सोमबार, भाद्र ८ २०८३

सोमबार, भाद्र ८ २०८३
  • ८ भाद्र २०८३ , सोमबार
  • August 24 2026

बागलुङ बजारको ढल, पानी बनाएर नदीमा मिसाउने तयारी

बागलुङ बजारको ढल, पानी बनाएर नदीमा मिसाउने तयारी


  • ढोरपाटन संवाददाता
  • जेष्ठ २० २०७७, मंगलबार

बागलुङ, २० जेठ – बिना प्रशोधन कालीगण्डकीमा मिसिएको बागलुङ बजारको ढल अब भने शुद्धिकरण गरेर मात्रै नदिमा मिसाउने तयारी थालिएको छ । दुई बर्षअघिदेखि बिस्तृत परियोजना प्रतिवेदन (डिपीआर) बनाउने कसरत गरेको बागलुङ नगरपालिकाले यसै बर्षदेखि व्यवस्थित ढल निकासको काम थाल्ने भएको हो ।
बजार क्षेत्रमा ठाउँ ठाउँमा बिग्रिएको नालीका कारण सडकमा बग्ने ढल प्रयोग गर्न मिल्ने पानीमा परिणत गरेर कालीगण्डकीमा मिसाउने योजना सुरुवातको नजिक पुगेको बागलुङ नगरपालिकाले जनाएको छ । आगामी आर्थिक बर्षको बजेटमा नेपाल सरकारले ढल व्यवस्थापनका लागि खानेपानी तथा ढल निकास विभागमार्फत बहुबर्षे योजनामा समाबेश गरेपछि यो योजनाले गति लिएको हो । योजना सम्पन्न गर्नका लागि आवश्यक ७० करोड बजेट अर्थमन्त्रालयले व्यवस्थापन गर्नेछ ।
बुहबर्षे योजना भएकाले आगामी आर्थिक बर्षमा १२ करोड रुपैयाँको मात्रै काम हुने छ । ‘टेण्डर प्रक्रियामार्फत काम सुरु हुन्छ, हामीले तयार गरेको डिपिआर अनुसारकै योजना हो’ नगरप्रमुख जनकराज पौडेलले भने ‘कालीगण्डकीको महत्वलाई जोगाउँदै बजारमा व्यवस्थित ढल निकासको उच्च बिन्दुमा हामी आयौं ।’ ढल निकासलाई व्यवस्थित गर्ने र बागलुङ बजारक्षेत्रका सबै क्षेत्रलाई समेट्ने गरी नगरपालिकाले डिपिआर गर्नुपूर्व सर्वपक्षीय छलफल समेत गरेको थियो ।
सर्वपक्षीय छलफलका आधारमा नगरबासीको सुझावसहित डिपिआर तयार भएको र सोहीअनुसार चालु आर्थिक वर्षमा काम गर्नेगरी १२ करोड रुपैयाँ बजेट विनियोजन भएको नगरप्रमुख पौडेलले बताए । नेपाल सरकारमार्फत विनियोजन भएको बजेटमा बागलुङ नगरपालिकाको समेत सहभागिता रहने छ । ढल व्यवस्थापनका लागि बजारमा दुईवटा मुख्य निकास लाईनमार्फत नदीमा मिसाउने गरी प्राबिधिक स्टमेट छ । बागलुङ बजारको तल्लो भेगमा उत्पादन हुने ढल खनियाघाट र माथिल्लो भेगमा उत्पादन भएको ढल कारागार मुनीको समथर भुभागमा निर्मित ट्रिटमेन्ट प्लान्टबाट प्रशोधन गरी नदीमा मिसाइने छ ।
बागलुङको भौगोलिक अवस्थाका आधारमा आधुनिक प्रविधिको प्रयोग गरी आयोजना सम्पन्न गरिने छ । ढल निकासको प्रमुख पाइपलाइन, शाखा लाइन, घर घरमा च्याम्बर र ट्रिटमेन्ट प्लान्टसमेत निर्माण हुनेछन् । ‘यस क्षेत्र धार्मिक पर्यटनका हिसाबले महत्वपूर्ण गन्तव्य पनि हो, हिन्दु धर्मावलम्बीले सालिग्राम पाइने नदीको रुपमा पुज्ने कालिगण्डकी दिन प्रतिदिन प्रदुषित हुँदै गएकाले शुद्ध पानीमात्र मिसाउने योजना बनाएका हौं’ नगरप्रमुख पौडेलले भने ।
नगरपालिकाले व्यवस्थित ढल निकासका लागि लामो समयदेखि थालेको प्रयास अहिले सफल भएको नगरप्रमुख पौडेलले बताए । बागलुङ बजार मध्यपहाडी लोकमार्गको ट्रान्जिट प्वाइन्ट भएकाले नगरलाई सुन्दर र समृद्ध बनाउनका लागि ढल निकास आवश्यक रहेकाले ढल निर्माणको काम सुरु गरिएको बागलुङ नगरपालिकाले जनाएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->