सोमबार, भाद्र ८ २०८३

सोमबार, भाद्र ८ २०८३
  • ८ भाद्र २०८३ , सोमबार
  • August 24 2026

बन्दाबन्दीको उपयोगः ताराखोलामा औद्योगिक ग्राम बन्दै

बन्दाबन्दीको उपयोगः ताराखोलामा औद्योगिक ग्राम बन्दै


  • ढोरपाटन संवाददाता
  • जेष्ठ २१ २०७७, बुधबार

बागलुङ, २१ जेठ – कोरोना भाइरस संक्रमणको जोखिमबीच बागलुङको ताराखोला गाउँपालिकाले औद्योगिक ग्राम निर्माण चालु बर्षभित्रै सक्ने भएको छ ।
आगामी आर्थिक बर्षदेखि साना तथा मझौला उद्योग स्थापना र संचालन गराउने लक्षले पालिकाले उद्योग ग्रामको संरचना बनाइसक्ने लक्ष राखेको अध्यक्ष प्रकाश घर्तीले बताए ।
‘१ करोड ७० लाख रुपैयाँमा काम गर्नेगरी कामसमेत थालिएको छ, ठेक्कामा भएपनि समयमै काम सक्न भनेका छौं’ घर्तीले भने, ‘स्थानीय उत्पादनका दर्जनौ उद्योग संचालन गर्न सकिने भएकोले पहिलो प्राथमिकता दिएर काम गरिएको हो ।’
जिल्लामा सदरमुकामको बागलुङ नगरपालिका र ताराखोलाले औद्योगिक ग्रामको कार्यक्रम पाएको थियो । गण्डकी प्रदेश सरकारको उद्योग तथा पर्यटन मन्त्रालयबाट पाएको अनुदान रकमलाई समयमै सदुपयोग गरेर काम थाल्ने ताराखोला नै अगाडि देखिएको हो । ताराखोलाले वडा नं. १ मा २० रोपनी जमिनमा औद्योगिक ग्राम बनाउने लक्ष राखेको हो । त्यसका लागि गतबर्षनै जग्गा छनौट र व्यवस्थापन गरिसकेको थियो ।
ताराखोलामा पाइने कच्चा पदार्थहरुबाट धेरै उद्योग संचालन गर्न सकिन्छ । यसअघि पनि घर घरमा उद्यमी बनाउने योजना अनुसार धेरैले स्वरोजगार मूलक काम गरिरहेका छन् । औद्योगिक ग्राम भएपछि पालिकाले बिजुली, पानी लगायत उपलब्ध गराउँछ । साथै एकीकृत भएर बस्ने मजदुरमार्फत सबै उद्योगको काम गराउन सकिन्छ । त्यसले गाउँपालिकालाई नै आत्मनिर्भर बनाउन सकिने उनले बताए ।
ताराखोलाले एक बर्ष अघिदेखिनै जिल्लाकै ठूलो सभाहल पनि बनाउन लागेको छ । अन्य धेरै पालिकामा जग्गा समेत पाउन नसकेका तथा बिबादमा गुज्रेर काम अलपत्र पारेकै बेला ताराखोलाले भने समयमै काम थालेको थियो । गत बर्षदेखि नै थालिएको काम सक्ने लक्ष राखिएको उनले बताए । यो सभाहल बनेमा एउटै छानामुनी ७ सय जना बसेर कार्यक्रम गर्न सकिनेछ । यतिठूलो भवन अहिलेसम्म जिल्लामा छैन ।
ताराखोलाले आफ्नै भवन पनि बनाइसकेको छ । गत बर्ष निर्माण गरेको भवनमा सबै कार्यालय स्थापना भैनसकेकोले ५ करोड ५० लाखमा प्रशासनिक भवन निर्माणसमेत थालिएको छ । उक्त भवन बनेपछि सबै बिषयगत कार्यालय राखेर कर्मचारीलाई आबास पनि दिन सकिने लक्ष छ । गाउँपालिकलो पर्यटन प्रवद्र्धनका लागि २ करोड लागतको जनजाती संग्राहलय पनि निर्माण गरिरहेको छ । उक्त भवनको समेत काम थालिएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->