बागलुङ, ४ असार– बागलुङको काठेखोला गाउँपालिका–५ बिहुँ दोबिल्लाको एक परिवारलाई बागलुङबाट रोजगारीको शिलशिलामा विदेशमा रहेका नेपालीहरुले आर्थिक सहयोग गरेका छन् । आर्थिक अवस्था कमजोर भएका तारा प्रसाद शर्माको परिवारलाई अमेरिका र हङकङमा रहेका बागलुङेहरुले आर्थिक सहयोग गरेका हुन् ।
अमेरिकामा रहेका सुनील लामिछाने, सुनील जिसी, डा. धनवहादुर खड्का, सुस्मा लामिछाने खड्का, मनबहादुर खड्का, सुरेन्द्र कँडेल र बाबुराम कँडेल तथा हङकङमा रहेका सुवास लामिछानेले शर्मा परिवारलाई १ लाख ३८ हजार २ सय रुपैयाँ आर्थिक सहयोग गरेका हुन् । उनीहरुले नेपाल रेडक्रस सोसाईटी बागलुङ शाखामार्फत रकम उपलव्ध गराएका हुन् ।
उनीहरुले जम्मा गरि पठाएको रकम नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखा बागलुङका सभापति जब्बर बहादुर लामिछानेले हस्तान्तरण गरेका थिए । रकम हस्तान्तरण गर्दै उनले सहयोग गर्नेलाई धन्यवाद दिए । एक मात्रै छोरा रोजगारीको शिलशिलामा मृत्यु भएपछि बेसहारा बनेको शर्माको परिवारलाई विदेशमा रहेका उनीहरुले सहयोग गरेका हुन् ।





