आइतबार, कार्तिक ८ २०८३

आइतबार, कार्तिक ८ २०८३
  • ८ कार्तिक २०८३ , आइतबार
  • October 25 2026

आमा, तिमी न्यायको भुमरीमा नपर्नु है…

आमा, तिमी न्यायको भुमरीमा नपर्नु है…


  • विजय परियार
  • जेष्ठ १८ २०७७, आइतबार

प्रिय आमा,
परलोकबाटै भए पनि तिमीलाई न्यानो माया । क्षमा पाउँ आमा, कति तिम्रा अनि कति मेरा इच्छाहरु पुरा गर्न सकिन । मेरा सपनाहरु अब त सपना पनि रहेनन् । थाहा छैन आमा कति दिन भो परलोकमा आएको पनि, दिन त गन्नै छाडिदिए । एकदिन त उदाउँदो सुर्यसँगै मेरो पनि दिन आउला नि भनि धेरै दिन गनि रहन्थे । दिन त आयो तर मेरो आएन । अनि गन्नै छाडे दिनहरु । अब तिमी पनि दिन गनेर नबस्नु है आमा, किनकि दिन त हुनेखानेहरुले आफ्नो नाममा गर्ने रहेछन् झिसमिसेमै । दुखी, गरिब अनि दलितका पनि दिन आउलान् भन्नु त पश्चिमबाट सुर्य उदाउनु जस्तै रहेछ ।
आमा सुनेको थिए प्रेमले संसार जितिन्छ भनेर तर होइन रहेछ । संसार त युद्धले जितिने रहेछ । युद्धको अगाडि म र मेरो प्रेम टिक्नै सकेन, आमा । म रोए, कराए, भावविव्हल भएर बिन्ती बिसाए, सके जति त प्रतिकार पनि गरे तर अहँ सकिन आमा दानवको बस्ती रहेछ जो ।
दोष उनीहरुको मात्रै पनि थिएन होला, दोष मेरो मात्रै पनि थिएन होला । दोष दलितको छोराले उपल्लो जातकोलाई प्रेम गर्नू पनि थिएन होला । सायद दोष त सदिँयौदेखि एउटै मान्छेलाई सानो जात अनि ठुलो जात भनि विभाजन गर्नूमै रहेछ । नत जात विभाजन हुन्थ्यो नत उनी र म तल्लो अनि उपल्लो जातको हने थियौ । नत म र मेरा साथीहरु त्यो कलकल बगिरहने भेरीमा बिलिन हुनुपथ्र्याे । हुनतः आमा सदिँयौदेखि चलिआएका धेरै कुराहरु परिवर्तन भए । मान्छेहरु शिक्षित बन्दै गए । कति अन्धविश्वासहरु फेरिदै गए तर जातमाथिको अन्धविश्वास अझै फेरिन सकेन । आमा तिमी मलाई भन्थ्यौ नि तैले पढेको होर सडेको हो भनेर, त्यस्तै यहाँ कति मानिस पढेरै सडेका छन् । समानताको नाममा झन् तार्किक भेदभाव गर्छन् । भाषण हामी अब सबै एक भनेर गर्छन तर व्यवहार म एक भनेर गर्छन् । जातलाई त पुर्खाले आर्जेको सम्पत्तिजस्तै गरी मन अनि मस्तिष्कबाट हटाउँनै चाहदैनन् । यिनीहरुको कोटभित्रको खोट निकाल्न साह्रै गाह्रो छ आमा । मत बच्न सकिन तर तिमी सकेसम्म बचेर हिड्नु है यो स्वार्थी समाजबाट, मेरी आमा ।
यहाँ म जस्ता धेरै छन् आमा जसले अझै न्याय पाएका छैनन् । सदियौदेखि त्यो एकदिन पर्खेर बसेका छन् । तर, आमा तिमी चिन्ता नगर म त्यो दिन पर्खेर बस्दिन । बाह्र वर्षमा त खोलो पनि फर्किन्छ रे ! भन्ने उखान उखान मात्र हो रहेछ भन्ने मैले बुझिसके । यतिका समय भयो नत चुलो छोएको निहँुमा ज्यान गुमाएका मनवीरे सुनारलाई लग्ने खोला फर्कियो नत बलात्कारपछि हत्या गरिएकी श्रेया सुनारलाई बगाउने खोला फर्कियो । अन्यायसँगै बगेका यस्ता हजारौ खोला न्याय लिएर आजसम्म फर्केका छैनन् । हाम्रा चेलिबेटीलाई बन्दकोठाभित्र कालो विस्तारामा भोग गर्दा उपल्ला जातले जात देख्दैनन् । जब त्यसको विरुद्धमा आवाज उठ्छ अनि बल्ल तिनीहरुको स्वर्गिय आनन्दबाट आँखा खुल्छ, आवाज दबाईन्छ नदबे घाँटी दबाइन्छ । झुमा विकलाई जस्तै, रुपमती कुमारी दास अनि माया विकलाई जस्तै ।
आमा, तिमी कानुन छ भनि भ्रममा पनि नपर्नू है । कानुन त किताबको पानाभित्रै च्यापिएर बसेको छ । भेरीको भुमरीमा रुमलिए जस्तै कानुन नामको किताब पनि मुर्खहरुको हातमा पिरोलिरहेको छ । हाम्रो नामको न्यायको पाना कहिल्यै पल्टिनै पाउँदैन, अझ भनौ पल्टाउनै दिदैनन् । भन्छन् नि आमा, ‘सानालाई ऐन ठुलालाई चैन’ त्यस्तै रहेछ । कानुन हुनेखानेका लागि रहेछ । कानुन ठुलाबडाका लागि रहेछ । अझ भनौ कानुन राजनीति गर्नेहरुका लागि रहेछ । नत्र कानुन बनेको यतिका समय हुदाँ पनि छुवाछुत अनि भेदभावका घटनाहरु कहिल्यै घटेनन् बरु झन् नयाँ–नयाँ स्वरुपमा थपिदै छन् किन ? न्यायको तराजुको आँखाको पट्टि पनि भ्रम रहेछ आमा, जहाँ न्यायको पल्ला कहिल्यै भारी भाको छैन । होस पनि कसरी जब–जब न्यायको पल्लाभारी हुँदै जान्छ तब–तब अन्यायले पैसाको बिटो थप्दै जान्छ । कानुनका अंगरक्षक भनिनेहरु बेचिदै जान्छन् । सरोकारावालाहरु कराउँदै जान्छन् सरकार कान थुन्दै जान्छ । दुखी, गरिब अनि दलितको सरकार भएन यहाँ ।
प्रिय आमा, म घरको भित्तामा त पहिल्यै थिए, मुसुक्क हाँस्दै अडेको थिए । तर जब ढले हरेकको फेसबुकको भित्तामा ठडिएको छु । अनलाईनको पानाभरी भरिएको छु । टिभीको पर्दाभरी सजिएको छु । पत्रिकाको पानाभरि कोरिएको छु । यो सब देख्दा तिमी कम्ता रुदी हौं । तिमी कम्ता भावविव्हल भएर मुर्छा पर्दि हौ । तिमी यसको कुनै सुर्ता नगर्नु है । मेरो न्यायको लागि यो सब गर्दैछन् । हिजो त दमै, म कामी, तँ सार्की आदि ईत्यादि भन्दै तँभन्दा म ठुलो भन्दैै दलितभित्रै विद्रोह गर्नेहरु पनि अहिले एक भा’का छन् । दलितहरु एक भएर फेरि अर्को काण्ड गर्छन् कि भनेर तिमी चिन्ता नगर्नू, आमा । किनकी यि सबैका भित्ताहरुमा मेरो फोटाहरु हराउँदै जान्छन्, बिना हुरी यो जमात पनि हराउँदै जान्छ । यो मानवता हराएको स्वार्थी समाजमा तिम्रो छोराको न्यायको लागि लड्छु भन्नेहरु पनि हराउँदै जान्छन् । अर्को चुनावमा म तिम्रो छोरालाई न्याय दिलाउँछु भन्दै झुटा आश्वासन बाँड्दै भोट माग्न आउलान् आमा । ति जाली नेताको झन् कक्ति पनि भर नपर्नु है । तिम्रो एक भोटभन्दा मल्लगाउँको दुईसय भोट नै ठुला नि आमा नेतालाई । समाज परिवर्तन गर्छु, देश बनाउँछु भन्दै गएका नेताहरुको बोली पनि सुनियो । काम पनि देखियो । यहाँ सबैलाई आफ्नो दुनो सोझाउँदैमा फुर्सद छैन । आमा, म भेरी नदीको भुमरीमा ठक्कर खाएर ढलिसके, न्यायको भुमरीको ठक्करमा तिमी नपर्नु है । तिमी नढल्नु है । यो भीड हराए पनि म मन्द हावाको सुवाससंगै बहिरहने छु । तिम्रो न्यानो अनि निस्वार्थ माया स्पर्श गर्नेछु ।
आमा, मैले न्याय पाउँदै नपाउने पनि होईन । आज मेरो नाममा एकजुट भएको यो भीड कसैसँग नबिके अनि नझुके त मेरो मात्र होईन वर्षौदेखि न्यायका दिन पर्खि बसेकाहरु सबैको दिन आउने थियो । तिमी भन्थ्यौ नि आमा घर बलियो हुन थाम, निराल अनि दलिन बलियो हुनुपर्छ भनेर । म अनि हामी सबैले न्याय पाउन समाजले बनाइदिएको हाम्रो दलित भन्ने घर पनि बलियो हुनुपर्छ । दमै थाम भए, कामी निराल बन्नुपर्छ, सार्की दलिन बन्नुपर्छ । यो घर जतिनै स्केलको भुकम्प गए पनि ढल्नु हँुदैन । सम्पुर्ण जातका दलितहरु केही न केही रुपमा अडिनुपर्छ । एउटै छानोभित्र मिल्न सक्नुपर्छ । अनि मात्र यो न्याय सम्भव हुन्छ आमा । आमा, जति पनि दलित आन्दोलनको नाममा काम गर्नेहरु छन् नि तिनीहरुले सबैभन्दा पहिला हामी दलितभित्रको भेदभाव हटाउन सक्नुपर्छ । व्यक्तिगत स्वार्थ भन्दामाथि उठ्नुपर्छ । रोटी र बेटी, आनीबानी र पानी निसंकोच साँट्न सके भने ढुक्क हुनु आमा, तिम्रो छोराले न्याय पाउने छ भनेर । अहिले मेरो नाममा तातेको यो सञ्जाललाई यहिं भन्न मन छ तर के गर्नु आमा तरबारले चिरफार गरिएको यो राताम्मे शरीर अदृश्य भएको छ । रिस त यति उठेको छ नि आमा कोरोना भाईरस बनेर अन्याय गर्ने अनि मेरो प्रेमको हत्या गर्नेहरुको शरीरभित्र छिरेर साम्राज्य बनाउ ! जातको नाममा उदंग मच्चाउने समाजको बिचमा गएर आत्मघाती बम विस्फोट गरांै अनि सबैलाई सखाप पारीदिउ तर के गर्नू आमा म त मायाले नै संसार जितिन्छ भनि विश्वास गर्ने जो परे ।
हुनतः यत्रो कोरोना भाईरसले बुझाउन नसकेको मान्छेलाई कसले पो बुझाउन सकोस् कि अजम्बरी जीवन कसैको पनि छैन भनेर आमा । कसले बुझाओस् कि जीवन आखिर मरेरै जाने हो भनेर । कसले सम्झाओस् कि दुई दिनको जिन्दगानीमा सबैसँग मिलेर बाँचौ भनेर । कसले बुझाईदेओस् कि हामी मानिस सबैभन्दा चेतनशिल प्राणी हो भनेर ?
आमा, जबसम्म मान्छेहरुको मन अनि मनैदेखि व्यवहार फेरिदैन नि शताब्दी नै फेरियोस् तबसम्म केही हुनेवाला छैन । अरु जे–जस्तो भएपनि आमा तिमी चाहिँ फेरिनु है । सबैलाई माया गर्नु है । घृणा शत्रुलाई पनि नगर्नू है । अनि तिम्रा आँखाका गहभरी आँसु हुने गरी मलाई नसम्झनु है ।
आशा गर्छु यो युग फेरिने छ । युगसँगै मान्छे लडाउने यो कुसस्ंकार फेरिने छ । मान्छेको मन फेरिने छ, मनसँगै विचार अनि व्यवहार फेरिने छ । पढेकाहरु सड्ने छैनन् । कोटभित्र खोट हुने छैन । कानुनको चपेटाबाट न्यायको पाना बारम्बार पल्टिने छ । अनि म तल्लो जात माथिल्लो जात भएर होईन मान्छे भएर पुर्नजन्म लिने छु । प्रेमले जित्ने नयाँयुगमा तिम्रो कोखबाट फेरी जन्म लिनेछु अनि यो जुनीमा पुरा हुन नसकेका तिम्रा मेरा सपनाहरु पुरा गरौंला है आमा ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->