`

बिरुवा बेचेर मनग्य आम्दानी !

  • वैकल्पिक आम्दानीका लागि सुरु गरेको नर्सरीबाट वार्षिक ३ देखि ४ लाख आम्दानी

    • ढोरपाटन संवाददाता
    • शुक्रबार, जेष्ठ ९, २०७७

    म्याग्दी, ९ जेठ– म्याग्दीको अन्नपूर्ण गाउँपालिका वडा नं २ दानाको फगाम गाउँका जोगबहादुर विकले सुन्तला र कागतीका बिरुवा बेचेर वार्षिक १० लाखसम्म आम्दानी गर्दै आएका छन् । बिरुवा बेचेको आम्दानीबाट विकले शहरमा घर घडेरीसमेत जोडेका छन् ।
    तीन दशकदेखि तरकारी, सुन्तला र कागतीका बिरुवा उत्पादन गर्दै आएका जोगबहादुरले खेतीयोग्य जमिन र घर नजिकैको खरबारीमा बिरुवा उत्पादन गर्दै आएको बताए । ‘बिरुवा उत्पादनबाट सोचजस्तो आम्दानी हुनेरहेछ’ विकले भने, ‘घरखर्च र छोरालाई उच्च शिक्षा पठाउन कृषि पेशाबाट सहज भएको छ ।’ लकडाउनको समयमा बिरुवाहरु बिक्री भएपनि टाढा टाढाबाट आएको माग भने यातायात नचल्दा पुरा गर्न नसकेको विक बताउँछन् ।
    फगामकै दिलमाया पुनले पनि सुन्तला र कागतीको बिरुवा बेचेर मनग्य आम्दानी गर्दै आएकी छिन् । २ दशकदेखि उनका श्रीमान वैदेशिक रोजगारीमा रहेपनि वैकल्पिक आम्दानीका लागि सुरु गरेको नर्सरीबाट वार्षिक ३ देखि ४ लाख आम्दानी हुने गरेको पुन बताउँछिन् ।
    दिलमायाले प्रगतिशील मल्टी एग्रो तथा फलफूल नर्सरीको नाम संचालन गरेको व्यवसायबाट घर खर्चसंगै छोराछोरीको पढाई खर्च जुट्ने गरेको छ । अहिले उनको नर्सरीमा कागती र सुन्तलाका १५ हजार बढी बिरुवा छन् । ‘मैले बिरुवा बेचेर घरगुजारा चलाएकी छु, श्रीमानको कमाई सोचेजस्तो छैन’ पुनले भनिन् ।
    विक र पुनजस्तै फगामका दुई दर्जन बढि कृषकहरुले सुन्तला र कागतीका बिरुवा बिक्री गरेर मनग्गे आम्दानी गर्दै आएका छन् । करिब ७० घरदुरी रहेको फगाममा सुन्तला र कागती राम्रो हुने भएकाले किसान यसतर्फ आर्कषित भएका हुन् ।
    फगाममा तरकारी र फलफुलका नर्सरी स्थापना गर्ने क्रम बढेसंगै गाउँपालिकाले व्यावसायिक कृषि पेशा गर्ने किसानका लागि गाउँपालिकाले अनुदान र बजारीकरणमा सहयोग गर्ने अन्नपूर्ण गाउँपालिकाका उपाध्यक्ष केशमाया पुनले बताइन् । आगामी आर्थिक वर्षमा गाउँपालिकाले पकेट क्षेत्र विभाजन गरी किसानलाई राहतको प्याकेज घोषणा गरिने उपाध्यक्ष पुनको भनाई छ ।

    प्रतिक्रिया दिनुहस

    सम्बन्धित समाचार

    © 2020 Dhorpatan News All right reserved Site By : SobizTrend Technology