बिश्वव्यापी महामारी रोग कोरोना भाईरस रोग (कोभिड १९) बाट बच्न र बचाउन सरकारले ठूलो मेहनत गरेको छ । त्यसका लागि सूचना प्रवाह गरिएको मात्र होइन, सुरक्षाकर्मी र स्वास्थ्यकर्मी परिचालन गरेर नियन्त्रणका लागी ठूलो प्रयाश गरिएको छ । लक डाउन घोषणा गरेरै नियन्त्रणका लागि पहलकदमी लिइयो । वास्तवमा लक डाउनलाई आत्मानुशासनका साथ पालना गर्नुपर्दछ । यतिवेला कोरोना भाइरस नियन्त्रणका लागि सवैक्षेत्रबाट भए गरेका कार्यलाई चुनौती दिएर गल्ती गर्ने होईन, सहयोगी भएर, पिपिईहरुको सही उपयोग गरेर, अनि यी कार्यलाई सिम्बोलिक मानेर आफै सचेत हुनुपर्दछ । सुरक्षाकर्मी तथा स्वास्थ्यकर्मीको उपस्थिति नरहेको स्थानमा हामीले स्वबिवेक प्रयोग गर्नु पर्दछ । तर हाम्रो समाजमा लापर्वाहीको पराकाष्टा नाघीसकेको छ भने यिनै लापर्वाहीको कारण कोरोना भाईरसले हामी नेपालीलाई पनि अब नछाड्ने अवस्था बढ्दैछ । कोरोना भाईरस नियन्त्रण तथा उपचारमा खटिएका सुरक्षाकर्मी तथा स्वास्थ्यकर्मी समेतलाई यसले आक्रमण गरिसकेपछी हामी सबै आफै सचेत र सुरक्षित रही पिडामा रहेकालाई सहायता गर्ने कार्यमा खटिनु पर्ने अवस्था छ ।
कोरोना संक्रमित भै निको भैसकेका देश बिदेशमा रहेका व्यक्तिको अनुभब तथा संक्रमणको अवस्थालाई हेर्दा धेरै जसो होसियार नहुंदा कोरोना संक्रमण भएको तर स्वास्थ्यकर्मीको निर्देशनमा नियमित उपचारबाट निको भएको यथार्थता हामी सामु छ । धेरैजनालाई जानकारी भएजस्तै म पनि कर्तव्य पालनाको सिलसिलामा मात्र होईन, अत्याबस्यक काम बिशेषले आफु रहेबसेको स्थानबाट बाहिर पुग्दा पसल, सवारी साधन तथा अत्यावश्यक सेवाका बस्तु उत्पादन तथा ढुवानी कार्यमा केहीले सामान्य मास्क बाहेक कुनै अन्य पिपिई, सेनिटाइजर, पन्जा लगाएको वा सेवाग्राहीका लागी सहज उपलव्ध गराएको पाईएको छैन । सामाजिक दुरी कायम गर्नु त सबैले हो । तर धेरैले सुरक्षाकर्मीलाई देखाउनका लागी हो जस्तो ठान्नु भएको छ । म आफै कुनै मेडिकलमा टिटानसको ईन्जेक्सन लगाउन जांदा स्वास्थ्य सेवाबाट अबकाश प्राप्त औषधी व्यवसायीसंग सेनिटाईजरको उपयोग गर्न माग गर्दा मुस्कीलले पसलको कुनातिरबाट खोजेर ल्याई मेरा हातमा तुरुक्क दुई थोपा राखी दिनुभयो , मैले धन्यबाद दिए । त्यसैगरी मै हु भन्ने ट्रान्सपोर्ट व्यवसायी साथीको गाडीमा त सेनिटाईजर फेला नै परेन, मैले आफ्नो साथमा रहेको सेनिटाईजर दिएर उपयोगमा ल्याउन सुझाए । त्यसैगरी खाद्य तथा किराना पसलहरुमा होममेड लगायतका सेनिटाईजर पसलको कुनातिर राख्ने, सचेत ग्राहकले मागेमा मात्र उपलव्ध गराउने नत्र आफै पनि मास्क, सेनिटाइजर, पन्जा केही पनि उपयोगमा ल्याएको पाईएन ।
तसर्थ, बिश्वका आणविक शक्तिका साथै संसारमा सबैभन्दा धेरै स्वास्थ्य सहयोग गर्ने अमेरिका जस्तो शक्तिशाली देशले सहयोगबाट पछाडी हट्नुका साथै आफ्नै देशमा लाखौ नागरिकलाई कोरोना सक्रमण हुँदा रोक्न सकिराखेको छैन । हामी औषधी र पिपीई सबै अन्य देशको सहयोगमा निर्भर भैरहेको यस अवस्थामा उपरोक्त मानवीय लापर्वाही हुन नदीइ पुर्णरुपमा सचेत रही मास्क, सेनिटाईजर पन्जा तथा आवश्यकतानुसार पिपिईको प्रयोग गर्ने कुरामा सवैले ध्यान दिऔं । अनावश्यक हिडडुल तथा भिडभाड नगरौं, ज्वरो आउने, खोकी लाग्ने, टाउको दुख्ने लगायत कोरोना भाईरस समबन्धी रोगका लक्षण देखिएमा छिटो भन्दा छिटो नजिकको स्वास्थ्य संस्था वा नेपाल सरकारले तोकेको कोरोना उपचार केन्द्रमा लगी उपचार गर्ने व्यवस्था मिलाऔं, आफै सेल्फ आईसोलेसन वा क्वारेन्टाईनमा बस्ने बानी बसालौं, हामी बाहिरबाट घरमा आउंदा सर्वप्रथम प्रयोग गरेका कपडा सकभर तातो पानिमा डुबाई राख्ने, साबुनले सफा गर्ने, नुहाउने, झोला तथा सफा गर्न मिल्ने सामान अलग्गै राखी सफा गरौं । सफा गर्न नमिल्ले सामानलाई होसियारसाथ गुणस्तरीय सिनिटाईजरको प्रयोग गरी किटाणुरहित बनाउने गरौं, घर तथा कार्यस्थलमा आउने जो कोही व्यक्तिलाई कम्तीमा २ मिटरको दुरीमा रहन लगाउनुका साथै मास्क, पन्जा र सेनिटाईजरको प्रयोग गर्न लगाऔं, कोही व्यक्ति वा आफैमाथी कुनै शंका लागेमा नजिकको स्वास्थ्य संस्थामा जंचाएर कोरोना भाईरसबाट आफु बचौ र अरुलाई पनि बचाऔं । (कार्की हालै सेवानिविर्त प्रहरी नायव उपरिक्षक हुन् ।)



