`

यात्रु बोक्ने सवारीमाथी निगरानी

  • सिमानाकामा कडाई गर्दै प्रशासन, अनावश्यक सावारीको खोजी

    • ढोरपाटन संवाददाता
    • शनिबार, जेष्ठ १०, २०७७

    बागलुङ, १० जेठ– निर्माण सामग्री र खद्यान्नको बहानामा यात्रु ओसारपसार गर्ने गरेको उजुरी परेपछि बागलुङका छिमेकी जिल्लासँग जोडिएका सिमानाकाहरुको चेकजाँचमा कडाई थालिएको छ ।
    जिल्ला प्रशासन कार्यालय बागलुङको निर्देशनमा प्रहरीले सिमा नाकामा अत्यावश्यक कामका लागि ओहोरदोहोर गर्ने सवारीको समेत केरकार सुरु गरेको हो । शुक्रबार बाहिरी जिल्लाबाट आउने खाद्यान्न तथा निर्माणका सामग्री बोकेका सवारीलाई समेत सिमानामा एक रात रोकेर प्रहरीले शनिबार बिहान मात्रै छोडेको छ ।
    ‘माथीको निर्देशनअनुसार रोकिएका सवारी बिहान मात्र छोडियो’ जिल्ला प्रशासन कार्यालयलाई संकेत गर्दै मालढुंगा प्रहरी चेकपोष्टका प्रमुख रामबाबु शाहले भने ‘सबै चेकजाँच गरेर मात्रै अत्यावश्यकलाई मात्रै छोडेका छौं ।’
    जिल्ला प्रशासनले दिएको पास बोक्नेहरुले समेत यात्रु बोकेको पाईएपछि थप कडाई गरिएको हो । पर्वतसँग सिमा जोडिएको मालढुंगा, गुल्मीसँग सिमा जोडिएका जैमिनी नगरपालिकाको पालुङखोला, बडिगाड गाउँपालिकाको खर्वाङ र रुकुम तथा रोल्पासँग सिमा जोडिएको निसीखोला गाउँपालिकाको भल्कोट लगायतका सिमा नाकामा कडाई थालिएको प्रहरी निरीक्षक दिपक रिजालले बताए ।
    ‘जिल्ला बाहिरबाट आउनेलाई डिसइन्फेक्सन गरेर मात्रै जिल्ला प्रबेश गर्न भनेका छौं’ रिजालले भने ‘आन्तरिक रुपमा चल्नेहरुले समेत आवश्यकता प्रष्ट पारेपछि मात्रै गुडाउन पाउँछन् ।’
    निर्माण सामग्री, खाद्यान्न बोकेका र अत्यावश्यक कामका लागि हिँडेका सवारीलाई समेत नाकाहरुमा अलपत्र पारेको भन्दै सर्वसाधारणले सामाजिक सञ्जालमा आलोचना गरेका थिए ।
    ‘हामीकहाँ दुरुपयोग गरेको उजुरी परेपछि चेकजाँचमा थप कडाई गरिएको हो’ प्रमुख जिल्ला अधिकारी गौलोचन शैंजुले भने ‘यो कुनै दुःख दिने नियतले होईन जोगिनका लागि चालेको कदम हो ।’
    अनुमति लिएर मात्रै जिल्ला प्रबेश गर्नुपर्ने व्यवस्था गरेको र जिल्लाभित्र चल्ने अत्यावश्यक सवारीको लागि भने कुनै समस्या नरहेको उनले बताए । जिल्ला बाहिरबाट निर्माण सामग्री लिएर आउनेलाई समेत डिसइन्फेक्सन गरेको प्रमाण नभएसम्म रोक लगाउने भनिएको छ ।

    प्रतिक्रिया दिनुहस

    सम्बन्धित समाचार

    © 2020 Dhorpatan News All right reserved Site By : SobizTrend Technology