स्याङ्जा, १० जेठ– लकडाउनका कारण आफुहरुले उत्पादन गरेका वस्तुले बजार नपाएको भन्दै गुनासो बढ्दै गएपछि भीरकोट नगरपालिकाले किसानले उत्पादन गरेका कृषि उपजको बिक्री वितरणको लागि हाट बजार संञ्चालनमा ल्याएको छ । कोरोना भाइरसको संक्रमण रोकथाम र नियन्त्रणका लागि गरिएको लकडाउन लम्बिदै जाँदा किसानले उत्पादन गरेका कृषिउपजले बजार नपाएर कुहिएर जाने अवस्था आएपछि नगरपालिकाले हाट बजार सञ्चालनमा ल्याउने निर्णय गरेको हो ।
भीरकोट–१ मा रहेको बसपार्कमा शनिबारदेखि सामाजिक दुरी कायम गरी कृषि हाटबजार संञ्चालनमा आएको छ । बिहान ८ बजेदेखि साँझ ५ बजेसम्म सञ्चालनमा आउने हाटबजारमा किसानले उत्पादन गरेका तरकारी फलफुल लगायतका वस्तु नगरपालिकाले खरिद गरेर उपभोक्तालाई बिक्रीवितरण गर्ने नगरपालिकाले जनाएको छ । नगरप्रमुख छायाराम खनालले लकडाउनका कारण समस्यामा परेका किसान र उपभोक्ताबीच पुलको काम नगरपालिकाले गरेको बताए । किसानले उत्पादन गरेका वस्तु त्यसै खेर जाने अवस्था आएपछि हाटबजार संञ्चालन गर्ने निर्णय गरिएको नगरप्रमुख खनालको भनाई छ ।






