`

खयरको काठ खोज्दै व्यापारी गाउँमै

  • प्रतिकिलो ४० रुपैयाँमा काठ बिक्री गर्ने तयारी

    • ढोरपाटन संवाददाता
    • बुधबार, जेष्ठ ७, २०७७

    बागलुङ, ७ जेठ– बागलुङको जैमिनी नगरपालिकाका जंगलमा खेर गैरहेको खयरको काठले बजार पाउन थालेको छ । जैमिनी नगरपालिका–७ मा रहेका कालीगण्डकी नदी किनारमा रहेको खयरको काठ जिल्ला बाहिर निकासीको तयारी थालिएको हो ।
    देशका ठुला शहरबाट व्यवसायी आएर खयरको काठ लैजाने तयारी थालेपछि आम्दानीको स्रोत बढ्नेमा यहाँका किसान आशावादी छन् । काठ किन्नेहरु गाउँमै आएकाले कानुनी प्रक्रियाको थालनी भएको जैमिनी नगरपालिका–७ जैदीका बिष्णु ढुंगानाले बताए । केही वर्ष अघिसम्म दाउराको रुपमा प्रयोग हुने खयरका काठ खोज्दै व्यापारी गाउँमै आउने गरेका छन् ।
    निजी बनमा लगाईएको काठ आवश्यक प्रक्रिया पुरा गरेर व्यवसायीले लैजान्छु भनेपछि वडा कार्यालयको सिफारिसमा रुख काटेर किसानले काठ तयार पारेका छन् । नदी किनारमा रहेको बनक्षेत्रमा रहेको काठ बिक्रीका लागि किसानले डिभिजन बन कार्यालयमा निवेदन दिएको भएपनि लकडाउनका कारण स्थलगत अनुगमन गर्न नसकिएको डिभिजन बन कार्यालय बागलुङका प्रमुख रोमराज लामिछानेले बताए ।
    बन कार्यालयले स्थलगत अनुगमन गरि अनुमति दिएपछि नीजि बनक्षेत्रको रुख कटानी गर्न पाउने कानुनी व्यवस्था छ । व्यक्तिगत प्रयोजनका लागि काटिने रुखको स्थानीय करबाहेक केही तिर्नु पर्दैन भने व्यवसायीक रुपमा बिक्री वितरण गर्दा सरकारले तोके बमोजिमको १३ प्रतिशत कर तिर्नुपर्ने व्यवस्था रहेको लामिछानेले बताए ।
    गाउँमै व्यवसायी आएपछि जैदीका स्थानीयले अनावश्यक जंगल बनेको खयर बिक्री गर्ने योजना बनाएको स्थानीय बद्रि ढुंगानाले बताए । ‘लकडाउनले बिक्रीको काम रोकीएको छ, दश परिवारले काठ काटेर तयार पार्नुभएको छ’ उनले भने ‘राम्रो मुल्य पर्ने भएकाले हामी हौसिएका छौं ।’ स्थानीयले ४० रुपैयाँ प्रतिकिलो काठ बिक्री गर्ने तयारीमा रहेको उनले बताए । प्रकृया राजश्व र ढुवानीसमेत घटाएर बजारभाउभन्दा कम मुल्य दिए पनि बिक्रीका लागि समस्या नरहेको ढुंगाना बताउँछन् । यो बर्ष निजी बन रहेको जैदीका केही परिवारले दश टनसम्म काठ निकासी गर्न सकिने बताएका छन् ।
    रंग बनाउन खयरको काठ बजारमा बिक्री हुने गरेको छ । जैमिनीबाट काठ निकासी हुन थालेको यो पहिलो घटना हो । ‘निजी बनक्षेत्रको काठ वडाको सिफारिसमा आवश्यक प्रक्रिया पुरा गरेर बिक्री गर्न सकिने बिधि बनाएका छौं’ जैमिनी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत इश्वरी प्रसाद शर्माले भने ‘काठ बिक्री हुन थालेको जानकारी त पाएका छैनौं, सायद वडामा जानकारी होला ।’
    सामुन्द्रिक सतहदेखी करिव ९ सय मिटर उचाईसम्म पाईने खयरको रुख कालिगण्डकी नदी किनार आसपासको जंगलमा पाईने गरेको छ । ‘पछिल्लो समय हाम्रो बनमा आँफै खयरको रुख उम्रेको छ’ जैमिनी नगरपालिकाका उप–प्रमुख लिला रानाले भने ‘नदीले पुरेको खेतीयोग्य जमिनमा उम्रिएको खयरले किसानको घाटा पुर्ति गर्नसक्छ की ।’
    नेपालको ६० लाख हेक्टर वनमध्ये १० प्रतिशत अर्थात् ६ लाख हेक्टर वनक्षेत्र खाली रहेको तथ्यांक छ । खाली रहेको जमिनमा खयरजस्ता बहुउपयोगी रुखहरु रोपेर आम्दानी लिन सकिने स्थानीय लोकनाथ शर्मा बताउँछन् । खयरको बिरुवा अरु खेती गर्न नमिल्ने ढुंगेबगर र गेग्रेटोमा पनि लगाउन सकिने, पानी खासै नचाहिने र एकपटक हुर्केपछि तीन पटकसम्म उत्पादन लिन सकिने भएकाले व्यवसायिकरण गरी यसको वृक्षारोपण गर्न आवश्य रहेको उनले बताए । एउटा खयरको रुखको २५ हजारसम्म पर्ने गरेको छ ।

    प्रतिक्रिया दिनुहस

    सम्बन्धित समाचार

    © 2020 Dhorpatan News All right reserved Site By : SobizTrend Technology