बागलुङ, २६ जेठ– पाँच सय मुरी धान फल्ने सहेँलाको खेत । चिलौनीका रुखहरुले भरिएका कान्लामुनी कठिनले बर्षमा एक बाली धानमात्रै फल्थ्यो । सिंचाईको सधैं समस्या । काम गर्ने युवाहरुको अभावका कारण धेरैले बँझाएका थिए ।
निकै दुःखले धानमात्रै भएपनि लगाउनेहरुलाई खर्च उठाउनै कठिन । बागलुङ नगरपालिका वडा नं. १२ को सहँेलामा रहेको ठुलो फाँट यतिबेला सिंगारिएको छ । धान खेती गर्ने समयबाहेक अरु बेला दुबोको जालो देखिने खेत अहिले मल र माटोको सुन्दर समिश्रणले उर्वर देखिँदै छ । किसानले कागती बाली लगाउनका लागि यो खेतको मुहार फेरेका हुन् । यो फाँटमा रहेको खेतको मोही भने धेरै बागलुङ नगरपालिका–१४ मा बस्छन् ।
दुरीले टाढा र उत्पादनका हिसाबले खर्च उठाउन कठिन हुँदै गएपछि पछिल्लो समय किसानहरुले विकल्प खोज्न थालेका छन् । परम्परागत खेती प्रणालीले गुजारा चलाउन कठिन हुँदै गएपछि यहाँका ४० जना किसानले समुह बनाएर अब खेतमा नयाँ बाली लगाउने तयारी थालेका हुन् । धान झुल्ने समयमा पहेँलपुर देखिने यो खेत अब भने पहेँला कागतीले भरिभराउ देखिने छ । किसानहरुले चासो कृषक समुह बनाएका छन् । तीन सय रोपनी जमिनलाई एकिकृत गरेर कागती खेती गर्नका लागि उनीहरुले समुह बनाएर खेती गर्दैछन् । समुहमा आवद्ध हुनेले लगानी र प्रतिफल दुवैमा साझेदारी गर्नेछन् भने समुहले बनाएको दायराभित्र पर्ने तर समुहमा आवद्ध हुन नचानेका लागि बार्षिक मुआव्जा दिने व्यवस्थासहित जमिन एकिकृत गरिएको समुहका अध्यक्ष केशव प्रसाद सुवेदीले बताए । एक रोपनी जमिनको प्रतिवर्ष ५ हजार रुपैयाँ उपलव्ध गराउनेगरी जमिन एकिकृत गरिएको हो ।
बाँझो र धान खेतीसमेत हुने यहाँको जमिनमा यसैबर्ष ३ हजार कागतिका बिरुवा लगाउन सबै तयारी पुरा भएको छ । ‘तीनहजार खाडल खनेर माटो मल मिलाउने काम भएको छ, असार लागेपछि बिरुवा रोपिन्छ’ सुवेदीले भने ‘अब व्यवसायीक उत्पादनमा नलाग्ने हो भने गुजारा चल्दैन ।’ एक सय रोपनी जमिन बिरुवाका लागि किसान आँफैले तयार पारेका हुन् । बाँकी दुईसय रोपनी जमिनमा पनि क्रमशः बिरुवा लगाउँदै जाने योजनामा किसान छन् । ‘सिजन छोपेर लगाउनुपर्ने भएकाले एकैपटक सम्भव छैन’ उनले भने ‘क्रमशः तीनसय रोपनी भरीभराउ बनाउँछौं ।’
चार बर्षमा फसल लिन सकिने कागती लगाउन किसान हौसिएका छन् । समुहले ३ हजार बिरुवाका लागि मात्रै ४० लाख रुपैयाँ खर्च भएको जनाएको छ । ‘एउटा बिरुवाका लागि खाडल तयारीदेखि लगाउने बेलासम्म एक हजार दुई सय खर्च आउँछ’ समुहका सचिव नारायण सुवेदीले भने ‘जमिनको हिसाब गरिएको छैन ।’ चार बर्षपछि एउटै बिरुवाले एक बर्षमा फसल दिँदा दश बिरुवा बराबरको खर्च उठाउनेमा किसानहरु विश्वस्त छन् । बजारमा कागतीको माग र मुल्य राम्रो रहेकाले उनीहरुले व्यवसायीक खेती थालेका हुन् । अहिले स्थानीय बजारमा कागतीको मुल्य प्रतिकिलो १ सय ७० रुपैयाँ पर्छ । एउटा वयस्क कागतीको राम्रो रुखले बर्षमा एक सय किलोभन्दा धेरै उत्पादन दिन सक्छ ।
‘तत्कालका लागि चार बर्ष किसानलाई खर्च चलाउन पनि कठिन हुनसक्छ तर चार बर्षपछिको आम्दानी राम्रो देखेका छौं’ सचिव सुवेदी भन्छन् ‘कृषिमा लगानी नबढाए अब आम्दानीको आश छैन ।’
उनीहरुले सोही जमिनमा घुसुवा बालीसमेत लगाउने योजना बनाएका छन् । कागतीको बिरुवा लगाएको जमिनमा कोसेबाली लगाउँदा कागतीलाई आवश्यक नाईट्रोजन पनि पुग्ने र तत्काल आम्दानीसँग पनि जोडिन सकिने भएकाले तयारी रहेको सुवेदीले बताए । अदुवा, बेसारजस्ता नगदेबालीसमेत लगाउन सकिने बिकल्पसहित किसानले कागतीको व्यवसायीक खेती थालेका हुन् । उनीहरुले व्यवसायीक कागती खेती गर्न थालेको जमिनसम्म सडक नभएका कारण मल ओसर्न समस्या रहेको समितिका सदस्यहरु बताउँछन् । सडक र सिंचाईका लागि व्यवस्थापन गर्न सके बार्षिक लाखौंको आम्दानीसँग जोडिनेगरी सामुहिक खेती थालेको सुवेदीले बताए । नेपाली बजारमा अहिले प्रयोग हुने कागतीको दश प्रतिशत मात्रै नेपालमा उत्पादन हुने भएकाले यहाँ उतपादन हुने कागतीको लागि बजारको भने समस्या नरहने उनीहरुको बुझाई छ ।





