर्षको संख्या अनुमान गर्न सकिन्छ ।
‘तीन महिनाका गर्भवतीदेखि ७ महिनाभित्रका सुत्केरीको तथ्यांक लकडाउनमै तयार भयो’ गाउँपालिकाका अध्यक्ष कृष्ण प्रसाद शर्माले भने ‘गर्भवतीको संख्या यकिन नहोला तर यो तथ्यांक हेरेर अनुमान गर्न सकिन्छ ।’ तथ्यांकले मानविय बिकासका कार्यक्रम बनाउन सहयोग पुग्ने उनले बताए ।
दिर्घ रोगीलाई निशुल्क औषधि बाँडेको गाउँपालिकाले ४ सय १० जना नियमित औषधि खाने बिरामी रहेको तथ्यांक तयार पारेको छ । जसका कारण आगामी बर्षका लागि स्वास्थ्य शाखाले औषधि खरिद गर्दा तथ्यांकको सहायता लिन सक्छ र गाउँपालिकाले सोही अनुसारको योजना बनाउने पौडेल बताउँछन् ।
अतिविपन्न, मजदुर तथा गरिब घर परिवारको पनि लकडाउनकै समयमा जिल्लाका सबै तहमा तथ्यांक तयार छ । ‘हामीले योजना बनाउँदा अनुमानकै आधार बन्ने गरेका स–साना सूचकहरु संकटको समयमै भएपनि तयार भए’ जिल्लाको जैमिनी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत इश्वरी प्रसाद शर्माले भने ‘यो सकारात्मक पाटो हो ।’
लकडाउनकै कारण परीक्षाको नतिजा सार्वजनिक गर्न स्थानीय तहका सोसलसाईटहरु प्रयोग गर्नुपर्ने बाध्यताले विद्यालयले लुकाएका तथ्यांकसमेत बाहिर आए । ‘विद्यालयमा विद्यार्थी कति छन् भन्ने सहि तथ्यांक अहिले आएको छ, जसले शिक्षा नीतिमा ठूलो अर्थ राख्छ’ बरेङका प्रमुख प्रशासकीय अधिकृत रमेश थापा भन्छन् ‘दरबन्दी मिलान, भवनमा अनुदान लगायतका शिर्षकमा हामीलाई काम गर्न सजिलो हुनेछ ।’
मजदुर, कृषि, शिक्षा र स्वास्थ्य क्षेत्रका लागि तयार हुने कार्यक्रम सबैमा यो समयमा तयार भएका तथ्यांकले सघाउने गाउँपालिका प्रमुखहरु बताउँछन् । कोरोनाको त्रास नियन्त्रण र रोकथामका लागि यहाँका दशवटै स्थानीय तहले तल्लो तहसम्म पुगेर तथ्यांक संकलन गरिरहेकै छन् । राहतका लागि होस वा उद्धार र उपचार सबैका लागि तयार भएका तथ्यांकका नतिजाले योजना निर्माणमा सहयोग पुग्ने ताराखोला गाउँपालिकाका अध्यक्ष प्रकाश घर्ति बताउँछन् । कोरोनाका कारण यहाँका स्थानीय तहमा मजदुर, विपन्नदेखि पालिका बाहिर रहेका र रोजगारी तथा बेरोजगारको समेत तथ्यांक तयार भएको छ ।





