नेपाली दलित आन्दोलनको इतिहासमा भगत सर्वजित विश्वकर्मालाई पहिलो व्यक्ति मानिन्छ । उनले प्रजातन्त्रको स्थापना हुनुपुर्व नै सांगठिक रुपमा दलित मुक्तिको आन्दोलन छेडेका थिए । तत्कालिन कठिन अवस्था र जहाँनिया राणा शासनकालमै समाजमा रहेको थिचोमिचो, जात व्यवस्था र छुवाछुतजस्ता कुरीतीविरुद्ध डटेर विरोध गर्नु सानो कुरा थिएन । तत्कालिन अवस्थामा दलित समुदायले नयाँ कपडा लगाउन पाउने थिएनन् । कथित उपल्लो जातसँग छोएपछि छिटो हालिन्थ्यो । बाटो हिड्दा पनि कथित दलितहरु पाँच मिटरभन्दा टाढैबाट हिड्नुपथ्र्याे । धार्मिक क्रियाकलाप गर्न पाइने थिएन । कुनै धार्मिक अनुष्ठानलगायका ठाउँमा कुनै मन्त्र वा ज्ञान सुन्न र प्रसाद खान दिँइदैनथ्यो । धार्मिक र साँस्कृतिक रुपमा चरम विभेद थियो । आर्थिक तथा शैक्षिक रुपमा पनि उत्पीडित दलित समुदायमाथि दासता थुपरिएको थियो ।
यस्तो बेलामा उनले १९९७ सालमा विश्व सर्वजन संघ नामक संगठन स्थापना गरे । यो नै दलित मुक्तिका लागि स्थापना गरिएको पहिलो सांगठिनक संस्था थियो । यो सांगठनिक इतिहासको सुरुवात थियो । बागलुङ जिल्लाको हाल बागलुङ नगरपालिका–७ र साविकको मुलपानी गाविसको गैरागाउँमा वि.सं. १९५० मा जन्मिएका सर्वजित विश्वकर्मा सानैदेखि विद्रोही स्वाभावका थिए । अन्याय अत्याचार सहनु पाप हो भन्ने ज्ञान भएका उनी धार्मिक क्रियाकलापमा रुची राख्थे किनकी उनका वरपरका ब्राम्हण समुदाय विभिन्न धार्मिक क्रियाकलाप गर्थे त्यो कार्य गर्न दलितलाई छुट थिएन ।
नेपालमा दलितलाई पढ्ने वातारण थिएन तर उनले बनारसमा पढ्ने अवसर पाए । सँस्कृतमा आचार्य उपाधी पाएपछि उनको नामको अगाडि भागवत प्राप्त व्यक्ति भनेर भगत पद्वी प्राप्त भयो, त्यसपछि उनलाई भगत सर्वजित भन्न लागिएको हो ।
उनले हिन्दु धर्म ग्रन्थको गहिरो अध्ययन गरे । वेद, उपनिषद, पुराण, मनुस्मृतिलगायतका ग्रन्थ पढे र सँस्कृतमा आचार्य गरेपछि नामका अगाडि भगत र थरको ठाउँमा बृन्चि लेखेका थिए ।
धर्म सँस्कृतीका विद्वता प्राप्त गरेपछि उनले धर्मिक ग्रन्थमा कहिँ पनि उचनिच छैन, धर्मका आधारमा कसैले पनि कसैलाई अपमानित गर्न मिलदैन भन्ने बहसमा उत्रने उनी नै पहिलो दलित नेता हुन् ।
उनीसँगै आन्दोलनमा होमिएका जिउँदो प्रमाणका रुपमा रहेका रामशरण विकका अनुसार, उनले आफ्ना छोराको न्वारन धार्मिक विधिअनुसार गरेका थिए । शँख घण्टा बजाएपछि उनलाई तत्कालिन शासकले सानो जात भएर ब्राम्हणको कर्म गरेको भन्दै पक्राउ गरिएको थियो । उनले आफूले पनि जनै धारण गर्न पाउनुपर्छ भन्दै जनै लगाएका थिए । जनै मन्तर्न आफैंले मन्त्र उच्चारण गर्दै जाँदासमेत उनलाई आक्रमण गरिएको थियो ।
उनले बागलुङको ओम प्रसादको चौतारीमा विभिन्न श्लोकसहितका पर्चा छापेर बाँड्दै आन्दोलनको सुरुवात गरेका थिए । ‘बटौलीको बजारमा लाह छ कि छैन, दहिको ठेकी सरोबारी थाहा छ कि छैन’जस्ता गद्यात्मक गीत लेखेर तत्कालिन अवस्थाको समाजमा सबै मान्छे एकै हो भन्ने सन्देशसमेत जोडदार रुपमा उठाएका थिए ।
उनले १९९७ सालमा सर्वजन संस्था स्थापना गरेर दलित मुक्ति आन्दोलनलाई एकीकृत रुपमा उठाएका थिए । दलित समुदायलाई आर्थिक रुपमा उन्मुक्ति दिन बालिघरे प्रथाका नाममा भएको श्रम शोषणको विरोध गरेका थिए । उनले बालिघरे होइन तत्कालै नगद पाउनुपर्छ भन्ने आवाज उठाउँदै सबैलाई सचेत बनाएका थिए । यो मागलाई पुरा गराउन उनले चर्चित कामी र सुनाकारको टुँडो भाँच्ने, दर्जीका कल बन्द गर्ने, सार्कीहरुको छालाका काम बन्द गर्ने र पेशा बहिस्कार गर्ने, हडतालका आन्दोलन गर्न लगाएका थिए ।
दलित समुदायलाई शिक्षामा अग्रसर बनाउनुपर्छ भन्ने उहाँमा चेत थियो । जसको फलस्वरुप भारतबाट शिक्षा आर्जन गरि फर्केका हिक्मतसिँह विश्वकर्मा र सहयोद्धा लक्ष्मीनारायण विक, मनविर विक र रामशरण विकको सहयोगमा गैरागाउँको भालुमारेमा विश्वकर्मा प्रावि विद्यालय स्थापना गरेका थिए ।
विद्यालयको अध्यक्षमा मनविर, कोषाध्यक्षमा रामशरण थिएभने अंग्रेजी भाषासमेत जानेका हिक्मत सिँह विश्वकर्मा शिक्षकका रुपमा काम गरेका थिए । उक्त विद्यालय अहिले १२ कक्षासम्म पढाई हुन्छ भने विद्यालयको परिसरमा भगतसर्वजित विश्वकर्मा प्रतिष्ठान बागलुङले भगत सर्वजित विश्वकर्माको शालिक निर्माण गरेको छ । उनले दलितलाई सामाजिक, धार्मिक, शैक्षिक तथा आर्थिक रुपमा सबल पारेमा मात्र समाजमा दलितको अवस्था माथि उठ्न सक्छ भन्ने मान्यता राख्दै सोहीअनुसार आन्दोलन छेडेका थिए ।
कट्टर जात प्रथामा विश्वास गर्ने वर्णवादी समाज सर्वजितको क्रियाकलापप्रति खुसी थिएनन् । जसको कारण कथित उच्च जात र अहँकारवादी, पण्डित पुरौहित तथा सामन्तहरुले उनीमाथि षडयन्त्र रचे । उनको घरगोठ भत्काएर उनीमाथि पटकपटक आक्रमण गरिएको थियो । गादगद्दी ताकेको र समाजमा व्यवस्था भाँडेको आरोप लगाउदै उनलाई जेलमा हालिएको थियो । उनलाई बागलुङमा ६ महिना जेल हालिएको थियो र उनीका सहपाठीलाई पनि जेलमा हालिए पनि उनलाइ बागलुृङबाट पाल्पा जेल लगिएको थियो । १७ महिनासम्म ठुडुका ठोकेर यातना दिईएको थियो ।
यातनाकै क्रमममा उनका अघिका सबै दाँतसमेत झरेका उनीसँगै आन्दोलनमा सहभागी कान्छा आन्दोलनकर्ता पद्मसिँह विश्वकर्माले बताएका थिए । विभिन्न नामुद पण्डितसहित बडा हाकिमले जेलमा उनलाई भिडाएका थिए तर उनको अघि कोही पनि टिक्न सकेनन् । उनले धर्ममा भएका सबै व्यवस्था फेहरिस्त बताउँदा नामुद पण्डितहरु पनि तै चुप मैचुप भएका थिए । उनले बडाहाकिमसँग दलित समुदायको मुक्ति र मर्यादासहित आत्मसम्मानका लागि आत्मशुद्धीका लागि आव्हान गरेका थिए । सौलीडोली, भातभान्सा सबै सराबरी हुन पाउने नारा लगाएर जनै धारण गर्न पाउनुपर्ने र शिक्षादिक्षा ग्रहण गर्न पाउनुपर्ने माग राखेका थिए ।
तत्कालिन दलित आन्दोलनलाई अझै सशक्त रुपमा अघि बढाउनका लागि भन्दै उनी छोरासहित भारतमा निर्वासित भएका थिए । उनको भारतमै २०१२ सालमा निधन भएको थियो । २००३ सालमा एक विशेष जात सँगठन भएर संगठित रुपमा सुरु गरेको आन्दोलन २००४ सालमा पुग्दा पहाडका सबै दलितहरु संगठनमा बस्न सक्ने भए । नेपालमा राणाविरुद्ध कांग्रेस नलाग्दै वा दलहरु निर्माण नहुँदै दलितका अगुवा भगत सर्वजितले यति ठुलो साहस देखाएका थिए ।
सर्वजितको योगदानलाई सम्मान गर्दै माधवकुमार नेपाल नेतृत्वको सरकारका सञ्चार मन्त्री शंकर पोखरेलले हुलाक टिकटमा भगत सर्वजितको तस्बिर अँकित टिकट सुरु गराएका थिए । त्यस्तै, भगत सर्वजित मानव मर्यादा राष्ट्रिय पुरस्कार स्थापना गरिएको थियो । नेपाल सरकारको नीति तथा कार्यक्रममा समेटी भगत सर्वजित शिल्प विकास केन्द्र स्थापना गरि परम्परागत पेशाको आधुनिकरण गर्न करिव ५० लाख बजेट विनियोजन गरिएको थियो ।
बागलुङ, बुटबल लगाएतका ठाउँमा भगत सर्वजितको सम्झनामा प्रतिष्ठान स्थापना गरि विभिन्न कार्यहरु गरिदै आएको छ । बागलुङ नगरपालिका तथा प्रदेश सरकारको सहयोगमा भगत सर्वजित प्रतिष्ठानको भवन बनाउन १० लाख बजेट छुट्याइएको छ । त्यस्तै, भगत सर्वजित आयआर्जन कार्यक्रममार्फत विभिन्न सिपमुलक कार्यक्रम पनि सन्चालन गरिदै आएको ।
(सिंह भगत सर्वजित विश्वकर्मा प्रतिष्ठान बागलुङका संस्थापक सचिव र आजिवन सदस्य हुन् ।)





