बागलुङ, २७ जेठ– ओसिलो जमिन धेरै भएको ठाउँ हो बागलुङको ताराखोला गाउँपालिका । यहाँ परम्परागत आलु, गहुँ, कोदो, जौ, फापर र धान खेतीसमेत हुन्छ । पाखोबारी र खेतहरुमा लगाएको परम्परागत खाद्यन्न बालीले गुजारा नचलेपछि ताराखोलाका अधिकांश किसानले नगदेबाली लगाउन थालेका छन् । उनीहरु नगदेबालीतर्फ लागेको केही बर्ष भयो ।
कसैले आलुको व्यवसायीक खेती गर्छन् भने कसैले खेतबारी र पाखाहरुमा अलैँची लगाएका छन् । ओसिलो ठाउँमा हुने मसला बालीको हो अलैँची । यसको उत्पादनका लागि आवश्यक वातावरण भएकाले ताराखोलामा अलैँची राम्रो फल्छ । गत बर्ष पनि यहाँका किसानले झण्डै १ हजार ५ सय किलो अलैँची फलाएका छन् । मंसिरमा टिप्ने र बिक्री तथा भण्डार पूर्व सुकाउने वा भट्टीमा राख्नुपर्ने भएकाले किसानले चैत वैशाखसम्म यसको तयारी सक्ने गरेका छन् ।
किसानले विधि पु¥याउँदा पु¥याउँदै कोरोना भाईरस संक्रमणको जोखिम क मगर्न गरिएको लकडाउनले यो बर्ष ताराखोलाको अलैची बजार जान पाएन । ‘सिजन सुरु हुँदा लकडाउन भैदियो ढुवानीकै समस्या भयो’ ताराखोला गाउँपालिका–१ भुस्कातका व्यवसायीक अलैँची किसान दिपेन्द्रध्वज भण्डारीले भने ‘आम्दानी राम्रो हुन्थ्यो बेच्न पाएको भए खर्च चल्थ्यो ।’
घुमुवा व्यापारी र बिचौलिया छलेर यो बर्ष सिधै बजारमा अलैँची पु¥याउने योजनामा किसान थिए । गाउँमै खोज्न आउनेहरुले केहीले धेरै केहीले किसानको दुःखसमेत नउठ्नेगरी मुल्य दिने भएकाले बजारसँगको सिधा सम्पर्क बढाउन चाहेको भण्डारी बताउँछन् । ‘बर्षेनि उत्पादन बढ्दै जाने बाली हो अलैची’ भण्डारीले भने ‘यो बर्षको घरमै थन्कियो भने अर्को बर्षको उत्पादन लिने बेलासम्म रहन्छ ।’
राताखोलाको भुस्कातमा मात्रै हजार रोपनीभन्दा धेरै जमिनमा व्यवसायिक अलैँचीको खेती गरिएको छ । पालिकाका सबै वडाका ओसिलो ठाउँलाई एकिकृत गरेर अलैँची ब्लक घोषणा गरिएको छ । ब्लक भएकाले यहाँका किसानलाई बिउबिजन, भण्डारण र तालिम लगायतका सबै सुबिधा कृषि ज्ञान केन्द्र पर्वतले दिने गरेको ताराखोला गाउँपालिकाका कृषि शाखाका प्रमुख कर्णखर भट्टराईले बताए । ‘यहाँका किसानले दाना मात्रै होईन बिरुवाबाट समेत राम्रै आम्दानी गर्नुभएको छ’ उनले भने ‘लकडाउनका कारण बिरुवाको निकासीमा पनि समस्या भएको छ ।’
ताराखोलामै व्यवसायीक रुपमा अलैँचीका बिरुवा उत्पादन र बिक्री गर्दै आएको राष्ट्रिय अलैँची विकास कृषि उपज केन्द्रले गतबर्ष झण्डै ६ लाख रुपैयाँका बिरुवा बिक्री गरेको थियो । यो बर्षसमेत १ लाख बिरुवा तयार गरेर बिक्री गर्ने योजना भएपनि लकडाउनका कारण समस्या भएको केन्द्रले जनाएको छ । ताराखोलाको अलैँची प्रतिकिलो ७ सय रुपैयाँभन्दा धेरै मुल्यमा बिक्री हुने गरेको छ । यहाँ उत्पादित बिरुवा ६ रुपैयाँ प्रतिगोटामा बिक्री हुने गरेका छन् । कृषि उपजको निकासी र बजारीकरणमा सरकारले सहयोग गर्नुपर्ने किसानको माग छ ।





