बागलुङ, ३० जेठ– भारतबाट आएर क्वारेन्टाइनमा बसेकाहरुलाई उपल्लाचौरका किसानले तरकारी सहयोग गरेका छन् । बागलुङ नगरपालिका–४ उपल्लाचौरस्थित धौलागिरी प्राबिधिक शिक्षा प्रष्ठिान र रामरेखा आधारभूत विद्यालयको क्वारेन्टाईनमा बसेकाहरुलाई उपल्लाचौरका व्यवसायिक तरकारी खेती गर्ने किसानहरुले तरकारी सहयोग गरेका हुन् ।
उनीहरुले क्वारेन्टाईनमा बसेकाहरुको व्यवस्थापनमा सहजीकरण गरिरहेका बागलुङ नगरपालिका वडा नं. १ रामरेखाका वडा सदस्य सूर्य लामिछानेमार्फत १५ दिनलाई पुग्नेगरी तरकारी सहयोग गरेका हुन्। एकैपटक तरकारी उपलव्ध गराउँदा बिग्रिने समस्या हुने भएकाले १५ दिनसम्म किसानको बारीबाट फरक–फरक तरकारी ल्याउने गरी क्वारेन्टाईन व्यवस्थापकलाई जिम्मेबारी दिईएको किसान असिम कुमार गर्वुजाले बताए ।
किसानहरुले करेसाबारीमा फलेका ताजा तरकारी सिधै क्वारेन्टाईन पु¥याउँदा स्वास्थ्यमा समेत फाईदा पुग्ने उनीहरु बताउँछन् । ‘बजारमा तरकारी भनेजस्तो पाईंदैन, बारीबाटै तरकारी ल्याएर खाना बनाउन पाउनु हाम्रो लागि खुसीको कुरा हो’ लामिछानेले भने ‘किसानहरुले निकै राम्रो उदारता देखाउनुभयो ।’ रामरेखा र उपल्लाचौरको क्वारेन्टाइनमा ३८ जना रहेका छन् । उनीहरुका लागि बागलुङ नगरपालिकाले निशुल्क खानाको व्यवस्था गर्दै आएको छ । खाद्यान्न नगरपालिकाले उपलव्ध गराउने र खाना बनाएर खुवाउने जिम्मेबारी वडासस्दय लामिछाने र स्थानीय युवा राहुल बोहराले लिएका छन् । एकै ठाउँमा पकाएको खाना प्याकिङ गरेर क्वारेन्टाईनमा बसेकालाई उपलव्ध गराउँदै आईएको छ ।





