म्याग्दी, २९ जेठ – म्याग्दीका स्थानीय तहहरुले यसवर्ष नेपाल सरकारले लक्ष्यअनुसार राजस्व संकलन गर्न नसक्दा राजस्व बाँडफाँडको रकम घटेर आएकोले योजना कार्यान्वयनमा समस्य उत्पन्न भएको बताएका छन् । एक नगरपालिकासहित ६ वटा स्थानीय तह रहेको म्याग्दीका सबै स्थानीय तहहरुले रकम घटेर आउँदा समस्या भएको बताएका छन् ।
एकातिर राजस्व बाँडफाँडको रकम घटेर आएको छ भने अर्कोतिर स्थानीय तहको आन्तरिक आय पनि समयमा नै संकलन हुन सकिरहेको छैन । त्यसका साथै असार मसान्त नजिकिदै गर्दा पुंजीगत बजेट सक्ने चटारोमा जिल्लाका स्थानीय तहहरु लागेका छन् । जिल्लाका म्याग्दीको रघुगंगा गाउँपालिकाले पुंजीगततर्फ ४ करोड १२ लाख ६१ हजार ९ सय १७ रुपैयाँ बजेट खर्च गरेको छ । पुंजीगततर्फ कुल १५ करोड, ६९ लाख, ३३ हजार ९ सय ४३ बजेटमध्ये चालु आर्थिक वर्षका जेठ अन्तिम सातासम्म २६ दशमलव ६३ प्रतिशत बजेट खर्च गरेको प्रमुख प्रशासकीय अधिकृत अमृत सुवेदीले जानकारी दिए ।
उनका अनुसार, चालुतर्फ यस आवमा विनियोजित १८ करोड २७ लाख बजेटमध्ये ९ करोड २० लाख अर्थात् ५० दशमलव ४१ प्रतिशत बजेट खर्च भएको छ । चालु आवमा राजस्व बाँडफाँड, वित्तिय समानिकरण र पालिकाको आन्तरिक स्रोतसमेत गरी १ सय १३ योजना संचालन गरेको रघुगंगाले २३ वटा योजना सम्पन्न गरीसकेको जनाएको छ । उनका अनुसार, सम्पन्न भएका सम्पूर्ण योजनाहरुको भुक्तानीसमेत भैसकेको छ ।
६० वटा योजना संचालनमा रहेका र बाँकी ३० वटा योजना सम्झौता हुन नसकेको प्रमुख प्रशासकीय अधिकृत सुवेदीले बताए । अधिकृत सुवेदीका अनुसार, योजना सम्झौता गर्नुपर्ने मिती चैत मसान्तसम्म भएकोमा कोरोना संक्रमणका कारण उपभोक्ता समितिका पदाधिकारीहरु आउन नसकेकाले योजना सम्झौता गरी संचालन गर्न नसकिएको हो ।
संघीय सरकारबाट राजस्व बाँडफाँडअन्तर्गत यस आवमा ७ करोड २६ लाख बजेट आउनु पर्नेमा ३ करोड ६९ लाख मात्रै आएको र त्यसअन्तर्गत संचालन भएकाका योजनाहरुको भुक्तानि गर्न समस्या भएको सुवेदीले बताए । सुवेदीका अनुसार, करिव ६० लाख रकम बराबरका साना योजनाहरु सम्झौता हुन सकेनन् । आवश्यकताका आधारमा आगामी आर्थिक वर्षमा ती योजनाहरुलाई निरन्तरता दिइने उनले बताए ।
त्यसैगरी पश्चिमी म्याग्दीको मंगला गाउँपालिकाले पनि चालु आर्थिक वर्षको अहिलेसम्म आलु आवमा विनियोजित बजेटमध्ये पुंजीगततर्फ ३३ दशमलव ३५ प्रतिशत बजेट मात्रै खर्च गरेको मंगला गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद गौतमले बताए । उनले मंगला गाउँपालिकाले ८० प्रतिशत भौतिक प्रगति गरेको दाबीसमेत गरे ।





