`

कोरोना कहरमा नेपालको अर्थतन्त्र : चुनौतीसंगै अवसर


  • हरिप्रसाद शर्मा
  • बिहिबार, जेष्ठ ८, २०७७

यतिखेर विश्व कोरोना भाइरसको आतंकबाट त्रसित छ । कोरोना भाइरसको कारण देखा परेको रोग ‘मर्स’ सन् २०१२ मा साउदी अरेवियामा देखिएको थियो, जसले सन् २०१५ मा दक्षिण कोरियामा दर्जनौ मानिसको ज्यान लिएको थियो । सन् २०१९ मा चिनको शहर वुहानमा पुनः यो रोग देखिएपछि विश्व स्वास्थ्य संगठनले ७ जनवरी २०२० मा यसलाई (कोभिड–१९) नामाकरण गरी विश्वव्यापी महामारीको रुप दियो । उक्त महामारीबाट यतिखेर सारा विश्व आतंकित बनिरहेको छ । विश्वका सबै राष्ट्रमा फैलिसकेको कोरोना महामारीबाट विश्वभर बिहिबार दिउँसोसम्म ५,९०,९७७ जना संक्रमित बनेका छन् । २०, २५, ८७८ जना निको भएका छन्भने ३२९,७५७ जनाको ज्यान गएको छ । नेपालको सन्दर्भमा ३६ जिल्लामा फैलिसकेको कोरोना महामारीबाट दुई जनाको ज्यान गएको तथ्याङ्क सार्वजनिक भएको छ । संक्रमण हुने संख्या ४४४ र निको हुनेको संख्या ४५ पुगेको छ ।
कमजोर आर्थिक अवस्था, स्वास्थ्य र प्राविधिक क्षमता, भारतसँगको खुला सिमानाजस्ता कारणले नेपाल कोरोना महामारीको उच्च जोखिममा रहेको तथ्य विश्व स्वास्थ्य संगठनले सार्वजनिक गरेको थियो । उक्त अवस्थालाई मध्यनजर गर्दै सरकारले चैत्र ११ देखि आजसम्म निरन्तर लकडाउन गर्दै आएको छ । अन्तराष्ट्रिय देशहरुको तुलनामा नेपालमा त्यति ठुलो मानविय क्षति नभैसकेको तर अबका दिनहरु भने झन् भयावह र डरलाग्दो हुने आँकलन गरेर नै जेष्ठ ४ गते बसेको मन्त्रिपरिषद बैठकले पुनः लकडाउनको समयावधि थप गरि जेष्ठ २० सम्म पु¥याएको छ । यसरी निरन्तर लकडाउनको समयावधि थपिँदै जाने हो भने अब जनजिविकाको दुनियाँ र अर्थतन्त्रको सबाल कस्तो हुने होला ? भन्ने प्रश्न हरेक चेतनशील मस्तिष्कमा उब्जिनु स्वभाविक नै हो । यसले एकातिर मानव जीवनको अस्तित्व नै संकटमा रहेको चित्रण गरेको छ भने अर्कोतिर अर्थतन्त्र कसरी चलायमान हुने र जनजीविका कसरी चलाउने भन्ने समस्या यतिखेर राज्यको अगाडी एक अजङ्गको पहाडझैँ बनेर उभिएको छ ।
विश्व अर्थतन्त्रको परिवेश
कोरोना भाइरसको प्रभावले विश्व उत्पादन र आपूर्ति श्रृङ्खला खल्बलिएको छ । करोडौं श्रमिकको रोजगार गुमेको छ । ठुला–ठुला स्टक मार्केटहरु क्रयास हुने स्थितिमा पुगेका छन् । पर्यटन क्षेत्रबाट विश्वले झण्डै २ अर्ब अमेरिकन डलर बराबरको क्षति व्यहोर्ने तर्क विश्व पर्यटन काउन्सिलले जनाएको छ । विश्वमा हवाई यातायात प्रणाली ठप्प छ । त्यसैले यतिखेर विश्वको अर्थतन्त्र मन्दीको गतिमा छ भने सिंगो एशियाली अर्थतन्त्र ४० वर्ष यताकै कमजोर हुन सक्ने आकलन अर्थशास्त्रीहरुको रहेको छ ।
नेपाली अर्थतन्त्र
भुमण्डलीकृत अर्थतन्त्रको एउटा स्वरुप विश्वव्यापीकरणको बढ्दो प्रभावले समग्र विश्वलाई नै साँघुरो बनाइदिरहेको वर्तमान सन्दर्भमा विश्व अर्थतन्त्रको यो प्रभावबाट नेपाली अर्थव्यवस्था अछुतो रहने कुरै भएन । नेपाली अर्थतन्त्रको गति कुन दिशामा जाला ? अर्थतन्त्रका परिसूचकहरुमा यसले कस्तो प्रभाव पार्ला ? भन्ने सन्दर्भमा विभिन्न अर्थशास्त्रीहरुले आफ्नो धाराणा राख्दै आएका छन् । तिनै अर्थशास्त्रीहरुको विचार, प्रक्षेपण, प्रकाशित प्रतिवेदनहरु अध्ययन गर्दा नेपाली अर्थतन्त्रले वास्तविक क्षेत्र, सार्वजनिक वित्तिय क्षेत्र, बैंकिङ क्षेत्र र बाह्य क्षेत्रभित्र रहेका उत्पादन, आम्दानी, रोजगारी, मुद्रास्फिति, बैंक तथा वित्तिय क्षेत्र, विपे्रषण, यातायात, पर्यटन, उद्योग तथा निर्माणजस्ता परिसूचकहरुबाट निम्नानुसारको चुनौती फेस गर्नुपर्ने देखिन्छ ।
कुल ग्राहस्थ उत्पादन (जिडिपी)
कुनै पनि देशको भौगोलिक सिमानाभित्र उत्पादन हुने सम्पूर्ण अन्तिम वस्तु तथा सेवाको कुल मौद्रिक मूल्य कुल ग्राहस्थ उत्पादन (जिडिपी) हो । जिडिपीको मूख्य आधार लगानी र लगानीको मूख्य आधार पुँजीगत खर्च हो । नेपालमा कोभिड–१९ को प्रभावले पुँजीगत खर्च न्यून हुने तर्क गर्दै जिडिपीमा झण्डै ६० प्रतिशतभन्दा बढी योगदान गर्ने नीजी क्षेत्रको लगानीसमेत निरुत्साहित बनेको र चालु खर्च कटौती गर्न पनि नसक्ने र पुँजीगत खर्च बढाउन पनि नसक्ने अवस्थाले गर्दा र नेपालको पुँजी बजार तिव्र रुपले ओरालो लागेको कारण आगामी वर्षको जिडिपी झण्डै २ प्रतिशतमा झर्ने र यसैगरी बन्दाबन्दीको अवधि थपिँदै जाने र अर्थतन्त्र चल्न नसकेमा जिडिपी ऋणात्मकसमेत हुनसक्ने तर्क अर्थविद डा. रेवत बहादुर कार्कीले गरेका छन् । सरकारले यो वर्षको जिडिपी ८.५ प्रतिशत हुने अनुमान गरेको थियो । कोरोनाको प्रभावले नेपालको जिडिपी औषतमा साढे दुई प्रतिशत हुन सक्ने अनुमान आईएमएफ, डब्लुबीको छ ।
बेरोजगारी र गरिबी
बजारमा प्रचलित ज्यालादरमा काम गर्न खोजेको तर काम नपाएको अवस्था बेरोजगार हो । देशमा झण्डै ६२ प्रतिशत श्रमिकहरु अनौपचारिक क्षेत्रमा काम गर्ने र झण्डै ४४ लाख श्रमिकले गैह्र सरकारी क्षेत्रमा काम गर्ने श्रमशक्ति सर्वेक्षणले जनाएको छ । यसरी बन्दाबन्दी थपिँदै जाने र निर्माणका कामहरु ठप्प हुँदै जाने हो भने ति सबै श्रमिकको रोजीरोटी उच्च जोखिममा छ । त्यतिमात्र नभएर कोरोनाको प्रभाव विश्वभरी फैलिएकोले जुनसुकै बेला ४० लाखभन्दा बढी विदेशिएका नेपालीहरु नेपाल फर्कने अवस्था भएमा नेपालमा लाखौँ बेरोजगारी निम्तिने छ, जसले गर्दा मूलुकमा ४ प्रतिशतभन्दा बढीले गरिबी बढ्न जाने अनुमान अर्थशास्त्रीहरुले गरेका छन् ।
मुद्रास्फीति
वस्तु तथा सेवाको मूल्य निरन्तर रुपले बढ्दै जाने र मुद्राको मूल्य कम हुँदै जाने अवस्था मुद्रास्फीति हो । बन्दाबन्दी लामो समय थपिदै गएमा कालोबजारी निरन्तर बढ्दै जाने छ । नेपाली मुद्रा डलरसँग अवमूल्यन भएका कारण बैदेशिक ऋणको लागत बढ्नेछ र आयातित रुपले मुद्रास्फीतिय चाप सिर्जना भई २ अंकको दरले मुद्रास्फीति हुन सक्ने विज्ञहरुले बताएका छन् ।
सार्वजनिक वित्त
सरकारले प्राप्त गर्ने आम्दानी र खर्च बीचको अध्ययन यसअन्तर्गत गरिन्छ । उत्पादन वृद्धि गर्ने मूख्य आधार पुँजीगत खर्च हो । कोरोनाको प्रभावले गर्दा पुँजीगत खर्च वृद्धि हुन सकेको छैन । चालु खर्च कटौती गर्न पनि मूस्किल देखिन्छ जसले गर्दा बजेट घाटा उच्च हुनेछ । विप्रेषणमा कमी आउने र आयातसमेत प्रभावित बन्ने भएकोले राजश्व संकलमा ठुलो समस्या सिर्जना हुने देखिन्छ ।
बैँक तथा वित्तिय क्षेत्र
साख सिर्जना गरी मूनाफा कमाउने उद्देश्यले स्थापित संस्थाहरु बैँक तथा वित्तिय संस्था हुन् । कोरोनाको प्रभावले यसको असर बैँक तथा वित्तिय क्षेत्रमा गतिलैसँग पर्ने देखिएको छ । ऋण लगेका ऋणीहरुले समयमा ब्याज र साँवा भूक्तान गर्न नसक्ने स्थिती यो संकटले निम्त्याएको छ । यसैगरी आर्थीक गतिविधि ठप्प भएमा खराब कर्जा बढ्दै जानेर वित्तिय स्थायित्वमा खलल पुगी मुनाफासमेत कम हुने भएकोले लगानीकर्ता हतोत्साहित हुनेछन् भन्ने तर्क गर्दै विज्ञहरुले सबैभन्दा उच्च जोखिमममा लघुवित्तिय कारोबार रहेको बताएका छन् ।
पर्यटन, यातायात, थोक खुद्रा र उद्योग निर्माण क्षेत्र
जिडिपीमा पर्यटन क्षेत्रको योगदान २ प्रतिशत जति छ । आर्थिक क्रियाकलापमा ८ प्रतिशत र रोजगारीको क्षेत्रमा ७ प्रतिशत योगदान दिएको पर्यटन क्षेत्रमा यसरी नै बन्दाबन्दी लामो समय थपिदै गएमा गत वर्षको तुलनमामा यसवर्ष पर्यटन क्षेत्रमा २१ प्रतिशतले गिरावट आउने संभावना छ । जिडिपीमा ७ प्रतिशत योगदान दिएको यातायात क्षेत्रसमेत कोरोनाको कारण प्रभावित छ । स्थल यातायात प्रभावित रहेकोले उत्पादन र रोजगारीमा ठुलो असर पुगेको छ । जिडिपीमा १४ प्रतिशत योगदान दिएको थोक तथा खुद्रा व्यापार प्रभावित छ । औद्योगिक उत्पादनमा ३२ प्रतिशत योगदान दिने उद्योगधन्दाहरु बन्द छन् । जसले गर्दा उत्पादनमा कमी आई अर्थतन्त्र पूर्णरुपले संकुचनतर्फ जाने तर्क राष्ट्र बैँकका उपनिर्देशक सिद्धराज भट्टले गर्दै आएका छन् ।
अन्य चुनौतीहरुः
नेपालमा कोभिड–१९ को प्रभावले धेरै चुनौतीहरु थपेको छ । १५ औँ योजना कार्यान्वयन गर्न चुनौती छ । दिगो विकासका लक्ष्यहरु पूरा गर्न चुनौती छ । अन्य अन्तराष्ट्रिय प्रतिवद्धताहरु पूरा गर्न चुनौती छ । शिक्षा क्षेत्र पूर्ण रुपले अस्तव्यस्त छ । लाखौँ बालबालिकाको भविष्य अन्यौल छ । परीक्षाको मुखैमा आएर भएको लकडाउनले गर्दा विद्यालय र विश्वविद्यालयस्तरका परीक्षा कसरी सञ्चालन गर्ने भन्नेमा सरकार अन्योलमा छ । कतिपय निजी विद्यालय र विश्वविद्यालयले अनलाइन कक्षाहरु सञ्चालन गरेपनि नयाँ शैक्षिक सत्रको पहिलो महिना बितिसक्दा समेत अब के गर्ने भन्ने सन्दर्भमा स्पष्ट नीति ल्याउन नसकी सरकार कुहिरोको काग जस्तै बन्नु बिडम्बना हो ।
महामारीले निम्त्याएको अवसर
हरेक कालो बादलमा चाँदीको घेरा हुन्छ भनेझैँ हरेक चुनौतीसँग अवसरहरु पनि गाँसिएका हुन्छन् । यो संक्रमणकालीन अवस्थामा कोही अतालिनु हुँदैन । हाम्रो मन, भावना, सोच, सद्धभाव र आशा सबै सकरात्मक हुन जरुरी छ । यसका निश्चित केहि अवसरहरु छन् जसलाई सदुपयोग गर्न सक्यौँ भने यो प्रलयबाट आत्तिनु पर्दैन । सोच बदलौँ । कर्म गरौँ । दुनियाँ बद्लिएको आभाष मिल्नेछ । उक्त महामारीले निम्त्याएका केहि अवसरहरुलाई यहाँ उल्लेख गर्ने जमर्को गरिएको छ ।
स्थानीय सरकार जीम्मेवारी बनाउने अवसर
संविधानको पालना र संघियता कार्यान्वयन गर्नको लागि स्थानीय सरकारलाई यो एउटा सुनौलो अवसर हो । यतिखेरको महामारीले हरेक स्थानीय सरकारलाई जिम्मेवारी बनाइदिएको छ । एउटा साबुन, एक पोका तेल र २÷४ केजी चामल बोकेर भएपनि जनप्रतिनिधिहरु नागरिकको घरदैलोमा पुगेका छन् । यसले सरकार घर घरमा पुगेको आभाष दिलाएको छ ।
आइसिटीको प्रयोग गर्ने अवसर
अन्तराष्ट्रिय स्तरमा बढ्दो रुपले प्रयोग र प्रचलनमा आएको सूचना सञ्चार तथा प्रविधिको प्रयोग बढ्दो मात्रामा छ । डिजिटल इकोनोमीबाट अर्थतन्त्र चलायमान छ । मानवीय गतिविधि बिना अर्थतन्त्र चल्ने यो एउटा सूनौलो अवसर हो । यसले ई–मोबाइल, ई–बैंङकिङ, ई–सेवा, ई–लरलिङ र अनलाइन स्टडीजस्ता सूचना प्रविधिहरुको अभ्यास गर्ने सुअवसर दिएको छ ।
जिडिपीमा कृषि क्षेत्रको हिस्सा वृद्धि गर्ने
आर्जित ज्ञान, सीप र प्रविधिको प्रयोग गरी कृषि क्षेत्रको उत्पादन वृद्धि गर्ने, कृषि क्षेत्रमा आधुनिकिकरण र व्यवसायिकरण गरेर देशको जिडिपीमा कृषि क्षेत्रको हिस्सा वृद्धि गर्ने यो अर्को अवसर हो । नेपालमा कोरोनाको प्रभाव र लकडाउनले गर्दा ग्रामिण भेगमा बस्ने जो रोजीरोटी र अन्य अवसरको खोजीमा शहर पसेका थिए ति बिछोडिएका मनहरुलाई यो महामारीले जोडेको छ । पारिवारिक सम्वन्ध सुमधुर बनाएको छ । गाउँघरतिर लामो समयदेखी बाँझिएका खेतबारीहरुमा खोरिया फाँड्ने र खेती गर्ने, तरकारी रोप्ने, अन्य नगदेबाली र फलफुल लगाउने क्रम बढ्दो छ । यसलाई कृषि क्षेत्रको उत्पादन वृद्धि गर्ने अवसरको रुपमा लिन सकिन्छ । यस्तै, अनावश्यक र अनुत्पादकिय खर्च कटौती गरी बिलासी बस्तुको आयातमा कमी गर्ने र त्यस्ता बस्तुको उपभोगमा कटौती गरी अति आवश्यक वस्तुको उत्पादनमा खर्च गर्ने अवसर यो महामारीले दिएको छ ।
शिक्षाको राष्ट्रिय उद्देश्य पूरा गर्ने
स्कुले उमेरका केटाकेटीलाई परम्परागत खालको शिक्षा प्रदान गरी आफ्ना पिता पुर्खाको पेशासँग आवद्ध गराई विभिन्न खालका सीपमूलक, आयआर्जन हुने खालका आर्थिक गतिविधिमा संलग्न गराई घरमा डोका, डाला, नाम्ला बुन्न सिकाउने, तरकारी खेतीमा काम गर्न सिकाउने, श्रमप्रति सम्मान गर्न सक्ने सकरात्मक सोच भएका नागरिक उत्पादन गर्ने र शिक्षाको राष्ट्रिय उद्देश्य पूरा गर्न सहयोग गर्ने बेलाको रुपमा यसलाई लिन सकिन्छ ।
संविधानको पालना र राज्यका नीति कार्यान्वयन गर्ने
शिक्षा क्षेत्रमा राज्यको लगानी अभिवृद्धि गर्दै शिक्षामा भएको निजी क्षेत्रको लगानीलाई नियमन र व्यवस्थापन गरी सेवामूलक बनाउँदै जाने राज्यको नीति स्पष्ट रुपले संविधानको भाग ४ मा उल्लेख गरिएको छ । नयाँ शैक्षिकसत्रको सुरुवातमै देखापरेको यो महामारीले यतिखेर बहुसङ्ख्यक नागरिकको सोंच बदलेको छ । यसलाई अवसरका रुपमा लिएर सामुदायिक विद्यालयमा केहि प्रभावकारी कार्यक्रम लागु गर्न सकेमा आम नागरीकमा नीजि विद्यालयप्रति रहेको आर्कषण कम गरी राज्यको नीति कार्यान्वयन गर्न सकिन्छ ।
यति धेरै अवसरका ढोकाहरु खुला हुँदा पनि सरकारले स्पष्ट रुपले नीतिगत उद्देश्यहरु तय गर्न नसकी, राजनीतिक खिचातानी, दलिय मति भ्रष्टता, भ्रष्टाचारको चङ्गुलमा फसेर मनखुसी गर्न खोज्नु बिडम्बना मात्र हैन गम्भिर अपराध हो । जनजीविकाको सवालमा पनि सरकार चनाखो र चिन्तित हुन सकेन भने यो सरकार इतिहासकै असफलको रुपमा चित्रित हुनेछ । अब, सरकारले यो महामारीबाट बच्न प्रभावकारी रणनीतिमूलक कार्यक्रम लागु गर्न जरुरी छ ।
(शर्मा मालिका मावि बागलुङका अर्थशास्त्र विषयका शिक्षक हुन्)

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

© 2020 Dhorpatan News All right reserved Site By : SobizTrend Technology