बागलुङ, २ असार– लकडाउन खुकुलो भएसँगै सञ्चालनमा आएका बागलुङका सहकारीहरुले आफ्ना लाभग्राही र शेयर सदस्यहरुका लागि धमाधम प्याकेज सार्वजनिक गर्न थालेका छन् । ठुलो लगानी रहेका र शेयर सदस्यको संख्यासमेत धेरै रहेका सहकारीले शेयर सदस्यको बिमादेखि समयमा कर्जा भुक्तानी गर्दा छुट दिने सम्मका कार्यक्रम ल्याएका हुन् । लकडाउनको समयमा कारोवार नभएका आफ्ना ग्राहक र शेयर सदस्यलाई कारोवारसँग जोड्न सहकारीहरुले फरक फरक तरिका अवलम्बन गरेका छन् ।
गण्डकी प्रदेशको पुरानो कालिका सहकारी संस्था लि. बागलुङले लकडाउन अबधि ४ महिनाको ब्याज तिर्ने शेयर सदस्यलाई १२ प्रतिशत छुट दिने निर्णय गरेको छ । उसले असार मसान्तसम्म व्याज भुक्तानी गराउनका लागि १२ प्रतिशत छुटको आकर्षक प्याकेज ल्याएको हो । कोरोना महामारीका कारण भैरहेको लकडाउनमा व्यवसाय ठप्प भएका शेयर सदस्यहरुले पनि असार मसान्तसम्मको व्याज भुक्तानी गर्नुपर्छ । असार मसान्तसम्म ब्याज भुक्तानी गरेमा चैत, बैशाख, जेठ र असारको जम्मा व्याजमा १२ प्रतिशत छुट गर्ने निर्णय गरेको सहकारीका सचिव भुपाल चालिसे बताए ।
एकता सहकारी संस्था बागलुङले संस्थाका शेयर सदस्य तथा सदस्यको परिवारका लागि कोरोना बीमा गर्न शुरु गरेको छ । शेयर सदस्यहरुलाई खुसी पार्न सहकारीले नयाँ तरिका अपनाएको हो । एकताले ३ महिनादेखि ९९ वर्ष सम्मका शेयर सदस्यहरुलाई कोरोना बिमामा सहभागी गराउँदै छ । संस्थागत रुपमा बिमा गर्दा सस्तो पर्ने भएकाले सहकारीले सबै शेयर सदस्यको कोरोना बिमा गर्न थालेको अध्यक्ष ध्रुव प्रसाद शर्माले बताए ।
कोरोनाको जोखिम कम गर्न र भैपरि आउने जोखिमसँग जुध्न कार्यक्रम तय भएको उनले बताए । सहकारीले कर्जा लिई कारोबार गर्ने शेयर सदस्यहरुलाई कर्जामा छुट र निक्षेप बचतमा ब्याजदर प्रदान गर्ने कार्यक्रमसमेत बनाएको छ । कर्जा नतिरेका शेयर सदस्यले चैत यताको जरिवाना तिर्नुनपर्ने निर्णय सकारीले गरेको छ । असार मसान्तसम्म ब्याज भुक्तानी गर्ने शेयर सदस्यलाई वैशाख र जेठको ब्याजमा १० प्रतिशत, असारको ब्याजमा साँवाको २ प्रतिशत ब्याज छुट गरिने संस्थाका प्रबन्धक राजभण्डारीले जानकारी दिए ।
उता, बलेवा एकता बचत तथा ऋण सहकारी संस्थाले पनि कर्जाको व्याज भुक्तानीमा दश प्रतिशत छुटको व्यवस्था गरेको छ । लकडाउनको अबधिमा व्याज भुक्तानी गर्नेलाई छुटको व्यवस्था मिलाईएको संस्थाका प्रबन्धक भरत पौडेलले बताए । बागलुङका अधिकांश सहकारी संस्थाहरुले असार मसान्तभित्रै कर्जाको व्याज भुक्तानीका लागि नयाँ–नयाँ तरिका अपनाईरहेका छन् । सहकारीबाट कर्जा लिएर व्यवसाय गरेकाहरुले भने लकडाउनमा ठप्प रहेको व्यवसायले एकै पटक चारपाँच महिनाको व्याज भुक्तानी गर्न नसक्ने जनाएका छन् ।





