बुधबार, कार्तिक ४ २०८३

बुधबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , बुधबार
  • October 21 2026

लकडाउनले गण्डकीमा मात्रै ३८ अर्ब नोक्सानी

लकडाउनले गण्डकीमा मात्रै ३८ अर्ब नोक्सानी

लकडाउनले शिथिल अर्थतन्त्र उकास्न स्वास्थ्य, कृषि र शिक्षालाई केन्द्रमा राखेर बजेट : मुख्यमन्त्री गुरुङ


  • ढोरपाटन संवाददाता
  • जेष्ठ ६ २०७७, मंगलबार

पोखरा, ६ जेठ – लकडाउनका कारण गण्डकी प्रदेशले ३८ अर्बभन्दा बढी नोक्सानी व्यहोरेको छ । लकडाउनले उत्पादन, निर्माणलगायतका क्षेत्र ठप्प हुँदा तथा रेमिट्यान्स घट्दा यो अवस्था आएको हो ।
‘वैशाख मसान्तसम्म मात्र कोरोनाको कारण गण्डकी प्रदेशमा विप्रेषणमा १९ अर्व २३ करोड ५२ लाख र कुल ग्राहस्थ उत्पादनतर्फ १९ अर्व ३ करोड १३ लाख नोक्सानी व्यहोरेको छ’, गण्डकी प्रदेश नीति तथा योजना आयोगका उपाध्यक्ष डाक्टर गिरिधारी शर्माले भने, ‘हामीले करिव ३८ अर्व २६ करोड ६५ लाख नोक्सानी हुने प्रारम्भीक अनुमान गरेका छौँ ।’ नीति आयोगले कोरोनासँगैको लकडाउनले अर्थतन्त्रमा पारेको प्रभावको प्रारम्भिक अध्यनमा यो तथ्य देखिएको उनले बताए ।
यता, गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले लकडाउनले शिथिल भएको अर्थतन्त्र उकास्न स्वास्थ्य, कृषि र शिक्षालाई केन्द्रमा राखेर बजेट ल्याउने तयारी गरेको बताएका छन् । गण्डकी प्रदेश विकास समितिले आर्थिक वर्ष २०७७/०७८ को बजेट तर्जुमाबारे राखेको बैठकमा बोल्दै उनले कोरोनाले स्वास्थ्यका पूर्वाधारमा लगानी बढाउनुपर्ने सन्देश दिएको बताए ।
गण्डकी प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री किरण गुरुङले अहिले आउने बजेट स्वाभाविक बजेट नभएको जानकारी दिए । स्वास्थ्यको क्षेत्रमा पहिलेकोभन्दा दुईगुणा र कृषिमा बजेट बढ्ने तथा क्रमगत योजनाहरुलाई निरन्तरता दिइने दिने तयारी गरिएको उनको भनाई थियो । उनले लकडाउनकै बीचमा पनि आर्थिक गतिविधिलाई निरन्तरता दिनुपर्नेमा जोड दिए ।
गण्डकी प्रदेशको अर्थ तथा विकास समितिका सभापति दीपक कोइरालाले क्रमागत योजनलाई निरन्तरता दिनुपर्ने, गण्डकी प्रदेशका सवै नागरिकको स्वास्थ्य बीमा गराउनुपर्ने लगायतका सुझाब दिएका थिए । छलफलमा अर्थ तथा विकास समितिका सदस्यहरु इन्द्रलाल सापकोटा, बिनोद केसी, मीनप्रसाद गुरुङ, चन्द्रमोहन गौचन, जनकलाल श्रेष्ठ, सरिता गुरुङ र दोेबाटे विश्वकर्माले प्रदेश सरकाले अन्य प्रदेशको भन्दा उत्कृष्ट बजेट ल्याउन सुझाएका थिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->