बागलुङ, २७ जेठ – ‘साग आयो साग ! ओ दिदी तरकारी राख्ने हो ? तितेकरेला पनि छ । राख्ने भए राख्नुस्, मुठाको तीस रुपैयाँ मात्रै हो ।’ बागलुङ नगरपालिका–४ कुँडुलेमा तरकारी खेती गर्ने टिका कुमारी सापकोटाको दैनिकी यसरी नै बित्छ । उनीजस्तै डोकोभरि तरकारी बोकेका महिलाहरु बागलुङ बजारमा बिहानै देखिन्छन् ।
गाउँमा उत्पादित तरकारी बजारका व्यापारीलाई बेच्दा मुल्य नपर्ने र आँफै बजारमा ल्याउँदा दुःख उठ्ने भएकाले किसान बिहानै डोको बोकेर बजार चाहर्थे । बजारमा डुलेर तरकारी बेच्दा व्यापार राम्रै हुन्थ्यो अनेकथरी मान्छेका कुरा सुनेर किसान कहिले हौसिन्थे, कहिले निरास हुन्थे । ‘बसेर बेच्न बजारमा हाम्रो ठाउँ थिएन, डोको बोकेर हिँड्दा अनेकभरि सुन्नुपर्ने’ टिकाकुमारी भन्छिन् ‘ओत लाग्ने ठाउँ हुँदा बसेर बेच्न पाए राम्रै हुन्थ्यो ।’
बागलुङको काठेखोला गाउँपालिका स्थायी घर भएका टेक बहादुर बिक उपल्लाचौरमा खेत भाडामा लिएर तरकारी फलाउँछन् । उनको पनि दैनिकी टिका कुमारीको जस्तै हो । बारीमै आउने व्यापारीले उत्पादन मुल्यनै नउठ्नेगरी तरकारी तौलिन्छन् । आँफै डोको बोकेर बजार चाहर्नु उनको पनि बाध्यता थियो । ‘बारीबाटै बिक्री त हुन्थ्यो तर मुल्य नपाउने’ उनले भने ‘बजारमा ल्याउँदा किन्नेलाई पसलमा भन्दा सस्तो, हामीले पनि चित्तबुझ्ने मुल्य पाइने ।’ तरकारी लिएर बजार झरेपछि बिक्री नहुने समस्या नरहेपनि किसानहरु मौसमी समस्याको सिकार भने सधैं बनिरहे । घामपानी ओत्ने किसानको ठाउँ बजारमा थिएन । रुज्दै–भिज्दै तरकारी बेच्दाका दिन सम्झँदा उनीहरु बैराग मान्छन् ।
व्यापार नै गरौं भनेको भए बजारमा सटर पाईंदा हुन् तर यहाँका बिचौलीयासँग भीड्ने अवस्था किसानको थिएन । उनीहरु गतिलो ठाउँ पाए टिनको छाप्रोमुनी बसेरै भएपनि आफुले उत्पादन गरेको तरकारी बेच्न चाहन्थे । स्थानीय तहमा जनप्रतिनिधि आएपछि दुई बर्ष पहिलेदेखि यहिँ आशा संगालेका थिए किसानले । किसानको समस्यालाई जिल्ला कृषि सहकारी संघले आफ्नो कार्यक्रममा समावेश ग¥यो । बागलुङ नगरपालिकाले बजेटमा समेट्यो र अहिले किसानले घामपानी ओतेर तरकारी बेच्ने टहरो पाएका छन् ।
बिचौलियाको मारमा परेका किसान र उपभोक्ताई सहयोग पु¥याउने भन्दै बागलुङ नगरपालिकाले मंगलबारदेखि कृषि बजार केन्द्र सञ्चालनमा ल्याएको छ । किसानले उत्पादन गरेका ताजा तरकारी सिधै उपभोक्ताले खरिद गर्न पाउनेगरी बागलुङ नगरपालिका–३ गुठीमा कृषि बजार केन्द्र सञ्चालनमा आएको हो । गत आर्थिक बर्षदेखि सुरु भएको पूर्वाधार निर्माणको काम सकिएपछि बजार सञ्चालनमा आएको हो । मंगलबार बजारको शुभारम्भ गर्दै नगर प्रमुख जनकराज पौडेलले किसान र उपभोक्ता सिधा सम्पर्कमा रहने यो बजारका कारण दुवै पक्षलाई फाईदा पुग्ने बताए ।
जिल्ला कृषि सहकारी संघको व्यवस्थापनमा निर्माण गरिएको बजार केन्द्रको पूर्वाधारका बिषयमा संघका अध्यक्ष नरबहादुर थापाले जानकारी गराएका थिए । बागलुङ नगरपालिकाको ८ लाख रुपैयाँ अनुदान र कृषि सहकारी संघको १ लाख ६२ हजार रुपैयाँ श्रमदानमा पूर्वाधार निर्माण गरिएको हो । नगरपालिकाकाअनुसार तत्कालका लागि शनिबार र मंगलबार यहाँ ताजा तरकारीको बजार लाग्ने छ । किसानले स्वस्फुर्त उत्पादित बस्तुको मुल्य निर्धारण गर्ने र उपभोक्ताले सिधै किसानबाट तरकारी तथा फलफुलहरु खरिद गर्न सक्ने व्यवस्था मिलाईएको प्रमुख पौडेलले बताए ।
बजारका कारण आँफुहरुलाई धेरै सहज हुने किसानहरु बताउँछन् । ‘हामी उत्साहित छौं, किसानका लागि यो राम्रो प्लेटफर्म हो’ मिरमिरे कृषि सहकारीका अध्यक्ष गंगा बहादुर थापाले भने ‘चुस्त व्यवस्थापन गरेर बजार चलाउनु पर्छ ।’ झण्डै एक रोपनी व्यक्तिको जग्गा बार्षिक भाडामा लिएर बागलुङ नगरपालिकाले बजार सञ्चालनमा ल्याएको हो । यो बजार क्षेत्रमा बसेर व्यापार गर्ने किसानलाई कुनै सेवा शुल्क लाग्दैन । बार्षिक रुपमा तिर्नुपर्ने जग्गाको भाडा तीन लाख रुपैयाँ नगरपालिकाले नै तिर्ने व्यवस्था मिलाईएको छ ।
बजारको सरसफाई र थप व्यवस्थापनको काम जिल्ला कृषि सहकारी संघले गर्ने अध्यक्ष नरबहादुर थापाले बताए । किसान र उपभोक्तालाई कृषि उपज आदान–प्रदानमा जोड्ने नगरपालिकाको नीति तीन बर्षपछि कार्यान्वयनमा आएको छ । यो बजारको उपयोगिता र आवश्यकतालाई हेरेर अन्य ठाउँमा बिस्तार गर्ने नगरपालिकाको लक्ष्य रहेको छ ।





