बागलुङ, ११ जेठ– स्थानीय तहको निर्वाचन ताका काठेखोला गाउँपालिकाका वडाहरुमा उम्मेदवार बनेका अधिकांश आकांक्षी सदरमुकाममा बस्थे । निर्वाचनमा बिभिन्न दलबाट मत माग्दै गाउँघर चहारेका उनीहरुलाई विपक्षी दलले भने ‘भिजिटर’ उम्मेदवारको संघा दिँदै खुच्चिङ गरे । तर, तिनै भिजिटर उम्मेदवारहरुमध्ये अधिकांशले चुनाव पनि जिते । अहिले उनीहरुले कार्यभार सम्हालेको तीन बर्ष पुगेको छ ।
जनप्रतिनिधि चुनिएपछि उनीहरुले जनताको जीविकासँग जोडिएका काम के कति भए भनी खोज्ने होभने केही वडाका काम प्रशंसनिय छन् । केहीले कनिकुथी सुधारको प्रयास थालेका छन् । कतिपय ठाउँमा खेतबारी मासेरै भएपनि सडक बनेका छन् । विद्यालयका भवन, खानेपानी तथा सिंचाईका काम सफलताको सूचीमा छन् । त्यो बाहेक उनीहरु आँफैमा आएको परिवर्तन भने तारिफयोग्य छन् ।
२०४६ सालदेखि काठेखोला गाउँपालिका–५ बिहुँ कर्लिमबाट बागलुङ बजार झरेर व्यवसायमा लागेका शिव प्रसाद कँडेल स्थानीय तहको निर्वाचनमा वडाका उम्मेदवार थिए । गाउँको जग्गा बँझाएर बजारमा होटल व्यवसायमा लागेका उनी नेपाली कांग्रेसको तर्फबाट वडा अध्यक्षको उम्मेद्वार थिए । कांग्रेस बाहेकका दलले चुनावी नारानै बनाए कांग्रेसका उम्मेदवार ‘भिजीट’ भनेर । चुनावी प्रचारमा विपक्षीले लगाएको तिखो वचनलाई गलत सावित गर्दै कँडेलले गाउँघरको बाँझो जमिनमा खेती गर्न थालेका छन् । केही तरकारी र फलफुल लगाएका छन्भने ३० रोपनी जमिनमा धान रोप्न कँडेलले व्याड राखेका छन् । ‘६० सालमा बुबाआमा बजार झरेपछि बाँझो जग्गामा फैलिएको घाँस पन्छाउदैछु’ कँडेलले भने ‘४० मुरी धान फल्छ, त्यहि धान फलाउन अहिले परिवारसहित गाउँमै छु ।’ पछिल्लो समय उनी बागलुङ बजार र गाउँको घरमा बराबर समय बिताउँछन् ।
बागलुङ बजारमै बसेर सामाजिक काम र राजनीतिमा सक्रिय काठेखोला–७ रेशका वडा अध्यक्ष प्रेम लामिछाने पनि त्यहाँका लागि भिजिटर उम्मेदवार हुन् । लामो समय बजारमै बिताएकाले उनलाई पनि चुनावको बेला टुरिस्ट उम्मेदवारको आरोप लाग्यो । तत्कालिन एमालेबाट उम्मेदवार उनको शेखी झार्न विपक्षी दलले यही विषयलाई हतियार बनाए । उनले आफुलाई लागेको आरोपले पोलेरै होला कृषि कर्म थालेका छन् । नगदेबाली र फलफुल बालीबाट आम्दानी गर्न सकिन्छ भन्दै वडाबासीलाई सिकाउने लामिछानेले २ रोपनी बारीमा अलैंची खेती गरेका छन् । नमुनाको रुपमा किबीको खेती गरेर वडाका किसानलाई उत्साहित गर्ने उनको योजना छ । उनको घरछेउमा अहिले किबीका बिरुवाले नयाँ पालुवा हाल्दैछन् ।
बागलुङ बजारको घरमा लामो समय बिताएका काठेखोला–६ बिहुँका अध्यक्ष युक्त प्रसाद कँडेल पनि भिजिटर उम्मेवार नै थिए । उनको गाउँमा घर र कृषिबाली त थियो तर अधिकांश बसाई बजारमै । कँडेल अहिले बजारको घर बेचेर गाउँ फर्केका छन् । बारीभरि सुन्तला बगान बनाएका उनले वडाको कामपछिको समय सुन्तला बगानमा बिताउँछन् ।
लामिछाने र कँडेलद्वयजस्ता काठेखोलाका अधिकांश जनप्रतिनिधि समय र राजनीतिले फेरो मारेपछि गाउँ फर्किएर बाँझो जमिनमा कृषि कर्म गरेर वडाबासीलाई प्रेरित गर्ने ध्याउन्नमा छन् ।
गाउँमै सामाजिक परिचालकको काम गर्दै आएकी काठेखोला–८ लेखानीकी चित्रकला छन्त्यालले चुनावमा लड्ने हुटहुटीपछि खाईपाई आएको जागिर छोडिन् । राजनीति फाप्यो र वडा अध्यक्षमा चुनाव जितिन् । केही समय वडा र घरको काममा समय बिताएकी उनले अहिले भने कृषि कर्म थालेकी छन् । १ लाख २० हजार खर्चेर उनले घरअघि प्लाष्टिक टनेल बनाएकी छिन् । अब त्यहि टनेलमा तरकारी फलाएर नमुना तरकारी फार्म बनाउने उनको धोको छ । ‘वडाध्यक्षको तरकारी खेतीले धेरैलाई सिकाउँछ’ काठेखोला–८ कि अगुवा किसान लालकुमारी पुनले भनिन् ‘काम त सबैका हुन्छन् तर कृषिलाई भुल्न भएन नि !’ तत्काल उद्योग र व्यवसायको सम्भावना नरहेकाले गाउँमा आयआर्जनसँग जोडिने माध्यम कृषि भएको वडाध्यक्षहरु बताउँछन् । ‘हामी किसान नै हो, काम गर्नुपर्छ, फुर्सद त कहाँ छ र’ अध्यक्ष छन्त्यालले भनिन् ।





