
बागलुङ, १९ जेठ– राष्ट्रिय गौरवको आयोजना कालिगण्डकी करिडोरको बागलुङ–गुल्मी खण्ड स्तरोन्नतीको काम चालु आर्थिक बर्षमा सकिने भएको छ । नेपाली सेनाको निर्माण कार्यदलले बन्दाबन्दीको समयमा समेत कामलाई तीव्रता दिँदै असार मसान्तभित्रै काम सकेर सडक बिभागलाई हस्तान्तरणको तयारी थालेको हो ।
चैतमा बन्दाबन्दीले काममा असर गरेपनि वैशाख र जेठमा भने करिडोरको काम धमाधम चलिरहेको छ । भारत र चीन जोड्ने छोटो त्रिदेशिय सडक र राष्ट्रिय गौरवको काम भएकोले समयमै स्तरोन्नती सकेर हस्तान्तरण गर्ने योजनामा रहेको निर्माण कार्यदलले जनाएको छ । नेपाली सेनाले जिल्मा लिएको बागलुङ र गुल्मी खण्डको ८० किमी सडकमध्ये झण्डै ३५ किमी विभागलाई हस्तान्तरण गरिसकिएको छ । बा“की ४५ किमी पनि असार मसान्तभित्रै सक्ने योजनामा कार्यदल लागिपरेको रहेको छ । अहिले यो सडकको स्तरोन्नतीको काम २४ घण्टा चलिरहेको छ ।
यो सडकको ट्रयाक पनि नेपाली सेनाले नै खोलेको थियो । अहिले बागलुङ र गुल्मी तर्फको सडक १० मीटर चौडा बनाउने काम भैरहेको छ । गत पुसमा १० किमी खण्ड सडक बिभागलाई हस्तान्तरण गरेको कार्यदलले टाकुरी, जैमिनी, बिनामारे लगायतको खण्डमा काम गरिरहेको छ । बिष्फोटक पदार्थ अभावमा केही समय रोकिएको काम सामग्री ल्याएपछि चलिरहेको कार्यदलका प्रमुख सेनानी रेश्मीराज भट्टराईले बताए ।
असार मसान्तमा यो खण्डको सबै सडक बिभागलाई हस्तान्तरण गरिन उनको भनाई छ । बिभागले आफ्नो स्वामित्वमा ल्याएपछि कालोपत्रेको काम थाल्ने तयारी गरेको छ । केही भाग यसअघिनै सेनाले बिभागलाई हस्तान्तरण गरिसकेको थियो । निर्माणधिन बा“की खण्ड पनि हस्तान्तरण गर्नेगरी रफ्तारमा काम भइरहेको छ ।
चालु बर्षभित्रै ८० किमी सडक चौडा पारेर बिभागलाई हस्तान्तरण गर्ने सेनाको योजना छ । बागलुङको बलेवादेखि टाकुरी, जैमिनीहु“दै गुल्मीसम्मको २५ किमी खण्ड असार मसान्तमा सक्ने सेनाको योजना हो । ‘सरकारले बिनियोजन गरेको २५ करोड र पछि रकमान्तरण गरेको १५ करोडबाट सबै काम सक्न लागिएको हो’ भट्टराईले भने ।





