`

लकडाउनले पर्यटकीय क्षेत्र र धार्मिक सम्पदा सुनसान


  • ढोरपाटन संवाददाता
  • बिहिबार, जेष्ठ ८, २०७७

बागलुङ, ८ जेठ – कोरोना भाइरसको संक्रमणले देश लकडाउनमा परेपछि पर्यटकीय क्षेत्र र सम्पदाहरु सुनसान बनेका छन् । ती स्थानमा दैनिक हुने चहलपहल, ती सम्पदाकै भरमा चलेका होटल तथा अन्य व्यवसायसमेत थला पर्न थालेका छन् । ती स्थान थला पर्दा देशको अर्थतन्त्रमा समेत नकारात्मक असर परेको छ ।
नेपाल र भारतसहित विभिन्न देशका धर्मगुरुको भेलाबाट हिन्दु र बौद्ध धर्मालम्बीहरुको गन्तव्य बनाउन लागएको बागलुङ नगरपालिका–४ को कुँडुलेमा अहिले निर्धारित कार्यक्रम रोकियो । वैशाख १० गतेदेखि २० गतेसम्म संसारका धर्मगुरुहरुको भेला र महायज्ञ आयोजना गरिएको थियो । हिन्दुधर्म गुरुहरुको भेलाले हजारौं धार्मिक पर्यटक भित्राउने लक्ष थियो । शालीग्राम संग्राहलय पनि भएकोले धार्मिक पर्यटक भित्राउने महत्वपूर्ण योजना अलपत्र परेको हो ।
एक लाख १५ हजार शालीग्राम भूमिगत संग्राहलयमा राखिएकोले धार्मिक गन्तव्यको रुपमा बिकास भएको छ । तर अहिले संग्राहलय हेरिदिने कोही छैन । चितवन, पोखरा र अन्य धेरै क्षेत्रबाट बस रिर्जभ गरेर हेर्न आउनेको भीड लाग्नै लागेको बेला लकडाउनले पर्यटन व्यवसायनै धरासायी बनेको हो । ‘हामीले बार्षिक हजारौं पर्यटक भित्राएर जिल्लकै बिकासमा साथ दिन खोजेका थियौं’ संग्राहलयका संरक्षक ऋषि प्रपन्नाचार्यले भने, ‘लकडाउनले एउटा ठूलो अवसर गुम्यो ।’ मानव स्वास्थ्य र जीवन पहिलो भएकोले वातावरण ठिक भएपछि अभियान पुनः संचालन गरिने उनले बताए । यहाँ संसारभरका कम्तिमा ३ सय धर्मगुरु भित्राउने लक्ष थियो । उनीहरुमार्फत भारत र चीनका धेरै पर्यटक ल्याउन सकिने योजना थियो ।


बागलुङकै भकुण्डेसहित २८ वटा होमस्टे अहिले सुनसान छन् । लकडाउनका कारण मानिसको आवतजावत ठप्प छ । पाहुना स्वागत गरेर भ्रमण बर्ष मनाउने तयारीमा सबै होमस्टेले फरक फरक पहिचान बनाउँदै थिए । ‘हामीले दुई महिनादेखि अर्गानिक खाना र बसाईको व्यवस्थासहितको होमस्टे चलाएका थियौं’, ताराखोला गाउँपालिका–२ का तुलसी रोकाले भनिन्, ‘पाहुना स्वागत गरेर बनेको रोजगारी पनि गुमेको छ ।’ बन्दीपुरसँग मितेरी साइनो गाँसेर ताराखोलाले विदेशी पर्यटक भित्राउने तयारीसमेत गरेको थियो । संसारै लकडाउनमा परेपछि अझै एक बर्ष गाउँ घुम्ने बोलाउन नसकिने गाउँपालिका अध्यक्ष प्रकाश घर्तीले बताए ।
दैनिक एक लाखदेखि ३ लाखसम्म भेटी चढ्ने बागलुङ कालिकामा अहिले सुनसान छ । सयौं भक्तजन आउने मन्दिर पूजारी र संचालक समितिका सदस्य गएर सरसफाई मात्र गरिरहेका छन् । मन्दिरमा आउने भक्तजनले बागलुङको होटल व्यवसायमा पनि साथ दिएको थियो । दुई महिनादेखि थलिएका होटल तत्काल खुल्ने संभावना छैन । ‘होटलमा पाहुना बोलाउने अबस्था छैन, यो बर्ष शुन्य हुने खतरा छ’ होटल संघका अध्यक्ष निलेस राजभण्डारीले भने, ‘घरभाडा र कर तिर्दा व्यवसायी पलायन हुन्छन् ।’ जिल्लामा २ सयबढी सानाठूला होटल छन् । चैतेदशै, नयाँ बर्ष लगायतका पर्वमा हुने बिशेष मेलाहरु पनि स्थगित भएपछि आन्तरिक भ्रमणमा आउने सयौं नआएपछि बागलुङका दर्जनौ होटल पनि सुनसान भए ।
संसारकै लामो झोलुंगे पुल’ बनेको एक महिना पुग्यो । दैनिक सयौं पर्यटक भित्राउने गरी नगरपालिकाले वैशाख ९ गते नै राष्ट्रपतिबाट उद्घाटन गराउने लक्ष राखेको थियो । कोरोना संक्रमणसंगै देश लकडाउनमा परेपछि यो लक्ष तुहियो । जिल्लाकै पहिचान बढाउन र पर्यटक भित्राएर आर्थिक उन्नती गर्न यो पुल उपयोगी हुने नगरप्रमुख जनकराज पौडेलको बुझाई छ । ‘हामीले गिनिज बुकमा नाम लेखाउने तयारी पनि थालेका छौं’ पौडेलले भने, ‘हजारौं पर्यटक भित्राउने पहिलो अबसर लकडाउन र कोरोना संक्रमणले गुमिरहेको छ ।’ बनेको पुल हेर्न आउनेको चाहना भएपनि लकडाउनले रोकेको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

© 2020 Dhorpatan News All right reserved Site By : SobizTrend Technology