बागलुङ, २७ जेठ– बागलुङ नगरपालिकाले मंगलवारदेखि कृषि बजार केन्द्र सञ्चालनमा ल्याएको छ । किसानले उत्पादन गरेका ताजा तरकारी बिना बिचौलीया उपभोक्ताले खरिद गर्न पाउनेगरी बागलुङ नगरपालिका–३ गुठीमा बजार सञ्चालनमा आएको हो ।
गत आर्थिक बर्षदेखि सुरु भएको कृषि बजार केन्द्र सञ्चालनका लागि पूर्वाधार निर्माणको काम सकिए पछि मंगलबार देखि बजार सञ्चालनमा आएको हो । मंगलवार बजारको शुभारम्भ गर्दै नगर प्रमुख जनकराज पौडेलले किसान र उपभोक्ता सिधा सम्पर्कमा रहने यो बजारका कारण दुवै पक्षलाई फाईदा पुग्ने बताए । जिल्ला कृषि सहकारी संघको व्यवस्थापनमा निर्माण गरिएको बजार केन्द्रको पूर्वाधारका बिषयमा संघका अध्यक्ष नरबहादुर थापाले जानकारी गराए ।
उपभोक्ता मञ्च बागलुङका अध्यक्ष शैलेन्द्र श्रेष्ठले उपभोक्ता हितको लागि बजार महत्वपूर्णहुने बताए । बागलुङ नगरपालिकाको ८ लाख रुपैयाँ अनुदान र कृषि सहकारी संघको १ लाख ६२ हजार रुपैयाँ श्रमदानमा बजार सञ्चालनका लागि पूर्वाधार निर्माण गरिएको थियो । नगरपालिकाका अनुसार तत्कालका लागि शनिवार र मंगलवार यहाँ ताजा तरकारीको बजार लाग्ने छ । किसानले स्वस्फुर्त उत्पादित बस्तुको मुल्य निर्धारण गर्ने र उपभोक्ताले सिधै किसानसँगबाट तरकारी तथा फलफुलहरु खरिद गर्न सक्ने व्यवस्था मिलाईएको प्रमुख पौडेलले बताए ।





