सोमबार, भाद्र ८ २०८३

सोमबार, भाद्र ८ २०८३
  • ८ भाद्र २०८३ , सोमबार
  • August 24 2026

ताराखोलाको नीति तथा कार्यक्रम: रोजगारी सिर्जनामा जोड, कृषिमा आधुनीकिकरण

ताराखोलाको नीति तथा कार्यक्रम: रोजगारी सिर्जनामा जोड, कृषिमा आधुनीकिकरण

सडकका नयाँ ट्रयाक खोल्न प्रतिबन्ध


  • ढोरपाटन संबाददाता
  • असार ३ २०७७, बुधबार

बागलुङ, ३ असार– बागलुङको ताराखोला गाउँपालिकाले आगामी आर्थिक बर्षको नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । बुधबार गाउँपालिकाका अध्यक्ष प्रकाश घर्तिले गाउँसभामा नीति तथा कार्यक्रम प्रस्तुत गरेका हुन् ।
गाउँपालिकाले आगामी आर्थिक बर्षमा कृषिमा आधुनिकीकरण र घरेलु तथा साना उद्योगको प्रबद्र्धनमार्फत आर्थिक उन्नयनको बाटो अपनाईने नीति लिएको छ । हरेक वडामा ‘एक गाउँ एक कृषि फार्म’ कार्यक्रम सञ्चालन गर्ने नीति गाउँपालिकाले लिएको छ । कृषिमा अनुदान र आधुनिक प्रबिधिको प्रयोग गरेर उत्पादन बढाउन गाउँपालिकाले नीतिगत व्यवस्था गर्ने कार्यक्रममा उल्लेख गरेको छ ।
स्थानीय स्लेट ढुंगा, तामालगायतका खानी सञ्चालनको लागि प्रोत्साहन गर्ने नीति गाउँपालिकाले लिएको छ । पर्यटनमा पूर्वाधार निर्माण र प्रचार प्रसारका कार्यक्रम ल्याईने उल्लेख छ । आर्थिक उन्नती र सामाजिक बिकासलाई जोड्न गाउँपालिकाले पर्वहरुको संरक्षण र प्रबद्र्धन गर्ने नीति लिएको घर्तिले उल्लेख गरे ।
पर्यटक भित्राउनका लागि होमस्टेको स्थापना र व्यवस्थापनमा जोड दिने, क्षमता बृद्धि गर्ने, पुराना संस्कृति हस्तान्तरणका लागि युवा पुस्तालाई तालिम दिने, पर्यटनमा गौरवका योजना सञ्चालन गर्ने, दुरुलेकमा पार्क स्थापनाको सम्भाव्यता अध्ययन गरी पर्यटकीय क्षेत्रको रुपमा बिकास गर्ने नीति लिईएको अध्यक्ष घर्तिले बताए ।
पूर्वाधार बिकासमार्फत आर्थिक गतिविधि सञ्चालन गर्ने नीति गाउँपालिकाले बनाएको छ । गाउँपालिकाभित्र निर्माण हुने सबै सडक प्रदेश र संघ सरकारसँगको सहकार्यमा गर्ने नीति तथा कार्यक्रममा उल्लेख छ ।
सडकका नयाँ ट्रयाक खोल्न प्रतिबन्ध
गाउँपालिकाले सार्वजनिक गरेको आगामी बर्षको नीति तथा कार्यक्रममा सडकका नयाँ ट्रयाक खोल्ने कामलाई पूर्ण प्रतिबन्ध लगाईएको छ । अत्यावश्यक रहेको पुष्टि भएमा मात्रै नयाँ सडक बनाउने र नभए बनेकै सडकलाई बाह्रै महिना चल्न सक्ने बनाईने नीति गाउँपालिकाले लिएको छ ।
घुस्मेली घाटमा पक्कि पुल निर्माणको काम यसैबर्ष सम्पन्न गर्ने बाँकी केही ठाउँहरुमा पुल निर्माणको काम थाल्ने गाउँपालिकाले जनाएको छ । अति विपन्न परिवारको लागि ‘दलितसँग गाउँपालिका’ कार्यक्रम, एकिकृत बस्ती बिकासका लागि सम्भाव्यता अध्ययन, बिद्युतबाट आउनेलाई रकमलाई गरिबी निवारणमा खर्च गर्ने कार्यक्रम गाउँपालिकाले ल्याएको छ ।
बिद्यालय अनुदान, शिक्षकको क्षमता बृद्धि, अभिभावकबिहिनलाई आवासिय व्यवस्था, विद्यालयहरुमा भवन निर्माण थालिने नीति तथा कार्यक्रममा उल्लेख छ । आगामी आर्थिक बर्षमा क्याम्पस सञ्चालनका लागि सम्भाव्यता अध्ययन थाल्ने कार्यक्रम रहेको छ ।
द्धन्द्ध पीडितलाई उच्च शिक्षाका लागि प्रेरित गर्ने, माध्यमिक तहमा उत्कृष्ट अंक ल्याउने एक÷एक जनालाई पुरस्कार वितरण गर्ने, गाउँपालिकामा लगानी कोषको स्थापना गर्ने, बिदेशबाट आएकालाई लगानीमार्फत रोजगारी सिर्जना गर्ने, बिदेशमा रहेकालाई लगानी गर्न प्रोत्साहन गर्ने नीति गाउँपालिकाले लिएको छ । कोभिड–१९ सँग जुध्न निशुल्क स्वास्थ्य सेवा प्रभावकारी बनाईने, स्वास्थ्यचौकी तारागाउँलाई सञ्चालनमा ल्याउने, १५ शैयाको अस्पताल बनाउन पहल गर्ने, सबै स्वास्थ्य चौकीमा ल्याव स्थापना गर्ने, क्वारेन्टाईनलाई व्यवस्थित बनाउने, स्वास्थय सुरक्षा सामग्री पर्याप्त बनाउने र स्वास्थ्यकर्मीको बिमा गर्ने नीतिमा उल्लेख छ ।
राजश्वको दायरा बढाउने, सम्पत्ती कर लागु गर्ने, करार कर्मचारीलाई योगदानमा आधारित कल्याणकारी कोष स्थापना गरेर कर्मचारीलाई प्रोत्साहन गर्ने नीति गाउँपालिकाले लिएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->