बुधबार, कार्तिक ४ २०८३

बुधबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , बुधबार
  • October 21 2026

जसले माम होइन, काम दिए…!

जसले माम होइन, काम दिए…!

घरमा दुई महिनाकी सुत्केरी बुहारीलाई स्याहार्नु कि ! काम खोज्न जानु ?


  • श्याम राना मगर
  • जेष्ठ ५ २०७७, सोमबार

पोखरा, ५ जेठ –लकडाउनमा पनि अन्नपूर्ण गाउँपालिका–२ का भरत परियारलाई फुर्सद छैन । अरु, काम नपाएर फुर्सदिला बनिरहेको बेला, भरतलाई भने काम गर्न भ्याईनभ्याई छ । ‘काम गर्न पाइच, ठीकै लाछ । अरु त के छ र, पैलापैला यति साह्रो काम पनि पाइएको थेन,’ लकडाउनको समयमा पनि काम गर्न पाएको खुसी साँट्दै उनले भने, ‘काम गरेर खान पाइइच ।’
गाउँपालिकाले बनाउन लागेको अष्ट्रेलियन क्याम्प जाने पदमार्गमा काम पाउँदा उनको खुसीको सीमा नै छैन । लकडाउन सुरु हुनु अघिसम्म काम गर्न नपाएर भोकै बस्नुपर्छ कि भन्ने पीरले उनलाई पिरोलिरहेको थियो । जबदेखि, गाउँपालिकाले लकडाउनको अवधिमा पनि विकास निर्माणका काम नरोक्ने निर्णय लियो, भोकको चिन्ताले उति साह्रो गाँजेन । दैनिक ज्यालादारी गरेर पाँच जना परिवारको पेट पाल्दै आएका भरतले काम पाए । त्यो भन्दा ठूलो अरु के चाहियो ? ‘बन्द भको कारण बिचमा केही समस्या परेथ्यो । अहिले काम पाइइच, घरपरिवारको गुँजारा चलिच,’ उनी थप्छन् ।
म्याग्दीकी रश्मी श्रीपाली पनि काम पाएर औधी खुसी छिन् । काम खोज्दै थातथलो छोडेर पोखरा झरेकी रश्मी ४ वर्षदेखि यही काम गर्दैछिन् । तल काम पाइने छाँटकाँट नदेखेपछि रश्मीको होसहवासै उड्यो । परिवारको गुँजार कसरी टार्ने ? ‘अन्नपूर्ण गाउँपालिकाले बेरोजगारीलाई काम दिँदै छ रे ! भन्ने सुनेर उनी एक दिनको बाटो पैदल हिँडेर काँडे आइन् । घरमा दुई महिनाकी सुत्केरी बुहारीलाई स्याहार्नु कि ! काम खोज्न जानु ? अन्तिममा, भोकको अघि उनको केही जोर चलेन । काम खोज्दै नाउडाँडामा रहेको गाउँपालिका कार्यालयमा आइन् । ‘राहत दिनेले पनि राम्रोसँग सामान पनि देइनन्, कति गाह्रो भयो,’ सरकारले भोकालाई दिने भनेको राहत पनि राम्रोसँग नपाएको गुनासो पोख्दै उनले भनिन्, ‘१५ दिनपछि पैसा पाउँछौ भन्नु भैच । त्यसकारण पछि मात्रै घर गएर खान पाइने होला !’
काम खोज्दै मुग्लान भाँसिएका श्रीमान पनि नफर्केपछि घरको सबै जिम्मेवारी उनकै काँधमा आइलाग्यो । काम पाएपछि त पाँच जनाको पेट कस्सो भोको रहला ! सुत्केरी बुहारे भएको थाहा पाईसकेपछि भने राहतस्वरुप चामल, तेल र दाल पाइसकेको उनले सुनाइन् ।
लकडाउनले रोजोरोटी खोसिएका मजदुरलाई गाउँपालिकाले अहिले काम दिइरहेको छ । कामै नपाएपछि भोकै बस्नुपर्ने अवस्थामा पुगेका मजदुरलाई पोखरा महानगरपालिकासहित कास्कीका अरु ३ गाउँपालिकाले राहत सामग्री वितरण गरेपनि अन्नपूर्ण गाउँपालिकाले भने राहतमा बाँड्ने रकम विकास निर्माणका काममा खर्चेको छ । त्यही रकमले अहिले २ सय हाराहारीमा मजदुरहरुले काम पाइरहेका छन् । ‘हामीले एकपटकमा राहत दियौं भने, हदै दिए हजार/दुई हजारको दिउँला, हामीले राहतको सट्टा काम नै दिएपछि, त्यो २ हजार त कामदारले २ दिनमै कमाईरहेका छन्,’ गाउँपालिका अध्यक्ष युवराज कुँवरले भने ।
धेरै ठाउँका जनप्रतिनिधीले लकडाउन सुरु भएको पर्सिपल्टबाटै राहत बाँड्न सुरु गरे पनि आफ्नो गाउँपालिकाले भने राहतको सट्टा कामनै दिने निर्णय गरेको उनले सुनाए । लकडाउनपछि गाउँपालिकामा बसेको बैठकले राहतभन्दा पनि कामको जरुरी देखेर काम दिने निर्णय लिएको उनले खुलाए । राहतको रकमलाई विकासमा जोड्ने निर्णयअनुसार राहतको रकमलाई विकास निर्माणको काममा खर्चेको उनले प्रस्ट्याए ।
गाउँपालिकाले १० लाख रुपैयाँ विपद् व्यवस्थापन कोषबाट छुटयाएर राहत कोषमा गरेको उनले जानकारी दिए । राहतस्वरुप प्रदेशले पाँच लाख रुपैयाँ, निर्माण व्यवसायीले पचास हजार र विभिन्न संघ संस्थाबाट आर्थिक सहयोग आइरहेको उनको भनाई छ । यद्यपि, संघ सरकारबाट भने राहतको पैसा नआएको उनले बताए ।
उनका अनुसार, विभिन्न तरिकाबाट खर्च हुने पैसालाई विकासमा जोड्ने योजना बनाएर गाउँपालिका अघि बढेको छ । ‘राहतमा होइन । आर्थिक राहतभन्दा पनि विकासको राहत महसुस ग¥यौंँ । गाउँपालिकाका सबै वडाका नागरिकलाई काम गर्छु भन्दै आउनेलाई काम दिई रहेका छौं,’ उनले भने । पुराना बाटो, चौतारा, कुँवा, मन्दिर लगायतका संरचना संरक्षण गर्ने काम अहिले भइरहेको उनले जानकारी दिए । ‘अरुले राहत दिए, हामीले राहत खोज्नेलाई काम दियौं,’ उनले भने ।
गाउँपालिकाले अहिले उत्पादनमुलक काममा जोड दिइरहेको छ । रोगलाई भन्दा भोकलाई महत्व दिएर आफूँहरु अघि बढिरहेको उनको दाबी छ । ‘भोक महत्वपूर्ण हो । जब भोक मेटिन्न, उत्पादन हुन्न त्यतिबेला अर्को खालको रोग सुरु हुन्छ । अहिले पो कोरोना भाइरस छ,’ उनले भने, ‘जब मान्छेले पेटभरि खान पाउँदैन । त्यसपछि मान्छे अर्को रोगले आक्रान्त हुन्छ ।’
गाउँपालिकाले कोदो बैंक पनि सञ्चालनमा ल्याएको उनले सुनाए । गाउँपालिकाका ११ वटै वडामा गरि ५ सय मुरी कोदो राखेको उनले बताए । भावी महासंकट टर्नेगरि कोदो बैंक तयार पारेको उनको दाबी छ । केही खाद्यान्न पनि भण्डार गरेर राखेको उनले सुनाए ।
अहिले गाउँपालिकामा २२ योजनाका काम सञ्चालन भइरहेको उनले बताए । बस्ती हेरेर १ लाखदेखि ५ लाखसम्म रकम आयोजनाको लागि छुट्याएको उनले सुनाए । ‘त्यो सक्ने बित्तिकै अर्को काम दिन्छौंँ । काम गर्न चाहे बर्खायाममा पनि काम दिन्छौं,’ उनले भने ।
राज्यमा आर्थिक आतङ्क सुरु हुने संकत मिलेको हुँदा प्रत्येक परिवार उत्पादनमा लाग्नुपर्नेमा उनले जोड दिए । ‘अब हामी कृषि उत्पादनमा लाग्न नसके, आर्थिक अवस्था तल झर्छ । प्रत्येक परिवार उत्पादनमा लाग्नुपर्छ । उत्पादन नै महत्वपूर्ण हो,’ उनले भने ।
रोगलाई भोकसँग लडाउनुपर्ने गाउँपालिका अध्यक्ष कुँवरको तर्क छ । गाउँपालिकामा ६० बेडको क्वारेन्टाइन तयार छ । भवितव्य आइहाले बन्द भएर बसेका स्कुल, कार्यालयलाई क्वारेन्टाइनको रुपमा प्रयोग गर्न सकिए पनि बाहिरका मान्छे राख्न सक्ने अवस्था भने नरहेको उनले सुनाए । गाउँपालिकाले ५० प्रतिशत छुटमा हाते ट्याक्टर र प्लास्टिक टनेल पनि प्रत्येक वडामा ५÷५ वटाका दरले बाँडेको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->