बागलुङ, ३२ जेठ– बन्दाबन्दी सुरु भएपछि गाउँमा खसी बोकाको माग ह्वात्तै बढ्यो । शहरबजारमा रहेकाहरु गाउँ फर्केकाले मासुको माग बढेको हो । गाउँका खसीबोका मागेकै मुल्यमा बिक्री भएको किसानहरु बताउँछन् । बागलुङ बजारबाट खाद्यान्न बोकेर गाउँ पुग्ने पिकअप भ्यानहरुले गाउँबाट खसीबोका ल्याएर बजारमा बेचेननन् तर बजारको सामान गाउँ पु¥याउनका लागि मात्रै प्रयोग भए ।
कताकती गाउँबाट बजार आउने बेला भरिभराउ यात्रुहरु रहेका पिकअप भ्यानको पछाडी खसीबोका देखिन्थे तर अहिले बिरलै आउने खसीबोकाको सञ्चिती समेत गाउँमा छैन । सोखका लागि पालेकाहरुले बिक्री गर्दैनन् । व्यवसायीक रुपमा बाख्रा पालेकाहरुले बिक्रीका लागि तयार खसीबोकाको अभाव नै भएको बागलुङको काठेखोला गाउँपालिका–७ रेशका किसान बिरेन्द्र लामिछाने बताउँछन् । ‘घरमै आएर मागेको मुल्य दिएर लैजान्छन्’ उनले भने ‘केही समय पालौँला–बढाउँला भनेका समेत रहेनन् ।’
कोरोना त्रासका कारण गाउँ फर्केकाहरुले अन्य घरपालुवा जनावरको तुलनामा खसीबोकाको मासु बढी खोजी गरेका छन् । झण्डै तीन महिना यता कुखुराको मासुको माग घटेको र खसीबोकाको माग बढेको लामिछाने बताउँछन् । गाउँमा छिमेकीहरु मिलेर भाग लगाएर खानकै लागि खसीबोका प्रयोग भैरहेको जैमिनी नगरपालिका–१ का किसान भिम शर्मा बताउँछन् ।
रेशका लामिछाने र जैमिनीका शर्मा दुवैले व्यवसायीक रुपमा बाख्रा पालेका छन् । उनीहरुको गोठमा रहेका खरी जातका खसीबोकाको माग अझै बढी छ । ‘बन्दाबन्दी भएको साता नहुँदै भएका सकिए, अहिले पनि खोज्न आउनेहरु उत्तिकै छन्’ शर्माले भने ‘पहिले मुल्य पाउन बजार पठाउँथे अहिले बजारमा भन्दा गाउँमा राम्रो मुल्य छ ।’ खसीबोका खोज्न आउनेहरुले जिउँदो प्रतिकिलो ४ सय ५० रुपैयाँदेखि ५ सय रुपैयाँसम्म दिने गरेका छन् ।
समुहमा आएका युवाहरुले भने मासुको हिसाब नै नगरी मुल्य गर्ने गरेको अनुभव किसानहरुसँग छन् । बागलुङमा खसीबोकाको मुल्य ठाउँअनुसार फरक फरक छ । बागलुङ बजारमा ९ सय रुपैयाँमा बोका र ९ सय ५० रुपैयाँसम्ममा खसीको मासु बिक्री हुन्छ । बन्दाबन्दी सुरु भएपछि ७ सय रुपैयाँ प्रतिकिलो बिक्री हुने मासुको मुल्य एक हजारभन्दा धेरै पुगेका गाउँहरु पनि छन् । ‘पहिले गाउँमा जोखेर एक किलो मासु ७ सयमा पाईन्थ्यो’ बागलुङ नगरपालिका–१२ अमलाचौरका खगेश्वर घिमिरेले भने ‘अहिले १ हजार २ सयसम्म पनि तिरियो ।’
बन्दाबन्दीले सामान्य परिवारले धान्नै नसक्ने गरी मासुको मुल्य बढाएको उनले बताए । बुढा बाख्रा र पाठीहरुको समेत किसानले यसपालि राम्रो व्यापार गरेका छन् । बागलुङ ग्रामिण क्षेत्रमा बिशेष गरेर दशैं तिहारजस्ता पर्वहरुमा मात्रै ठुलो संख्यामा खसीबोकाको कारोवार हुन्थ्यो । बन्दाबन्दीको समयमा भने गाउँका अर्गानिक तरकारी, खसीबोकालगायत कोदो, मकैजस्ता खाद्य बस्तुको समेत राम्रो उपयोग भएको छ ।





