बागलुङ, २ असार– गत बर्ष समपुरक कोषमार्फत सञ्चालन हुने योजनामा सहभागी बन्न नसकेको बागलुङको ताराखोला गाउँपालिका यो बर्षदेखि सहभागी हुँदैछ । साझेदारी गर्नुपर्ने संघ र प्रदेशको समपुरक कोषमा सहभागी बनेर रोजगारी सिर्जना र पूर्वाधार बिकास हुनेखालका योजना सञ्चालन गर्नेमा गाउँपालिका छ । बुधबार आगामी आर्थिक बर्षको नीति तथा कार्यक्रम सार्वजनिक गर्ने योजना बनाएको गाउँपालिकाले कृषि, स्वास्थ्य र रोजगारी प्राथमितामा राखेको छ ।
नीति तथा कार्यक्रमकै आधार बन्ने ताराखोला गाउँपालिकाको बजेटले कोरोना महामारीसँगको संघर्ष र त्यसको प्रभावले कम भएका आर्थिक गतिविधि बढाउन सहयोग गर्ने कार्यक्रमलाई सम्बोधन गर्ने गाउँपालिकाले जनाएको छ । गत बर्षभन्दा बजेटको आकार बढाउने योजनामा रहेको गाउँपालिकाले बिकासे योजना भने कटौती गर्दैछ । ‘ससर्तमा धेरै खर्च हुन्छ, बहुबर्षे योजनाले निरन्तरता पाउँछन् तर नयाँ आकर्षक योजना ल्याउने सोँच छैन्’ अध्यक्ष प्रकाश घर्तिले भने ‘स्थानीय स्रोत सुक्यो, प्रदेश र केन्द्रले ससर्तको रकम बढी पठाएको छ ।’
संघीय र प्रदेश सरकारले बजेट ल्याएपछि स्थानीय सरकार सञ्चालन ऐनमा व्यवस्था भएअनुसार असारको १० गतेभित्रै नीति तथा कार्यक्रम ल्याउने कसरतमा बागलुङका स्थानीय तह छन् । टोलभेला, कार्यपालिकाका बैठकदेखि सरोकारवालासँगको छलफलको काम चलिरहेको छ ।
जिल्लाको काठेखोला गाउँपालिका कोरोना महामारीको नियन्त्रण र रोकथामलाई प्राथमिकतामा राखेर नीति बनाउँदै छ । संघ र प्रदेशले दिने बजेटको टुंगो लागेपछि गाउँपालिकाले माटो सुहाउँदो कार्यक्रम बनाउने क्रममा रहेको गाउँपालिका अध्यक्ष अमर थापा बताउँछन् । ‘माथिबाट बजेट त आयो तर हामीले सबै शिर्षकलाई विश्वास गरेर बजेटको आकार बढाउँदैनौं’ थापाले भने ‘गतबर्ष राजश्व बाँडफाँडमा आएको ७ करोडमध्ये ३ करोड मात्रै आयो, योजना बनाउने पुरा नहुने अवस्था आउने भो ।’
काठेखोलाले यसबर्षको बजेटमा राजश्व बाँडफाँडअन्र्तगत पाउने रकमलाई पालिकाको बजेटमा समावेश नगर्ने भएको छ । ‘पछि यदि आयो भने हिउँदे अधिबेशनमा छलफल गर्छौं’ थापाले भने ‘भर नभएको शिर्षकको रकम हाम्रो बजेटमा समाबेश हुन्न ।’ आन्तरिक राजश्वको स्रोतसमेत साँघुरिएकाले बजेटको आकार र कार्यक्रम सबै साँघुरीने उनले बताए ।
गत बर्ष एक अर्ब माथिको बजेट ल्याएको बागलुङ नगरपालिकाले यो बर्ष पनि त्यो भन्दा माथीको बजेटको तयारी थालेको छ । नीति तथा कार्यक्रममा रोजगारी सिर्जना हुने र आर्थिक गतिविधि सञ्चालनमा टेवा पुग्ने कार्यक्रम समावेश गर्न छलफल चलाईरहेको नगरले कृषिमा व्यवसायीकरणलाई जोड दिने योजनामा छ । बजेटको बढ्ने आकारका लागि यहाँ सञ्चालन हुने ठुला आयोजनाहरुले सहयोग गर्नेछन् तर बिगतमा भन्दा फरक र आकर्षक कार्यक्रम भने बागलुङले पनि ल्याउने छैन् ।
शिक्षा, स्वास्थ्य र कृषिमा ससर्तको अनुदान बढेको र आन्तरिक राजश्व असुली घट्ने भएकाले क्रमागत योजनालाई निरन्तरता दिँदै संघ तथा प्रदेशका ठुला योजनामा सघाउने मनस्थितीमा नगरपालिका छ । ‘ढल निकास, प्राणी उद्यान पार्क, खानेपानी लगायतका ठुला आयोजना स्वीकृत भएका छन्, स्वभाविक हिसावले बजेटको आकार बढ्छ’ नगर प्रमुख जनकराज पौडेलले भने ‘तर ठुला आयोजनामार्फत रोजगारी सिर्जना हाम्रो प्राथमिकतामा पर्छन् ।’
बजेटको आकार बढाएर पूर्वाधार बिकासको काम घटाउने योजनामा रहेको जैमिनी नगरपालिकाले बाँझो जमिनको उपयोग र कृषिजन्य उतपादन बढाउने कार्यक्रम तय गर्दै छ । महामारीको नियन्त्रणमा पुजिँगत खर्च गर्दासमेत आर्थिक बृद्धि हुनेगरी खर्चको बाटो खोजेको नगरप्रमुख इन्द्रराज पौडेल बताउँछन् । ‘हामीले बजेटलाई बढाउँछौं, स्रोत त बढ्नेखालका छैनन् तैपनि हाम्रो प्रयास रहन्छ’ पौडेलले भने ‘यो बर्षको बजेटले उत्पादन बढाउने कुरालाई नमुनाकै रुपमा जानेगरी जोड दिन्छ ।’
आन्तरिक स्रोतको बाटो कठिन हुँदाहुँदै पनि जैमिनीले त्यसको आकार समेत बढाउने चाहना राखेको छ । कोरोना कहरका कारण देश तथा विदेशमा रहेका युवा गाउँ फर्केकाले युवा शक्तिको सदुपयोग गर्ने योजनामा जैमिनी छ । आत्मनिर्भर बनाउन कृषि तथा पशुपालनमा अनुदान, विदेशबाट फर्किएका युवा लक्षित कार्यक्रम ल्याउन लागिएको बागलुङका स्थानीय तहले जनाएका छन् ।
बागलुङका ढोरपाटन र गलकोट नगरपालिका, बरेङ, बडिगाड, निसीखोला, तमानखोला तथा बडिगाड गाउँपालिकाले पनि उत्पादन मुलक क्षेत्रमा अनुदानका कार्यक्रमसहितको तयारी थालेको जनाएका छन् ।
कृषि, पर्यटन र पूर्वाधार निर्माणलाई प्राथमिकतामा राखी बजेटको तयारी ढोरपाटन नगरपालिकाले गरेको छ । चालु आर्थिक बर्षमा सञ्चालन भएका बहुबर्षे कार्यक्रमलाई निरन्तरता दिएर टुक्रे योजना भन्दा ठुला योजना सञ्चालन गर्ने र रोजगारी सिर्जना गर्ने योजनामा बागलुङका स्थानीय तह छन् ।





