बुधबार, कार्तिक ४ २०८३

बुधबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , बुधबार
  • October 21 2026

समय तालिका अनुसार सबै व्यवसाय खुलाउन पोखराका व्यवसायीहरुको माग

समय तालिका अनुसार सबै व्यवसाय खुलाउन पोखराका व्यवसायीहरुको माग


  • ढोरपाटन संवाददाता
  • जेष्ठ १७ २०७७, शनिबार
सुनसान फेवाताल, पोखरा

फाईल फोटो
पोखरा, १७ जेठ – पोखराका निजी क्षेत्रका प्रतिनिधिहरुले लकडाउनले अर्थतन्त्र सिथिल भएको भन्दै अब समय तालिका मिलाएर सबै व्यापार व्यवसाय खोल्नुपर्ने माग गरेका छन् । उनीहरुले आफूहरु प्रशासनले तोकेको समयमा सुरक्षाका सबै निर्देशन पालना गर्दै व्यवसाय गर्न तयार रहेको प्रतिवद्धता पनि व्यक्त गरेका छन् ।
पोखरा उद्योग वाणिज्य संघले शुक्रबार संघसँग आवद्ध बस्तुगत संघका प्रतिनिधि तथा सदस्यहरुबीच गरेको भर्चुअल बैठकको क्रममा उनीहरुले सो धारणा राखेका हुन् ।
कार्यक्रमको सुरुवात गर्दै पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष दामु अधिकारीले सधैँभर लकडाउन भनेर कति व्यवसाय बन्द गर्ने भन्ने प्रश्न राख्दै उद्योगी व्यवसाय संचालन गर्न दिए त्यसले थोरै मात्र भए पनि अर्थतन्त्रलाई चलायमान बनाउने धारणा राखे । संघीय सरकारले ल्याएको बजेटले निजी क्षे त्रलाई केही उत्साहित बनाएको बताउँदै उनले बजेटको व्यवहारिक कार्यान्वयनको माग गरे ।
संघका वरिष्ठ उपाध्यक्ष नारायण कोइरालाले पोखरा उद्योग वाणिज्य संघले उद्योग÷व्यवसाय संचालनको वातावरण बनाउन प्रशासनसँग माग गरिरहेको जानकारी दिँदै संघले गरेका कतिपय कामहरुको सूचना सम्प्रेषण नभएको स्वीकारे । उनले प्रदेश र स्थानीय सरकारले गरेका कतिपय निर्णयहरुमा स्थानीय प्रशासन बाधक बन्दा व्यवसाय खुलाउन समस्या भएको पनि बताए । संघकी उपाध्यक्ष विन्दु कोइराला सुवेदीले उद्योग व्यवसाय बन्द हुँदा मजदुरहरुलाई मार परेको जनाउँदै मजदुरलाई राहत दिन पनि उद्योग व्यवसाय खोल्नुपर्ने धारणा राखिन् । अर्का उपाध्यक्ष पवन प्रजापतिले समय तालिका अनुसार व्यवसाय खोल्ने वातावरण बनाउन पोखरा उद्योग वाणिज्य संघ लागिपरेको जानकारी दिए । महासचिव अर्जुन पोखरेलले बैठकको सहजिकरण गर्दै सबैखाले व्यवसायहरु अब समय तालिका अनुसार खोज्नुपर्ने आवाजलाई संघले बुलन्द बनाउने उद्घोष गरे । उनले उद्योगी÷व्यवसायीहरुको सुझावपछि प्रशासनसँगको सहकार्यमा यो अभियान सुरु गर्ने जानकारी पनि गराए ।
कार्यक्रममा बोल्दै संघका पूर्वकार्यसमिति सदस्य देवबहादुर भुजेलले सामाजिक दूरी कायम गर्दै समय तालिका अनुसार व्यवसाय खोल्नुपर्नेमै जोड दिए । अर्का व्यवसायी प्रेमराज बास्तोलाले सबै किसिमका व्यवसायहरु खुल्ला गराउँदै अघि बढ्दा मात्रै अर्थतन्त्र चलायमान हुने धारणा राखे । व्यवसायी प्रेमराज पौडेलले एउटा व्यवसाय खुल्ला गरेको दिन अर्को व्यवसायीहरुले पसल खुलाउन नहुनेमा जोड दिए । क्यान कास्कीका अध्यक्ष विश्वास भण्डारीले सुरक्षाका सबै उपायहरु अपनाउँदै व्यवसाय खोल्दा खासै असर नपर्ने बताए । नाट्टा गण्डकीका अध्यक्ष संजयकान्त सिग्देलले चीनको वुहान सहरको उदाहरण दिँदै त्यहाँ ६१ दिनमा लकडाउन खोलिएको तर नेपालमा लकडाउन बढाउनु युक्तिसंगत हो कि हैन सोच्ने बेला आएको तर्क गरे । भाँडा व्यवसायी संघ कास्कीका अध्यक्ष बलराम तिमिल्सिनाले व्यवसाय बन्द गरेर समस्याको समाधान नहुने धारणा राखे । कपडा व्यवसायी संघ कास्कीका अध्यक्ष गजेन्द्रमान श्रेष्ठले कपडा पसल खोलेको दिन अर्को पसल नखोल्ने सहमति वा नियम हुनुपर्ने बताए । संघका कार्यसमिति सदस्य हरिराज पन्तले लकडाउनकै बीचमा पनि बैंकमा मान्छेको भीड लागेको बताउँदै सरकारले लकडाउनको मोडल परिवर्तन गर्नुपर्नेमा जोड दिए । कस्मेटिक व्यवसायी उमापती शर्माले घरभाडाको विषयमा सरकारले प्रष्ट धारणा बनाउनुपर्ने माग गरे । संघका कार्यसमिति सदस्य तथा पुस्तक तथा स्टेसनरी व्यवसायी महासंघका बरिष्ठ उपाध्यक्ष ऋषिराम शर्मा भण्डारीले विद्यालयले रिजल्ट निकाल्ने तर किताबको व्यवस्था नहुने अवस्थाले समस्या उत्पन्न गराएको बताए । उनले किताब किन्न चाहनेहरुलाई बाटोमा प्रशासनले रोक्न नहुनेमा जोड दिए । पुस्तक तथा स्टेसनरी व्यवसायी संघ कास्कीका अध्यक्ष मोहन सापकोटाले पनि समय तालिका अनुसार पुस्तक पसल खोल्न पाउनुपर्ने माग गरे । हार्डवयर एसोसियसन कास्कीका अध्यक्ष बनमाली शर्माले अब जुनसुकै हालतमा पनि व्यवसाय संचालन गर्ने वातावरण बन्नुपर्नेमा जोड दिए । बैठकमा संघका कार्यसमिति सदस्य रामेश्वर अधिकारी तथा व्यवसायी महाप्रसाद सुवेदीसहितका व्यक्तित्ववहरुको सहभागिता थियो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->