होगो गोठ (२१०० मि.) पुग्नु अघिको ठाडो उकालो । चार हात–खुट्टाको सहारामा अघि बढ्दै थियौं हामी । त्यहीं उकालोमा भेट भयो काठमाडौंका उमेश अनि उनका साथीहरू । जाडो बिदा मनाउन अन्नपूर्ण आधार शिविर पदयात्रा गर्ने उनीहरूको योजना माघ ३ गतेको हिमपहिरोले भताभुङ्ग भएछ । ‘नयाँ गन्तव्यहरूको खोजी गर्दै गर्दा युट्युबमा घुमन्ते टोलीेको कपुचे यात्राको भिडियो हेरेपछि यहाँ आएका हौं । साँच्चै समुद्री सतहबाट यति होचो ठाउँमा हिमताल होला भनेर मैले कल्पना पनि गरेको थिइनँ । आफ्नै आँखाले हिमपहिरो देख्दा आफैँलाई भाग्यमानी ठानेँ ।’
हो, नेपालकै सबैभन्दा कम उचाइमा रहेको हिमताल हो, कपुचे । नेपालकै प्रसिद्ध पर्यटकीय सिक्लेस गाउँ । त्यहाँबाट करिब १५÷१६ कि.मी.को दुरीमा अवस्थित छ यस ताल । ‘आजकल सिक्लेस पुग्नेहरू प्रायःकपुचे ताल पुगेकै हुन्छन्’ अन्नपूर्णगेष्ट हाउस सिक्लेसका प्रोपाइटर मनिष गुरुङले बताए । सिक्लेस टु कपुचे साइकल पर्यटनबारे अध्ययनका लागि हामी कपुचे तालसम्मको यात्रा गर्ने भयौं, म, राजुदाइ, सुमन अनि सुदिप ।
फाल्गुन महिनाको अन्तिम साता । चीनको उहान प्रान्तमा कोरोना फैलिए पनि नेपालमा यसको प्रभाव खासै देखिसकेको थिएन । त्यसैले बसमै हामी सिक्लेससम्म पुग्ने र त्यहाँबाट पदयात्रा गर्ने योजना बनायौं । सिक्लेस जाने थाकको उकालोमा सडक विस्तार गर्न लागेकाले हाइड्रोपावर हुँदै ताप्राङको बाटो चल्तीमा रहेछ अहिले । पानी परेकाले हिलो बाटोमा बस नजाँदो रहेछ । जीप पनि सबै भरिभराउ । जसरी हुन्छ सिक्लेस पुग्नु थियो हामीलाई । ढाँडबेंसीमा बग्ने बिजयपुर खोला तरेर काब्रेडाँडाहुँदै मादी हाइड्रोपावरको ड्यामसम्म बसले पु¥यायो । यस हाइड्रोपावरमा उत्पादित २५ मेघावाट विद्युतले सिक्लेस र ताङतिङ झलमल्ल हुनुभन्दा अघि स्थानियको सक्रियतामा दुई दशकअघि नै गाउँहरूले टुकी पानसलाई विदा गरिसकेका थिए ।
साँघुरो बाटो, उस्तै खाल्डाखुल्डी । बसको अन्तिम सिटमा बसेका हामीलाई उफार्दै त्यहाँबाट आधा घण्टामा सोँधा पु¥यायो बसले । गाउँसम्म सडक पुग्नुअघि सिक्लेसबासीहरू यहीँ बाटो प्रयोग गर्दा रहेछन् । बेंसीमा खेतीपाती गरेर गाउँसम्म यहीं बाटोहुदँै जान्छन् अझै । पुरै उकालो बाटो, गाउँसम्म पुग्न हामीलाई करिब तीन घण्टा लाग्यो । त्यस दिनको हाम्रो बसाइ अन्नपूर्ण गेष्ट हाउसमा ।
कपुचे ताल छेउछाउ होटल छैनन् । बीचमा बास बस्ने ठाउँ होगो गोठ, स्थानीयको लवजअनुसार होवु । नामै होगो गोठ, करिब दुई दशकअघि यहाँ १२ वटा गोठहरू थिए । होगो गोठको जग्गा धन गुरुङको बुबाको । नमस्ते गेष्ट हाउसका सञ्चालक उनले भने, ‘यहाँ दशकौँदेखि १२ घरका परिवारहरू गोठ बनाएर बसेका थिए । छ महिना यहाँभन्दा अलिमाथि न्वुटाह् र छ महिना यहाँ बस्थे । यहाँ मज्जाले स्याउ, ओखर, मकै, मुला र सिमी फल्थ्यो । हाम्रो जमिन प्रयोग गरेबापत हरेक परिवारले हामीलाई १ मुरी आलु, ५÷६ पाथी सिमी, केही माना घिउ दिन्थे ।’
अहिले फेरेको छ होगो गोठको माहोल । आफ्नै जग्गामा उनका भाई दुजेन गुरुङले होटेल खोलेका छन् । खोलावारि भने एक्यापको अनुमति लिएर गाउँकै एक जनाले होटल खोलेका छन् । बाटोमा सजिलो होस् भनेर हामीले संगै लगेका थियौं सिक्लेसकै भाई रोशन गुरुङ । होगो गोठको लागि हामी भने बिहानै दस बजे हिडेँका थियौं सिक्लेसबाट ।
सिक्लेस, पोखराबाट ३९ कि.मी.मा अवस्थित सुन्दर गाउँ । गुरुङ भाषामा सिक्लेसको नाम चिउली, चि–सम्म परेको ठाउँ, ली–फाँट, चौर । साहित्यकार तीर्थ गुरुङका अनुसार चाहिँ चि भन्नाले चरा र क्लीको अर्थ बिष्टा । क्होला सौंप्रि ट्हों पनि भनिने क्होला सोंथरबाट अर्को ह्युला (राज्य) स्थापना गर्न चरा उडाउँदा जुन ठाउँमा आएर चराले बिष्टायो त्यहीं ठाउँलाई चिक्लीनासा भनियो । कालान्तरमा चिली र दस्तावेजहरूमा सिक्लेस भनियो । आँखाले देखुन्जेल घरैघर । ढुङ्गैको गारा, ढुङ्गाकै आँगन । अनि ढुङ्गाले छापेकै सिँढीहरू । जुन गल्लीबाट पनि सजिलै गाउँ घुम्न सकिन्छ । बाटोले मात्र हैन, आत्मियताले पनि जोडिएको छ सिंगो गाउँ ।
करिब १४ औं शताव्दीतिर क्होलसोंथर (गुरुङ सभ्यताको विकास भएको ठाउँ) बाट सिक्लेसमा सरेको बस्ती यति व्यवस्थित देख्दा जो कोही आश्चर्यमा पर्छन् । सात सय सिक्लेस भनिए पनि अहिले चार सय पचासको हाराहारीमा छन् घरहरू । गाउँबाट देखिने लमजुङ अनि अन्नपूर्ण हिमाल उस्तै लोभलाग्दो । हो, सिक्लेसबाट करिब ६÷७ घण्टा मा होगो गोठ पुगिन्छ भन्थे अरुले । हामी त साढे चार घण्टामा नै पुग्यौं ।
एक वर्ष पनि भएको छैन स्टार होटल बनेको होगो गोठमा । सात वर्ष कतार बसेका दुजेन गुरुङ यहीं साल छुट्टीमा नेपाल आएका थिए । त्यसपछि भने उनी गएनन् कतार । उनले भने, ‘अहिले २५ टेन्टमा करिब ८० जना पर्यटकहरूलाई बस्न खानाको सुविधा मिल्छ यहाँ । अझै केही इको कटेजहरू बनाउने योजना पनि छ ।’ केले यहाँ बस्न प्रेरित ग¥यो भन्दा उनले भने, ‘आफ्नै बाउबाजेको छाला हो यो ठाउँ । विदेशमा मरिमेटी अर्काको गुलामी गर्नु्भन्दा यहीं लाखौं गुणा आनन्दको छ । आम्दानी पनि राम्रै छ ।’ दुई छाक खाना, दुई टाइम खाजा अनि सुतेको जम्मा बाह्र सय लिन्छन् उनी । अब अर्को सालबाट यहीँको सागसब्जी, तरकारी अनि जंगलको निउरो पाहुनालाई चखाउने उनको सपना छ । अबेर क्याम्प फायरमा उनीसगँ धेरै गफियौं ।
बिहानै चियाखाजा खाएर हामी कपुचे लाग्यौं । बाटो पुरै उकालो । निगालोको घारी नै घारी । ढलेका रुखहरू यत्रतत्र देखिन्थे । सुरिला उतिसका रुखहरूको जंगल । भुर्र भुर्र केही हुल सुगाहरू नाँचिरहेका थिए । सम्म परेको ठाउँ आउने बित्तिकै हामी एक अर्कासंग कुरा गथ्यौं, यहाँ त मज्जाले साइकल कुदाउन सकिन्छ है ? करिब एक घण्टामा हामी हिमालको छेवैमा पुगेको आभाष भयो । आँखै अगाडि निराकर कपुचे देख्दा एकछिन पत्यार लागेन । कञ्चन अनि सफा । यति सफा कि डुबुल्की मार्दा हाम्रो कारणले ताल नै मैलो होला जस्तो ।
लम्जुङ अनि अन्नपूर्ण हिमालको हिउँ पग्लेर बनेको हो कपुचे । समुद्री सतहबाट जम्मा २५ सय ४६ मिटरको उचाइँ । हामी पुगेको केही मिनेटमै ठूलो आवाज सुनियो । यो त हिउँपहिरोको आवाज पो रहेछ । अन्नपूर्ण दोस्रोको शिरबाट बडेमानको हिउँपहिरो खस्यो । तालसम्म आइपुग्दा वरिपरि बादल लागेजस्तै भयो । हिउँले वरिपरि ढाकियो । ताल हेरेर अघाउने कुरै थिएन । छिनमै घाम, छिनमै बादल लाग्दा तालको रुप पनि फेरिरहन्थ्यो ।
यहाँको अर्को विशेष स्वाद भनेकै कायकिङ । नेपालकै कम उचाईमा रहेको हिमतालमा कायकिङ गर्नुको छुट्टै मज्जा । अहिले भने जलवायु परिवर्तनले तालको क्षेत्रफल बढ्दै गइरहेको छ । तालको अस्तित्व धरापमा छ । तालनै फुटेर तलका बस्तीहरूलाई खासै ठूलो क्षति नपु¥याए पनि यसले भने यहाँको पर्यायवरण र पर्यटनलाई ठूलो असर पु¥याउन सक्छ ।
गुरुङ भाषामा कपुचेको अर्थ क्ह भन्नाले जमेको हिउँ, फु भन्नाले भत्केर आएको र चे भन्नाले समथर परेको ठाउँ अर्थात् हिउँ भत्केर आएपछि बनेको ताल भन्ने बुझिन्छ । सिक्लेस फर्केपछि उनै माइला दाइ (धन गु्रुङ) सँगको भेटमा उनले भने, ‘सन् १९९८ मा एक जना विदेशीसँग त्यहाँ पुग्दा ताल थिएन, मात्र हिमपहिरोको रास । त्यतिबेला बाटो नबिर्सियोस् भनेर जाँदा बाटो छेउछाउका रुखहरू संकेत बनाउन ताछेका थियौं ।’ त्यसपछि भने उनी तालको अध्ययनको लागि जापान तेक्यो हेसे विश्वविद्यालयको स्कुल अफ इन्भाइरोमेन्ट लइन्फर्मेसनका सह–प्राध्यापक जिरो कोमोरीसँग त्यहाँ सन् २०१४ मा पुगेका रहेछन् । कोमोरीले ताल ४० मिटर गहिरो, ४ सय मिटर लम्बाइ र ३ सय मिटर चौडाइ पत्ता लगाएका रहेछन् । पोहोर फागुनमा घुमन्ते टोलीसगैं उनी भिडियो डकुमेन्ट्रीका लागि कपुचे पुगेका थिए । त्यस भिडियो हालसम्म १ लाख ३३ हजारले हेरेका मात्र छैनन्, त्यसभन्दा बढी घुम्न रुचाउनेहरू माझ कपुचे प्रचलित भइसकेको छ ।
सिक्लेसका अध्यक्ष सुरज गुरुङ भन्छन्, ‘छोटोसमयमै कपुचे तालले जति चर्चा कमाएको छ, त्यो हामी सबैलाई गर्वको विषय हो । अझै यसलाई व्यवस्थित गर्नका लागि गाउँपालिकाले डि.पि.आर तयार गर्दैछ । कर्पु डाँडामा बैशाख १ गतेदेखि १० गतेसम्म मेला आयोजना हुँदैछ । यसले कपुचे, दुधपोखरी, क्होला स्वोंथर जस्ता ठाउँहरूको प्रवद्धन गर्नेछ भन्नेमा म विश्वस्त छु ।’
साँच्चै भन्नुपर्दा कपुचे पर्यटनले धेरै सम्भावनाहरू बोकेका छन् । सिक्लेसबाट होगो जाँदा बाटैमा पर्ने ६४ मिटरको यदि झरना हेर्दा जति आर्कषक छ, त्यति नै क्यानोनिङको सम्भावना बोकेको छ यसले । मादीखोलाको छेवैमा रहेको हट स्प्रिङलाई राम्रो व्यवस्थापन गर्न जरुरत छ । पाहुनाहरूलाई मादीको असला माछा, ढिडोँ अनि निउरोको अचारको स्वाद चखाउन सक्नुपर्छ । लामो यात्रामा निस्कन रुचाउनेहरूका लागि कपुचे ताल, कोरी डाँडा, दुधपोखरीहुँदै मनाङ तिमाङ निस्केर राउन्ड अन्नपूर्ण पदयात्रा पनि गर्न सकिन्छ तर ठाउँ ठाउँमा होटल तथा क्याम्पिङ साइट चाहिँ बनाउनुपर्छ ।
यहाँ अझै विदेशी पर्यटकहरू सोचेजति आउन सकेका छैनन् । एक त यसको चर्चा उति विदेशी पर्यटकहरू माझ पुग्न सकेको छैन भने महंगो एक्याप पर्मिटले पर्यटकहरू यहाँ आउन हिचकिचाउँछन् । उनीहरूको बसाइँअनुसार पर्मिट दर तोकिनु पर्छ भन्ने कुरामा सिक्लेस अध्यक्ष सुरज गुरुङ जोड दिन्छन् । उनले थपे, ‘यस बारेमा एक्याप कार्यालय सिक्लेसमा पनि कुरा राखेको छु । साथै कपुचे, कोरीडाँडा, दुधपोखरीहुँदै मनाङ निस्किने पदयात्रालाई पनि जोड दिन मादी गाउँपालिका र एक्याप दुवै लाग्नुपर्छ ।’
पोहोर मात्र टान पोखराले पोखरा के.आइ.सिङ पुल, अर्मला, तारा हिल टप, सिक्लेस, होगो गोठहुँदै कपुचेसम्मको आठ दिने पदयात्राका रुपमा बाहिर ल्याएको थियो । ‘रुटमात्र पत्ता लगाएर हुँदैन, त्यहाँ आवश्यक पर्ने पूर्वाधार विकास गराउन पर्यटन बोर्ड र टानको सहयोग जरुरत हुन्छ । रुट सर्भे गर्न आएपछि एक पटक पनि कुनै संस्थाका कर्मचारीहरू फर्केर आएनन्,’ नमस्ते गेष्ट हाउसको सञ्चालक धन गुरुङले गुनासो पोखे ।
समयसंगै नाम चलेका पदमार्गहरू सडकले विस्थापित गर्दा कुनै दिन कपुचे पदयात्राले धेरै राहत नदेलान् भन्न सकिदैन । त्यसका लागि सबैको हातेमालो जरुरत छ । यता कोरोनाले नेपालको पर्यटनमा ठूलो असर पारेको छ । यस असरलाई पूर्ति गर्दै पहिलेकै अवस्थामा पुग्न नेपाललाई केही वर्ष लाग्ने अनुमान गर्न सकिन्छ । त्यसैले यस्तै लुकेर रहेका पर्यटकीय गन्तव्यहरुको प्रचार प्रसार एवम् प्रर्वद्धन गर्दै अघि बढाउनु पर्नेछ । यही वैशाखमा कपुचेसम्म पाँचदिने साइकल यात्रामा निस्कने हाम्रो योजना सम्भव भएन, कोरोना कहर साम्य भएपछि पक्कै साइकलमै त्यहाँ पुग्ने छौं । यसले अझ कपुचे पर्यटन प्रवद्धनमा जोड दिनेछ भन्नेमा हामी विश्वस्त छौं ।
जय पर्यटन ।





