
पोखरा, २ असार – गण्डकी प्रदेश सरकारले आगामी आर्थिक वर्षको बजेटमा कालो सुँगुर र जेठोबुढोको प्रवद्र्धन गर्ने भएको छ । गण्डकी प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री किरण गुरुङले सोमबरा सार्वजनिक गरेको आर्थिक वर्ष २०७७÷०७८ को बजेटमा कालो सुँगुर र जेठो बुढोलाई प्रवद्र्धन गर्ने बताइएको छ ।
बजेट सार्वजनिक गर्दै मन्त्री गुरुङले पार्कोटे र लिमे जस्ता गण्डकी प्रदेशका रैथाने जातका भैंसीपालन कार्यक्रमलाई प्राथमिकता दिएको बताए । स्थानीय प्रजातिका खरी जातको बाख्रा, च्याङ्ग्रा, भेंडा, चौंरी, कुखुरा, कालो सुँगुर, जेठोबुढो धान आदि प्रबद्र्धन गर्ने कार्यक्रमलाई जोड दिएको उनले सुनाए ।
यस्तै, एक पालिका, एक उत्पादन कार्यक्रमलाई प्रभावकारी बनाउन विभिन्न अन्नबाली, फलफुल, नगदेबाली तथा तरकारी र पशुपन्छी तथा मत्स्यपालनका पकेट क्षेत्र स्थापना र विस्तार गर्ने कार्यक्रमलाई निरन्तरता दिइने बताए । भू–बनोट र सम्भाव्यताको आधारमा आलु खेती, चैते धान, अगौटे सुन्तला, कागती, अलैंची, कफी, च्याउ, रेशम खेती, घाँसेबाली, मौरीपालन जस्ता कार्यक्रमलाई प्रदेश सरकारले आगामी आर्थिक वर्षको कार्यक्रममा निरन्तरता दिएको छ ।
यस्तै, पशु, फलफुल, तरकारी र अन्नबालीको नयाँ प्रजाति विकास, पशु नश्ल सुधार र उन्नत बिउ उत्पादन गर्ने अनुसन्धानात्मक कार्यक्रमलाई जोड दिइएको छ । स्याउ उत्पादनमा आत्मनिर्भर हुन मनाङ, मुस्ताङ र गोरखा धार्चे र चुमनुब्रीमा उच्च घनत्वमा आधारित स्याउ खेती विकास कार्यक्रमलाई निरन्तरता दिने अर्थमन्त्री गुरुङले बताए । कृषि उद्यमशीलता अभिवृद्धि गर्न नेपाल सरकारसँगको सहकार्यमा बाली तथा पशुपन्छी बिमा कार्यक्रमलाई आगामी आर्थिक वर्षको बजेटले निरन्तरता दिएको छ । कृषकलाई सहुलियत ब्याजदरमा कृषि ऋण उपलब्ध गराउने आगामम्ी आर्थिक वर्षको बजेटमा समेटिएको छ ।
भौगोलिक सूचना प्रणाली मार्फत भू उपयोगको तथ्याङ्क अद्यावधिक गरी प्रदेशस्तरीय भू उपयोग योजना तयार गर्ने व्यवस्था मिलाएको मन्त्री गुरुङले सुनाए । सरकारी तथा सार्वजनिक, निजी र गुठी जग्गाको अभिलेख अद्यावधिक गरी व्यवस्थित गर्न आगामी आर्थिक वर्षबो बजेटमा आवश्यक बजेटको व्यवस्था गरिएको छ । आगामी आर्थिक वर्षको बजेटमा भूमि व्यवस्था, कृषि तथा सहकारी क्षेत्रको कार्यक्रम कार्यान्वयनका लागि ३ अर्ब १६ करोड १० लाख बजेट छुट्याइएको छ ।





