सोमबार, भाद्र ८ २०८३

सोमबार, भाद्र ८ २०८३
  • ८ भाद्र २०८३ , सोमबार
  • August 24 2026

धान व्लकका किसानलाई आधुनिक कृषि औजार

धान व्लकका किसानलाई आधुनिक कृषि औजार


  • ढोरपाटन संवाददाता
  • जेष्ठ १७ २०७७, शनिबार

बागलुङ, १७ जेठ – अन्नपूर्ण धान ब्लक जैमिनी नगरपालिका–५ बिनामारेका किसानलाई शनिबार आधुनिक कृषि औजार वितरण गरिएको छ । कोरोना भाईरस संक्रमणबाट बच्न गरिएको बन्दाबन्दीमा पनि किसानहरु जम्मा गरेर कृषि ज्ञान केन्द्र कुश्माले कृषि औजार वितरण गरेको हो ।
जैमिनी नगरपालिकाका प्रमुख इन्द्रराज पौडेलले ज्ञान केन्द्रले उपलव्ध गराएका सामग्रीहरु किसानलाई हस्तान्तरण गरेका थिए । लकडाउनमा धेरै मानिस जम्मा नहुनु भन्ने नेपाल सरकरको निर्देशन भएपनि सामग्री लिन झण्डै ५० जना किसान भेला भएका थिए । सामग्री हस्तान्तरण गर्दै नगरप्रमुख पौडेलले कोरोनाका कारण अर्थतन्त्रमा परेको प्रभावबाट माथि उठ्ने गतिलो बिकल्प कृषिकर्म भएको बताए । आधुनिक औजारको प्रयोगले कृषि उत्पादन बढाउन किसानहरुलाई सहयोग पुग्ने उनको धारणा थियो । ‘ज्ञान केन्द्रको कार्यक्रममा बोलाउनु भो मैले सामाजिक दुरीको कुरा गरेको थिएँ’ नगरप्रमुख इन्द्रराज पौडेलले भने ‘सामान बाँड्दा भीडजस्तो देखिए होला भीड नगरी किसानलाई सामग्री दिएका छौं ।’
कृषि सामग्री हस्तान्तरण कार्यक्रमलाई किसानले भने कोरोनाको जोखिम बढाउने कार्यक्रम भनेका छन् । ‘हामी डर लागेर नजिक परेनौं जम्मा भएर ठुलै समुहले फोटोसमेत खिचाए’ नाम नबताउने सर्तमा बिनामारेका एक किसानले भने ‘चियाखाजासमेत समुहमै खाए, हामीलाई नियम लगाउनेले यहाँ नाटक देखाए ।’ ज्ञान केन्द्रले उक्त धान ब्लककोे लागि १५ थान कुटानीपीसानी मिल, १५ थान मिनी टिलर हलो, त्रिपाल, थ्रेसर मेसिनलगायतका सामग्री किसानहरुलाई उपलव्ध गराएको थियो ।
पूर्वाधार बिकासको अधिकांश योजना सकेको जैमिनी नगरपालिकाले तालुक कार्यालयबाट नगरभित्र सञ्चालनमा रहेका कार्यक्रमलाई निरन्तरता दिईरहेको छ । केही दिनअघि नगरपालिकाले सामाजिक सञ्जालमा योजनाको फरफारक गर्न उपभोक्ता समितिका धेरै मान्छे आए प्रहरीले कारवाही गर्ने चेतावनीसहितको सूचना जारी गरेको थियो । आँफैले जारी गरेको सूचनाबिपरित हुल जम्मा हुँदासमेत ख्याल नगरी समुहमा खाजा खाने र तस्विर खिचाउने कामसमेत कार्यक्रममा भएको ति किसानले टेलिफोनमा बताए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->