बागलुङ, २२ जेठ – लकडाउन सुरु भएलगत्तै मजदुर तथा विपन्नलाई राहत बाँडेका बागलुङका स्थानीय तहलाई यतिबेला भने क्वारेन्टाइनमा बसेकाहरुलाई खाद्यान्न पु¥याउन कठिन भैरहेको छ । कोरोना संक्रमणको त्रासले भारत तथा देशका विभिन्न स्थानबाट गाउँ भित्रिएकाहरुको व्यवस्थापनमा स्थानीय तहलाई हम्मे–हम्मे परेको हो । यहाँका केही स्थानीय तहले खानपान र क्वारेन्टाईनमा लत्ताकपडाको व्यवस्था मिलाएका छन्भने केहीले परिवारको सहायतामा व्यवस्थापन गरिरहेका छन् ।
कोरोनासँग जुध्न कोरोना कोष बनाएर स्वास्थ्य सुरक्षा सामग्री, खाद्यान्न र औषधिसमेत खरिद गरेका स्थानीय तहले पछिल्लो समय भारतबाट आउनेको उद्धार र व्यवस्थापनमा खर्च बढाएका छन् । बुधबार दिउँसोसम्म जिल्लाका क्वारेन्टाइनमा एक हजार ४ सयभन्दा धेरै छन् । विद्यालय, सामुदायीक तथा सरकारी भवनमा बनाईएका क्वारेन्टाईनमा खानपान र बिस्ताराको व्यवस्था स्थानीय तहले गरेका छन् । ‘आँफै बनाएर खान्छौं भन्छन् तर पकाउनेमा संक्रमण भए अरुलाई सर्ने त्रासले हामीले बनाएर खुवाउँछौ’ काठेखोला गाउँपालिकाका अध्यक्ष अमर थापाले भने ‘दिनप्रति दिन गाउँ भित्रिने क्रम चलिरहेको हुँदा व्यवस्थापन कठिन बन्दै गयो ।’
क्वारेन्टाइनहरु समुदायबाट टाढा रहेकाले परिवारलाई व्यवस्थापन गर्न असहज हुने थापा बताउँछन् । ‘खाना पनि गाडीबाट ढुवानी गर्नुपरेको छ, सबै व्यवस्था गर्दा स्रोत सकियो’ उनले भने, ‘प्रदेशले चाहिएको भए माग भनेर परिपत्र गरेको रहेछ, बजेट भए त जसोतसो गरौंला नत्र आमागी दिनमा गाह्रो छ ।’
‘अब सामुदायिक क्वारेन्टाइनमा राखेर संभव छैन, होम क्वारेन्टाइनको विधि अपनाउनुपर्र्छ’ काठेखोलाका अध्यक्ष थापा थप्छन् ‘कोरोना फैलिन नदिन बाहिरबाट आउने स्वयम् जिम्मेबार बन्नै पर्छ ।’ क्वारेन्टाईनमा पाँच दिन समय कटाएर कोरोना जाँचका लागि पठाएको थ्रोट स्वावको नतिजा आउन लाग्ने समयले पनि स्थानीय सरकारलाई व्ययभार थपिरहेको थापाको भनाई छ ।
‘परीक्षण रिपोर्ट समयमै आउँदा नेगेटिभ भएकालाई होम क्वारेन्टाइन पठाउन सकिन्थ्यो तर ढिलागरि आउँदा खर्च बढेको छ’ काठेखोला गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत खिम बहादुर बिकले भने– ‘केन्द्र र प्रदेशले पनि अब सोच्नु पर्ने बेला आएको छ ।’
यता, उद्धारका लागि सवारीको व्यवस्थापन गरेको जैमिनी नगरपालिकाले क्वारेन्टाइनमा बस्नेहरुलाई खाद्यान्न उपलव्ध गराउने भएको छ । पकाउने व्यवस्था स्वयम् क्वारेन्टाइनमा बस्नेहरुले गर्नुपर्ने छ । खाद्यान्नको व्यवस्था गर्दा मात्रै धान्नै नसक्नेगरी खर्च भैरहेको नगरपालिकाले जनाएको छ । ‘बेड बिस्तारका घरमै हुन्छन् ल्याउनु, जाँच भएर नेगेटिभ आए लैजाँदा हुन्छ, पोजेटिभ आए डिसइन्फेक्सन गरेर लान मिल्छ भनेका छौं’ प्रमुख प्रशासकीय अधिकृत इशवरी प्रसाद शर्माले भने ‘राहत भनेर खाद्यान्न दिन्छौं नजिक हुनेको परिवारले पकाएर खुवाउनुभएको छ, टाढा हुनेले आँफैले पकाउनुहुन्छ ।’ आर्थिक बर्षको अन्त्य हुने समय रहेकाले स्थानीय सरकारले बनाएको कोषले मात्रै नधान्ने र रकमान्तर गरेर स्रोत जुटाउन कठिन रहेको उनको भनाई छ ।
भारतबाट आउनेको उद्धारमा अग्रपंक्तिमै रहेको बरेङ गाउँपालिकाको पनि बिधि जैमिनीको जस्तै छ । तर, अहिले भएको स्रोतले भने बरेङलाई पनि धान्दैन । ‘हामीले आगामी बर्षको बजेटमा सम्बोधन हुनेगरी भएपनि व्यवस्था गरेकै छौं’ प्रमुख प्रशासकीय अधिकृत रमेश थापाले भने ‘आफ्ना नागरिकलाई नआउ भन्न नमिल्ने, आएकालाई व्यवस्थापन गर्न कठिन हुने अवस्था आएको छ ।’
पछिल्लो समय परीक्षणका लागि संकलन भएका स्वावको संख्या बढेकाले गण्डकी प्रादेशिक प्रयोगशालामा पठाईएका स्वावको पालो तीन दिनपछि मात्रै आउने गरेको छ । जिल्लाका दुर्गम गाउँपालिकाहरुबाट संकलन भएको स्वावको रिपोर्ट आउन तीन दिन लाग्दा क्वारेन्टाईनमा बसेकाको व्यवस्थापनमा खर्च बढ्दै गएको छ ।
चारगुणा बढे क्वारेन्टाइन
बागलुङमा रहेका क्वारेन्टाइनको क्षमता चार गुणा बढाइएको छ । कोभिड–१९ को संक्रमण बढेपछि बागलुङका सबै पालिकाले व्यवस्थित क्वारेन्टाइन बनाएका हुन् । चैत र वैशाखमा जिल्लाभर ४ सय क्वारेन्टाइन रहेकोमा जेठको दोश्रो सातादेखि १ हजार ३ सय ५० को संख्या पुगेको हो ।
दुई महिनासम्म एक जना पनि राख्न नपरेपछि क्वारेन्टाइनहरु बेकामे बनेको टिप्पणी समेत भएको थियो । तर भारतबाट धमाधम मानिस आउन थालेपछि जोखिम पनि अत्याधिक बढेकोले सबै पालिकामा व्यवस्थित क्वारेन्टाइन बनाउन भनिएको स्वास्थ्य कार्यालय बागलुङका प्रमुख सुरज गुरौले बताए । उनका अनुसार, पछिल्लोपटक जिल्लाभित्र १ हजार ३ सय ४१ जना मानिस क्वारेन्टाइनमा बसिसकेका छन् । अझै केही थप हुन सक्ने भएकोले १ हजार ५ सयको हाराहारीमा क्वारेन्टाइन बनेको उनले जानकारी दिए ।





