बुधबार, कार्तिक ४ २०८३

बुधबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , बुधबार
  • October 21 2026

बरेङको बजेट ३४ करोड, खाजा खाना खर्चमा कटौती

बरेङको बजेट ३४ करोड, खाजा खाना खर्चमा कटौती

बजेटको पूर्णपाठ


  • ढोरपाटन संवाददाता
  • असार ५ २०७७, शुक्रबार

बागलुङ, ५ असार – बागलुङको बरेङ गाउँपालिकाले आगामी आर्थिक वर्षका लागि नीति कार्यक्रम र बजेट सार्वजनिक गरेको छ । शुक्रबार सातौं गाउँसभामा अध्यक्ष कृष्ण प्रसाद शर्माले नीति तथा कार्यक्रम र उपाध्यक्ष डिलकुमारी पुनले आगामि आर्थिक बर्षको बजेट प्रस्तुत गरेका हुन् । कोभिड–१९ संघर्षका कार्यक्रम, कृषि स्वास्थ्य शिक्षा र रोजगारीका कार्यक्रमलाई जोड दिँदै गाउँपालिकाले आगामि आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ । गाउँपालिका भित्र रहेका खेतियोग्य जमिनको चक्लावन्दी गरी भूमि बैंक स्थापनाका लागि नीति तथा कार्यक्रमले जोड दिएको छ । त्यस्तै कृषि उत्पादन तथा उत्पादकत्व बृद्धिकालागि किसानलाई बीउ र प्रबिधिमा अनुदान दिने कार्यक्रम गाउँपालिकाले ल्याएको छ । कोरोनाका कारण विदेशबाट आएकारुको व्यवस्थापन, पशुपालनमा जोड, टुक्रे योजनालाई निरुत्साहित गर्ने र ठुला योजनामा जोड दिने नीति गाउँपालिकाले लिएको छ । शिक्षामा गाउँपालिका भित्रका दुई सामुदायिक माध्यमिक विद्यालयलाई सुधार गर्ने, स्वास्थ्य क्षेत्रमा पूर्वाधारको विकास गर्दै १५ शैयाको अस्पताल बनाउने नीति अध्यक्ष शर्माले गाउँसभामा प्रस्तुत गरेका छन् । शुक्रबारनै नीति तथा कार्यक्रम गाउँसभाबाट पारित भएको छ ।
बरेङको बजेट ३४ करोड
गाउँपालिकाले आगामि आर्थिक बर्षका लागि ३४ करोड रुपैयाँको बजेट सार्वजनिक गरेको छ । उपाध्यक्ष डिलकुमारी पुनले शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन र रोजगारी सिर्जनमा जोड दिईएको बजेट सातौं गाउँसभामा प्रस्तुत गरेकी हुन् । गाउँपालिकाले आगामि आर्थिक वर्षमा पूँजिगत तर्फ ४२.६७ प्रतिशत अर्थात १४ करोड, ९२ लाख ८० हजार रुपैयाँ बिनियोजन गरेको छ । चालु खर्चतर्फ ५७.३३ प्रतिशत अर्थात २० करोड ५ ला ९० हजार रुपयाँ अनुमानित बजेट बिनियोजन गरेको उपाध्यक्ष पुनले जानकारी दिइन् । आगामी आर्थिक वर्षमा गाउँपालिकाले स्वास्थ्य क्षेत्रको लागि ६७ लाख रुपैयाँ बिनियोजन गरेको छ । ६ लाख रुपैयाँ सामुदायीक औषधि कार्यक्रमका लागि नयाँ योजना बजेटमा समाबेश भएको छ । सल्यान सुखौरा सडक स्तरोन्नतिको लागि १ करोड, गाउँपालिकाको गौरवको आयोजनाका रुपमा रहेको रिङरोड सडकका लागि ५० लाख रुपैयाँ बिनियोजन भएको छ । साना केही सडक सुधारका लागि बजेटको व्यवस्था भएको भएपनि नयाँ सडकमा भने यो वर्ष गाउँपालिकाले रकम बिनियोजन गरेको छैन् । खानेपानीतर्फ एक घर एक धारा कार्यक्रमलाई निरन्तरता दिइएको छ । गर्भवती र सुत्केरी पोषणको कार्यक्रमले पनि निरन्तरता पाएको छ । सहरी बिकास कार्यक्रमअन्तरगत बरेङ बजारको सुधार बिस्तारका लागि गाउँपालिकाले २ करोड रुपैयाँ बजेट बिनियोजन गरेको छ । कृषिमा आधुनिकिकरणका लागि ‘मेरो किसान मेरो अन्नदाता’ कार्यक्रम सञ्चालनमा आउने भएको छ । किसानलाई प्रबिधि र उपकरण वितरणका लागि ७२ करोड ४५ लाख रुपैयाँ बिनियोजन भएको छ । गाउँपालिका भित्र दुइवटा कृषि उपज केन्द्र स्थापनाका लागि दश लाख रुपैयाँ बिनियोजन गरेको उपाध्यक्ष पुनले जानकराी दिईन् । सहकारी, वन, पर्यटन लगायतका क्षेत्रमा समेत प्राथमिकताका साथ बजेट बिनियोजन भएको छ । गाउँपालिका अध्यक्ष शैक्षिक सुधार कार्यक्रमका लागि १० लाख, सबै शैक्षिक क्षेत्रको पूर्वाधार विकासका लागि १ करोड ३७ लाख रुपैयाँ बिनियोजन भएको छ । गाउँ शिक्षा सुधार कार्यक्रमका लागि ९१ लाख ७० हजार, गाउँ पालिका शिक्षक कार्यक्रमको लागि १२ लाख रुपैयाँ बजेट बिनियोजन भएको छ । जेष्ठ नागरिक, अपांगता भएका र बालाबालिकाका लागि पनि बजेटले सम्बोधन गरेको छ । गाउँपालिका अध्यक्ष सामाजिक सुरक्षा कार्यक्रम सञ्चालन गर्ने बिनियोजन बिद्येयकमा उल्लेख छ ।
बजेटले स्रोत व्यवस्थापन र मितव्ययीताका लागि गाउँपालिकामा हुने खाजा खाना खर्चमा कटौती गर्ने भएको छ । कोभिड–१९ सँग जुध्नका लागि हुने खर्चले देखा पर्ने बित्तिय समस्या सामाधानका लागि खाजा खानाको खर्च कटौती गर्ने बजेटमा उल्लेख छ । करार तथा अस्थाई कर्मचारीको बीमा, कर्मचारी कल्याण कोष स्थापना लगायतका कार्यक्रम बिनियोजनमा उल्लेख छन् । गाउँपालिकाले आगामी आर्थिक वर्षमा आन्तरिक राजश्व संकलन २० लाख हुने अनुभान गरेको छ । करको आधार बृद्धिको नीति लिइएको भन्दै केही सिफारिस हरुमा लिँइदै आएको राजश्व कटौतीको घोषणा समेत बजेटले गरेको छ

यस्तो रहेको बजेटको पूर्णपाठ

गाउँसभाका आदरणीय अध्यक्षज्यू,
गाउँसभाका सदस्य ज्यूहरु,

१. कोभिड–१९ नामको कोरोना भाइरसवाट सिर्जित विश्वव्यापी महामारीले सिर्जना गरेको चुनौतीपूर्ण परिस्थिति र बन्दावन्दी बीच आज नेपालको संविधान वमोजिम गठित स्थानीय सरकारको तर्फबाट आर्थिक वर्ष २०७७÷७८ को वजेट यस सम्मानित सभा समक्ष पेश गर्दछु ।
२. सर्वप्रथम, संघीय लोकतान्त्रिक गणतन्त्रको उज्यालो युगतर्फ पुर्याउने क्रममा जीवन उत्सर्ग गर्नुहुने सम्पूर्ण महान शहिदहरुप्रति हार्दिक श्रद्धासुमन अर्पण गर्दछु ।यस क्षणमा वेपत्ता तथा घाइते योद्धाहरु र उहाँहरुको परिवारजन लगायत आम जनसमुदायमा उहाँहरुको अभूतपूर्व योगदान प्रति हार्दिक सम्मान प्रकट गर्दै नमन गर्न चाहन्छु । यसैबीचमा गाउँसभाले गाउँसभा सदस्य, वडा नं. ३ का वडा अध्यक्ष तथा न्यायिक समितिका सदस्य समेत रहनु भएका जनसेवामा प्रतिवद्ध नेता पुर्न वहादुर खनाललाई गुमाएको छ । उहाँप्रति भावपूर्ण श्रद्धान्जली अर्पण गर्दछु ।
३. कोभिड–१९ का कारण विश्वभर संकट पैदा हुनुका साथै उल्लेख्य रुपमा जनधनको क्षति भएको छ । नेपालमा संक्रमण फैलन नदिन गरिएको बन्दाबन्दी बीचमा हाम्रो गाउँपालिकामा भारतवाट आएका नागरिकहरुमा संक्रमण देखिन थालेको छ । यस महामारीका कारण स्वदेश तथा विदेशमा जीवन गुमाउनुहुने नेपालीलगायत विश्वभरका नागरिकहरुप्रति श्रद्धान्जली व्यक्त गर्दै शोकाकुल परिवारजनमा समवेदना व्यक्त गर्दछु । यस वरेङ गाउँपालिका लगायत नेपालभर र विदेशमा समेत उपचाररत दिदीबहिनी तथा दाजुभाइहरुको शीघ्र स्वास्थ्य लाभको कामना गर्दछु ।
४. संघ, प्रदेश र स्थानीय तहवीचको सहकारिता, सहअस्तित्व र समन्वय लाई प्रवर्द्धन गर्दै जनसहभागिता, उत्तरदायित्व, पारदर्शिता सुनिश्चित गरी सुलभ र गुणस्तरीय सेवा प्रवाह गरी सिंहदरवार गाउँमै आएको अनुभूति जनतालाई दिनुपर्ने अवसर,दायित्व र चुनौती हामी माझ आएको छ ।
५. आगामी आर्थिक वर्षको बजेट तर्जुमा गर्दा मैले यो वर्ष सम्म हाँसिल भएका उपलव्धिहरु संस्थागत गर्दै जनप्रतिनिधमूलक लोकतान्त्रिक पद्धतिबाट नेपाली नागरिकले खोजेको सेवा, चाहेको विकास र परिकल्पना गरेको समतामूलक समाजको निर्माण गर्ने प्रणालीबाट निर्देशित हुँदै समाजवाद उन्मुख उदीयमान गाउँपालिकाको रुपमा स्थापित गर्न यो बजेट केन्द्रित गरेको छु ।
६. बजेट तर्जुमा गर्दा मैले मूलतस् नेपालको संविधान र कानूनहरु, नेपाल सरकार तथा प्रदेश सरकारको नीति, कार्यक्रम तथा बजेट वक्तव्य, विनियोजन विधेयक, २०७७ को सिद्धान्त र प्राथमिकता, निर्मित विविध कानुनहरु, गाउँकार्यपालिकाका निर्णयहरु तथा दीगो विकास लक्ष्यलाई मुख्य आधार बनाएको छु ।साथै, विभिन्न क्षेत्रका सरोकारवालाबाट प्राप्त हुन आएका महत्वपूर्ण सुझावलाई समेत बजेट निर्माण गर्दा विशेष ध्यान दिएको छु ।
७. स्थानीय सरकारको आन्तरिक स्रोत, नेपाल सरकार र प्रदेश सरकारबाट हस्तान्तरित अनुदान तथा राजस्व बाँडफाँडलाई मुल आधार मानी यो बजेट तथा कार्यक्रम तर्जुमा गरेको छु । साथै,यस बजेटमा गाउँपालिकाको आफ्नो क्षेत्राधिकारभित्र कर तथा गैर कर राजस्व परिचालन र व्यवस्थापनलाई प्राथमिकतामा राखेको छु ।
८. अनुत्पादक तथा अनावश्यक खर्च घटाउने, पुँजीगत बजेटको अंश बढाउने र चालु खर्चमा मितव्ययिता ल्याउने गरी बजेट प्रस्ताव गरेको छु । साथै कार्यक्रमको छनौट, साधन स्रोतको बाँडफाँड र विनियोजनमा देखिने दोहोरोपनलाई न्यूनीकरण गर्न प्रशासनिक तथा प्राविधिक क्षमता,स्रोत तथा विनियोजनका वीचमा सन्तुलन कायम हुने गरी स्रोत व्यवस्थापन गर्ने व्यवस्था मिलाएकोछु ।
९. समाजवादउन्मुख अर्थतन्त्रको निर्माण,परिपूरक कानुन तर्जुमा,भौतिक पूर्वाधारको निर्माण र व्यवस्थापन, आन्तरिक स्रोतको आधार विस्तार,उत्पादन र उत्पादकत्व बृद्धि,आयोजनाको प्राथमिकीकरण,असल शासन प्रवर्द्धन र अन्तरसरकारी समन्वय हाम्रो सरकारको प्रमुख चुनौती रहेका छन् ।
सभाका अध्यक्षज्यू,
सभाका सदस्यज्यूहरु,
१०. अव म आगामी आर्थिक वर्ष २०७७÷७८ को वजेटका उद्देश्य तथा प्राथमिकता प्रस्तुत गर्ने अनुमति चाहन्छु । बजेटका उद्देश्यहरु निम्न अनुसार रहेका छन् ।
क) कोरोना भाइरस रोगको रोकथाम, नियन्त्रण र उपचारको प्रभावकारी व्यवस्थापन गर्नु,
ख) संकटग्रस्त अर्थतन्त्रलाई चलायमान र गतिशील बनाउनु,
ग) जनसहभागिता, उत्तरदायित्व, पारदर्शिता सुनिश्चित गरी सुलभ र गुणस्तरीय सेवा प्रदान गर्नु,
घ) लोकतन्त्रका लाभहरुको समानुपातिक समावेशी र न्यायोचित वितरण गर्नु,
ङ) कानुनी राज्य र दिगो विकासको अवधारणाअनुरुप समाजवादउन्मुख संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन प्रणालीलाई स्थानीय तहदेखि नै सुदृढीकरण गर्नु,
च) स्थानीय नेतृत्वको विकास गर्दै स्थानीय शासन पद्धतिलाई सुदृढ गर्नु,
छ) स्थानीय तहमा विधायिकी,कार्यकारिणी र न्यायिक अभ्यासलाई संस्थागत गर्नु ।

११. आगामी आर्थिक वर्षको बजेटमा देहायका क्षेत्रमा लगानीलाई उच्च प्राथमिकता दिएको छु ।
क) कोभिड–१९ को महामारीबाट जनताको जीवन रक्षा गरी जनजीवनलाई सुरक्षित र सहज बनाई सुरक्षित राख्न क्वारेन्टिन एवं आइसोलेसन व्यवस्थापन,अत्यावश्यक औषधि, स्वास्थ्य सामग्री एवं उपकरणको उपलब्धता, परिक्षणको दायरा विस्तार र उपचारको व्यवस्था मिलाउने ,
ख) सडक तथा पुल (झोलुङ्गे पुल समेत), सिंचाई, भवन तथा शहरी विकास, उर्जा, लघु तथा साना जलविद्युत, सञ्चार क्षेत्रको विकास मार्फत पूर्वाधार विकास गर्ने,
ग) कृषि, पर्यटन, उद्योग तथा वाणिज्य, सहकारी, वित्तीय क्षेत्रको विकास मार्फत आर्थिक विकास गर्ने,
घ) शिक्षा, स्वास्थ्य, खानेपानी तथा सरसफाई, सँस्कृति प्रवर्द्धन, लैङ्गिक समानता तथा सामाजिक समावेशीकरण को विकास मार्फत सामाजिक विकास गर्ने,
ङ) वन, वातावरण तथा विपद् व्यवस्थापन गर्ने,
च) शासकीय सक्षमताको विकास गरी सुशासन र सदाचार प्रवर्द्धन गर्ने ।
सभाका अध्यक्ष महोदय,
सभाका सदस्यज्यूहरु,
अव म चालु आर्थिक वर्ष २०७६÷७७ को आय व्ययको यथार्थ स्थिति प्रस्तुत गर्न चाहन्छु ।
१२. चालु आर्थिक वर्षमा रु १९ लाख राजस्व परिचालन हुने अनुमान रहेकोमा चालु आर्थिक वर्षको असार मसान्त सम्म अनुमानित आन्तरिक आयको प्रक्षेपण अनुरुप राजस्व संकलन भै सकेको छ । त्यसैगरी चालु आर्थिक वर्षको जेष्ठ मसान्त सम्म नेपाल सरकारबाट वित्तीय समानीकरण अनुदान बापत रु ३ करोड ६३ लाख र संघीय राजस्व वाँडफाँडबाट रु २ करोड ८४ लाख ३४ हजार सत्तरी रुपैया आय प्राप्त भएको छ । त्यस्तै प्रदेश वित्तिय समानीकरण अनुदानवापत रु ९० लाख ८५ हजार पाँच सय आय प्राप्त भएको छ । प्रदेश राजस्व बाँडफाँड बाट प्राप्त हुने आय ज्येष्ठ मसान्त सम्म प्राप्त हुन आएको छैन ।
१३. चालु आर्थिक वर्षको नेपाल सरकार,सशर्त अनुदान तर्फ रु ७ करोड २७ लाख ८० हजार रुपैया प्राप्त भएको छ। त्यस्तै सामाजिक सुरक्षा भत्ता बापत रु ५ करोड ४० लाख ८१ हजार रुपैया प्राप्त भएको छ ।
१४. अनुदान तथा राजस्व बाँडफाँडका अतिरिक्त झोलुङ्गे पुल निर्माण तर्फ रु ४० लाख, स्थानीय पूर्वाधार विकास कार्यक्रम तर्फ रु ७४ लाख ९ हजार पाँच सय, प्रधानमन्त्री रोजगार कार्यक्रम तर्फ रु १७ लाख ९३ हजार, राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण तर्फ रु ८ लाख २६ हजार, प्रदेश तथा स्थानीय शासन सहयोग कार्यक्रम कार्यक्रम तर्फ रु २ लाख ७९ हजार दुई सय तिस रुपैंया र गरिव सँग विश्वेश्वर कार्यक्रम तर्फ रु ५ लाख ७५ हजार पाँच सय रुपैयाको सिधै अख्तियारी प्राप्त भएको छ । यस्ता कार्यक्रमको लागि प्राप्त भएको रकमको प्रतिवेदन सिधै नेपाल सरकारमा पठाउने गरी अख्तियारी प्राप्त भएकाले स्थानीय सरकारको बजेट प्रणालीमा समावेश गरिएको छैन ।
१५. आर्थिक वर्ष २०७५र७६ को राजस्व र व्ययको यथार्थ विवरण ,ज्येष्ठ मसान्त सम्मको आर्थिक वर्ष २०७६र७७ को आय तथा व्यय विवरण तथा संशोधित अनुमान र आर्थिक वर्ष २०७७र७८ को अनुमानित आयव्ययको विवरण अनुसूचीहरुमा उल्लेख गरेको छु ।
सभाध्यक्ष महोदय,
सभाका सदस्य ज्यूहरु,
अब म क्षेत्रगत रुपमा आगामी वर्ष २०७७÷७८ को बजेट तथा कार्यक्रम प्रस्तुत गर्न चाहन्छु ।

स्वास्थ्य
१६. कोभिड–१९ को रोकथाम,नियन्त्रण र उपचार एवम् भविष्यमा आउन सक्ने विभिन्न महामारीलाई मध्यनजर गरी स्वास्थ्य प्रणालीलाई सवल र सुदृढ तुल्याउन आवश्यक जनशक्ति व्यवस्थापन गर्दै स्वास्थ्य क्षेत्रको पूर्वाधार विकास तथा सेवा विस्तारमा जोड दिइनेछ । विपद र त्यसबाट सिर्जित स्वास्थ्य समस्यालाई सम्बोधन गर्न आवश्यक औषधि तथा उपकरणको लागि स्रोत व्यवस्था गरेको छु । उक्त प्रयोजनका लागि कोरोना कोषमा रु ६० लाख विनियोजन गरेको छु ।
१७. कोभिड–१९ ले स्वास्थ्य पूर्वाधारको विकास र विस्तारप्रति हामी सबैलाई गम्भीर बनाएको छ । गुणस्तरीय र सर्वसुलभ स्वास्थ्य सेवामा आम नागरिकको पहुँच अभिवृद्धि गर्न हुग्दीशिर स्वास्थ्य चौकीलाई १५ शैयाको अस्पतालमा स्तरोन्नति गरी सेवा विस्तार गर्न संघीय सरकारसँग आवश्यक समन्वय गरिनेछ । स्वास्थ्य चौकी तथा सामुदायिक स्वास्थ्य इकाईहरुको पूर्वाधार विकास गर्नका लागि आवश्यक बजेटको व्यवस्था गरेको छु ।
१८. विकासको साध्य र साधन दुवै नागरिक नै भएकाले सवै नागरिकलाई स्वस्थ बनाई उत्पादकत्व अभिवृद्धि गर्न र सवल मानव पुँजी निर्माण गर्न स्वास्थ्य क्षेत्रलाई विशेष प्राथमिकता दिई वजेट विनियोजन गरेको छु । सर्वसुलभ र गुणस्तरीय स्वास्थ्य सेवा आम नागरिकको पहुँचमा पुर्याउन सामुदायिक स्वास्थ्य इकाई स्थापना, सञ्चालन तथा व्यवस्थापन गर्न आवश्यक पर्ने रु ६७ लाख ९५ हजार वजेटको व्यवस्था मिलाएको छु ।
१९. “रोग पालेर होइन, फालेर बाचौं“ भन्ने मान्यतालाई सार्थक रुप दिन स्वस्थ नागरिक,स्वस्थ समाज, स्वस्थ जीवन र त्यसका लागि स्वस्थ उत्पादन र स्वस्थ उपभोग गर्ने बानी विकास गर्न सामाजिक जागरण ल्याईनेछ । महिला प्रजनन स्वास्थ्य, सरसफाई तथा उपाध्यक्षसँग सँस्थागत सुत्केरी उपहार कार्यक्रमको लागि रु. १ लाख तीस हजार बजेटको व्यवस्था गरेको छु ।
२०. गाउँपालिका भित्रका स्वास्थ्य सेवा प्रदायक संस्थाबाट प्रदान गर्न तोकिएका आधारभूत स्वास्थ्य सेवा भरपर्दो,सर्वसुलभ र गुणस्तरीय बनाउन सामुदायिक औषधि कार्यक्रम तथा बहुक्षेत्रिय पोषण सुधार कार्यक्रमका लागि रु ६ लाख विनियोजन गरेको छु ।
२१. महिला स्वास्थ्य स्वयंसेविकाहरुले गाउँपालिकाको आधारभूत स्वास्थ्य, सरसफाइ तथा पोषणसम्वन्धी क्षेत्रमा गरेको उल्लेखीय कार्यको उच्च मुल्याङ्कन गर्दै उहाँहरुलाई सेवा प्रति उत्प्रेरित गर्न महिला स्वास्थ्य स्वयंसेविका स्वास्थ्य विमा कार्यक्रम सञ्चालनको लागि रु. १ लाख ६० हजार बजेटको प्रवन्ध गरेको छु ।

सडक पूर्वाधार
२२. भौगोलिक आवद्धता कायम गर्न, कृषि तथा उद्योग व्यवसायको विकास गर्न, जनजीवन सहज गर्न र उच्च आर्थिक वृद्धि हाँसिल गर्न सघाउ पुग्ने गरी सडक पूर्वाधारका लागि आवश्यक बजेट विनियोजन गरेको छु । गाउँपालिका भित्रका गाउँवस्तीमा सहज आवागमनका लागि सल्यान सुखौरा सडक निर्माणका लागि रु १ करोड बजेट प्रवन्ध मिलाएको छु । दुई वा सो भन्दा बढी ठाउँहरुको दुरीलाई कम गर्न यथाशक्य छिटो झोलुङ्गे पुल निर्माण कार्य सम्पन्न गर्ने नीति लिएको छु ।
२३. गाउँपालिकाको गौरवको योजनाको रुपमा गाउँपालिका रिङरोड निर्माण आयोजनालाई प्राथमिकतामा राखेको छु । यो गौरवको योजनाको निर्माण कार्य शुरु गर्ने गरी रु ५० लाख विनियोजन गरेको छु ।

खानेपानी
२४. आधारभुत खानेपानी नपुगेको गाउँवस्तीमा खानेपानी पुर्याउने कार्यक्रमलाई निरन्तरता दिएको छु । एक घर एक धारा कार्यक्रमलाई समेत अगाडि बढाउने व्यवस्था गरेकोछु ।

ऊर्जा विकास
२५. पेट्रोलियम पदार्थको प्रयोगलाई प्रतिस्थापन गर्न जलविद्युत तथा वैकल्पिक ऊर्जाको उत्पादन र उपभोग बढाउन जोड दिइएको छ । उज्यालो गाउँपालिका बनाउने हाम्रो सरकारको प्रतिवद्धतालाई पूरा गर्न सार्वजनिक, निजी, सहकारी र सामुदायिक क्षेत्रको सह–लगानीमा ऊर्जाको उत्पादन, वितरण र व्यवस्थापनमा जोड दिईनेछ ।
२६. बरेङ गाउँपालिका, उज्यालो गाउँपालिका घोषणालाई साकार पार्न आगामी आर्थिक वर्षमा राष्ट्रिय प्रशारण लाइन तत्काल पुर्याउन नसकिने तथा हाल सम्म बत्ती बाल्न आधुनिक उर्जाको पहुँच नपुगेका ठाउँ र घरधुरीको यथार्थ विवरणका आधारमा उपयुक्त कार्ययोजना बनाई अगाडि बढिनेछ ।

शहरी विकास
२७. आधुनिक सभ्यताको मानक नै सुविधायुक्त शहर भएको तथा मुलुकको विकासको स्वरुप शहरी पूर्वाधारबाटै प्रतिविम्वित हुने यथार्थलाई ध्यान दिँदै शहरी विकास तर्फको कार्यक्रम प्रस्ताव गरेको छु । यसका लागि पूर्वाधार सहितको व्यवस्थित शहर र बस्ती विकासका कार्यक्रम सञ्चालन गरिनेछ । आगामी आर्थिक वर्ष नमुनाका रुपमा पूर्वाधार सहितको वस्ती विकास गर्न बरेङ बजार बृहत सुधार योजनाका लागि रु ३ करोड ४४ लाख पचास हजार रुपैया बजेटको व्यवस्था मिलाएको छु ।
२८. गाउँपालिकाको केन्द्रमा प्रशासनिक भवन निर्माण लगायतका कार्यहरुलाई तिव्रता दिन आवश्यक विस्तृत आयोजना प्रतिवेदन तयार गरी नेपाल सरकार तथा प्रदेश सरकारसँगको साझेदारीमा व्यवस्थापन गर्न रु. २ करोड समपूरक कोषको व्यवस्था मिलाएको छु ।

पर्यटन
२९. गाउँपालिका भित्रका ऐतिहासिक, साँस्कृतिक, धार्मिक, पुरातात्विक र प्राकृतिक सम्पदाहरुको पहिचान, संरक्षण, प्रवर्द्धन एवं प्रचार प्रसार मार्फत स्थानीय अर्थतन्त्रको महत्वपूर्ण आधारको रुपमा पर्यावरण अनुकूल पर्यटन उद्योगको विकास गर्न पर्यटकलाई अतिथिको रुपमा सम्मान गर्ने अतिथिदेवो भवस् अभियानलाई थप प्रभावकारी गराईनेछ ।
३०. उच्च आर्थिक वृद्धि, उत्पादन रोजगारी र आयको वितरणलाई तत्काल टेवा पुर्याउने प्रतिस्पर्धी क्षेत्रको रुपमा सम्भावना बोकेको पर्यटन क्षेत्रको विकासलाई मैले जोड दिएको छु । बरेङ गाउँपालिकालाई आकर्षक,मनोरम र साहसिक पर्यटकीय गन्तव्यको रुपमा पहिचान स्थापित गराउने गाउँपालिका भित्रको ऐतिहासिक महत्व, पुरातात्विक वस्तु,कला, सँस्कृतिको संरक्षण तथा पर्यटनको प्रवर्धन गर्न गाउँपालिका अन्तर्गत पर्ने सत्यवती मन्दिर र कालीलेक सिद्धथान मन्दिरलाई साँस्कृतिक र कौडे डाँडा, भैँसीखोला झरना, भित्रिवन देउराली र भातेपोखरालाई पर्यटकीय क्षेत्र लगायतको व्यापक प्रचारप्रसार गरी पर्यटन महोत्सव तथा व्यवस्थापन गर्न समेतका लागि रु ५ लाख विनियोजन गरेको छु । गाउँपालिका भित्रका पर्यटकीय क्षेत्रहरुको विस्तृत योजना प्रतिवेदन तयार गर्न समेत आवश्यक वजेट मिलाएको छु ।साथै गाउँपालिका भित्र सञ्चालित होमस्टेको प्रवर्द्धन कार्यक्रम गरिनेछ ।

कृषि, भूमि व्यवस्था, सहकारी र सिंचाइ
३१. नागरिकको खाद्य अधिकार सुरक्षित गर्दै गरिवीको अन्त्य गर्न, ठुलो संख्यामा रहेका कृषक परिवारको आयस्तर बृद्दि गर्न तथा सवल अर्थतन्त्रको निर्माण गर्न कृषिको आधुनिकीकरण,विशिष्टीकरण र व्यवसायीकरण जरुरी छ । यसका लागि मेरो किसान मेरो अन्नदाता भन्ने अभियानका साथ उन्नत बीउविजन,मलखादको व्यवस्था तथा सिचाईको प्रवन्ध गर्दै उन्नत खेती र उच्च मूल्यका बालीको विकास गर्न रु ७२ लाख ४५ हजार वजेटको व्यवस्था गरेकोछु ।
३२. अर्गानिक कृषि उपजको उत्पादन र उपभोग बढाउन विषादी रहित खाद्यान्न उत्पादन र उपभोग गर्ने संस्कृतिको विकास गर्न कृषक तथा उपभोक्तालाई उत्प्रेरित गर्न प्रांगारिक खेती गर्न समेत वजेट विनियोजन गरेको छु ।
३३. “उत्पादन किसानको जिम्मा हो,बजार र मुल्य सरकारको जिम्मा हो“ भन्ने नाराका साथ कम्तिमा दुईवटा कृषि उपज संकलन केन्द्र निर्माण गर्न रु १० लाख बजेट विनियोजन गरेको छु । किसानले उत्पादन गरेको कृषि उत्पादनको बजारीकरण उचित मूल्य र खेर जान नदिने नीति अवलम्बन गरी कार्यान्वयन गर्न आवश्यक बजेटको व्यवस्था गरेको छु ।
३४. गाउँपालिका भित्र रहेको खेतियोग्य भूमिको एकिकृत विवरण तयार गरी चक्लावन्दी खेती गर्न तथा संघीय सरकारको भूमि बैंकको स्थापना र संचालन गर्ने नीति अनुरुप भूमि बैंकको स्थापना गर्न र लगानीमा ऋण सहजीकरण गर्नका लागि रु ६ लाख बजेटको ब्यवस्था गरेकोछु ।
३५. स्वदेशी श्रम,स्वदेशमै पसिनाको नीतिअनुसार “हात हातमा कृषि सामग्रीः गाउँ गाउँमा रोजगारी” अभियानका साथ कोभिड–१९ महामारीको कारण देश भित्रै रोजगारी गुमाएका र विश्वका विभिन्न भागबाट रोजगारी गुमाइ स्वदेश फर्किएका वा फर्कन चाहने बरेङबासी नागरिकहरुको व्यवस्थित तथ्यांक तयार गरी उनीहरुको रुची र उपयुक्तताको छनौट अद्यावधिक गर्न र कार्यक्रमको तर्जुमा गर्न “कोभिड बिशेष कृषि कार्यक्रम“ सञ्चालन गर्न रु १० लाख बजेट विनियोजन गरेको छु ।
३६. “जहाँ खेती, त्यहाँ सिँचाइ“ को नारा सहित विद्यमान सिंचाइ प्रणालीहरुलाई पुनर्स्थापना तथा सुदृढीकरण गर्दैं सिंचाइको पहुँच नपुगेका स्थानहरुमा साना सिंचाइ निर्माणको लागी आवश्यक वजेट मिलाएको छु ।
३७. कृषकलाई ब्याज अनुदान र सहुलियत कर्जा,कृषि सामग्री,विउरबेर्ना,कृषि विमा र न्यूनतम् समर्थन मूल्यको व्यवस्था गरिनेछ । यस क्षेत्रको विकासको लागि सहकारी,सामुदायिक र निजी फार्मलाई प्रोत्साहन गरिनेछ ।

सहकारी
३८. सहकारी क्षेत्रको नियमन र पुँजी परिचालनको माध्यमबाट सहकारी क्षेत्रलाई वित्तिय उत्प्रेरकका रुपमा विकास गरी स्थानीय अर्थतन्त्रको महत्वपूर्ण स्तम्भको रुपमा विकास गर्ने व्यवस्था मिलाएकोछु ।गाउँपालिका भित्रका सहकारी संस्थाको क्षमता अभिवृद्धि गर्न एक सहकारी एक उत्पादन कार्यक्रमका लागि रु ५ लाख बजेट विनियोजन गरेको छु ।

वन,वातावरण र विपद व्यवस्थापन
३९. जनसाधारणमा वातावरणीय स्वच्छता सम्वन्धी चेतना बढाई भौतिक विकासबाट वातावरणमा पर्न सक्ने जोखिमलाई न्यूनीकरण गर्दै वन, वन्यजन्तु, पंक्षी, वनस्पति तथा जैविक विविधताको संरक्षण, सम्बर्द्धन र दिगो उपयोग सम्वन्धी कार्यक्रमका लागि वजेट विनियोजन गरेको छु ।
४०. प्राकृतिक प्रकोपको मर्मलाई जुधेर हैन, बुझेर काम गरेमा मात्र विपदको नियन्त्रण तथा न्यूनीकरणमा ठूलो सहयोग पुग्ने हुँदा यसका लागि छुट्टै विपद व्यवस्थापन कोषमा रु १० लाख वजेट विनीयोजन गरेको छु ।

शिक्षा,युवा,खेलकुद तथा प्रविधि
४१. कोभिड–१९ को कारणले विद्यार्थीहरुको पठनपाठनमा पर्न गएको प्रभावलाई ध्यानमा राखी रेडियो, टेलिभिजन, अनलाइन तथा अफलाइनको माध्यमबाट सिकाइ सहजीकरणका लागि सामग्री उत्पादन तथा प्रशारण गर्न आवश्यक बजेटको व्यवस्था मिलाएको छु ।
४२. आगामी आर्थिक वर्षको बजेट विनियोजन गर्दा मैले सामाजिक रुपान्तरण र आर्थिक विकासको आधारशिला रहेको शिक्षाको विकासमा सर्वोपरी जोड दिएको छु । शिक्षालाई प्राविधिक, व्यवसायिक तथा रोजगारमूलक बनाउँदै सक्षम,नैतिक एवं राष्ट्रिय हितप्रति समर्पित जनशक्ति निर्माण गर्न सर्वोदय मावि र पुरुषोदय माविलाई विशेष अनुदानको लागि वजेट मिलाएको छु ।
४३. सामुदायिक विद्यालयको शैक्षिक पूर्वाधार निर्माण,मर्मत सम्भार,सञ्चालन र व्यवस्थापन गर्न आवश्यक वजेट विनियोजन गरेको छु । सामुदायिक विद्यालयमा शैक्षिक सुशासन कायम गर्न “गाउँपालिका अध्यक्ष शैक्षिक सुधार कार्यक्रमका” लागि रु १० लाख वजेट विनियोजन गरेको छु । विद्यालयको शैक्षिक तथा पुर्वाधार विकास योजनाका लागि रु १ करोड ३७ लाख ८७ हजार वजेट विनियोजन गरेको छु । सार्वजनिक विद्यालयहरु विपद्को बेलाका जनआश्रयस्थल बन्ने गरेको यथार्थतालाई मनन गरी पूर्वाधारमा सुधार गरिनेछ ।
४४. आगामी आर्थिक वर्ष मा अन्तर–माध्यमिक विद्यालय राष्ट्रपति रनिङशिल्ड प्रतियोगता संचालनको लागि रु. १ लाख, आधारभूत तहको परीक्षा सञ्चालन, अनुगमन तथा व्यवस्थापन समेतका लागि रु ६ लाख बजेट विनियोजन गरेको छु ।साथै प्रारम्भिक वाल विकास केन्द्रका सहयोगी कार्यकर्ता र सामुदायिक विद्यालयहरुमा कार्यरत कार्यालय सहयोगीहरुमा राष्ट्रसेवा प्रति उत्प्रेरित गराउन आवश्यक व्यवस्था गरिनेछ ।
४५. विपन्न विद्यार्थी शैक्षिक सामाग्री वितरण, लोकसेवा तयारी कक्षा संचालन तथा विद्यार्थी प्रतिभा पहिचान कार्यक्रमका लागि पर्याप्त बजेट विनियोजन गरेको छु । विद्यालयमा खुद भर्नादर,टिकाउदर तथा लैगिक सुचकमा उल्लेखनीय सुधार गर्न विद्यालय सुधार योजना तथा गाउँ शिक्षा सुधार योजना निर्माण गर्न समेतका लागि रु. ९१ लाख ७० हजार वजेट विनियोजन गरेको छु ।
४६. सामुदायक विद्यालयको शैक्षिक गुणस्तर कायम गर्न विद्यालयको शिक्षक तथा कर्मचारी दरवन्दी, विद्यार्थी संख्या समेतलाई आधार लिई प्राथमिक विद्यालयलाई हाम्रो सरकारले नयाँ अभ्यासका रुपमा गाउँपालिका शिक्षकको व्यवस्था गर्न आवश्यक वजेट रु १२ लाख ५० हजार बजेटको व्यवस्था गरेको छु ।
४७. सूचना, संचार र प्रविधिको विकास मार्फत विधुतीय शासनको दिशामा अगाडि बढ्न आवश्यक पर्ने बजेटको प्रवन्ध गरेको छु । गाउँपालिकाका नै फ्रि वाईफाईयुक्त गराउन नमुनाका रुपमा कार्यान्वयन गर्न बरेङ वजारमा वाईफाई जडान गर्न योजनाका लागि रु ५ लाख बजेट विनियोजन गरेको छु ।
४८. सुशासनका लागि संचारको महत्वप्रति गाउँपालिका सचेत छ । गाउँपालिकाबाट सम्पादन भएका कार्यहरु आम नागरिक समक्ष पुर्याउन रेडियो कार्यक्रम सञ्चालनका लागि रकम विनियोजन गरेको छु । पत्रकारसम्वद्ध संस्थाहरुको सुदृढीकरणमा जोड दिनुका साथै गाउँपालिका र जिल्ला भित्र कार्यरत उत्कृष्ट संचार माध्यम र संचारकर्मीलाई सम्मान गरिनेछ । सामुदायिक विहानी रडियोको संस्थागत क्षमता विकासका लागि रु ३ लाख वजेटको व्यवस्था मिलाएको छु ।

सामाजिक संरक्षण र नागरिक संरक्षण
४९. आर्थिक र सामाजिक रुपमा जोखिममा रहेका नागरिकलाई सुरक्षा प्रदान गर्न तथा सभ्य र लोककल्याणकारी शासन व्यवस्था मार्फत मर्यादित जीवन र सुरक्षित भविष्यका लागि सामाजिक सुरक्षा आवश्यक भएकाले यसलाई स्थानीय सरकारले समेत विशेष चासोका साथ लिनेछ ।
५०. आधारभूत सामाजिक संरक्षणका सेवा सुविधाहरुमा सवै नागरिकहरुको पहुँचबाट सवल समाज निर्माण गर्न सामाजिक सुरक्षा भत्ता पाईरहेका विपन्न नागरिकलाई सम्मान तथा वस्तुगत सहायता वितरण, सुकुम्वासी व्यवस्थापन लगायतका कार्यक्रम संचालन गरी हाम्रो सरकारको जनतामाझ वलियो उपस्थिति देखाउन नमुनाका रुपमा “गाउँपालिका अध्यक्ष सामाजिक संरक्षण,सुरक्षा तथा वचाउ रक्क्ए” कार्यक्रमका लागि रु ७ लाख विनियोजन गरेको छु ।
५१. गाउँपालिकामा जेष्ठ नागरिहरुको अनुहारमा मुस्कान छर्ने सोच सहित “उमेर सत्तरी कार्यक्रम“ संचालन गर्न र बालबालिका, अपाङ्गता भएका व्यक्ति तथा जेष्ठ नागरिकका लागि विशेष कार्यक्रम संचालन गर्न लक्षित वर्ग उत्थान कार्यक्रम सञ्चालन गर्न रु ५ लाख वजेट विनियोजन गरेको छु ।

संस्कृति
५२. स्वस्थ र सभ्य संस्कृतिको विकास गरी समाजिक सुसम्वन्धमा आधारित समाजको निर्माण गर्न धर्म, संस्कृति, संस्कार, प्रथा, परम्परा, प्रचलन वा अन्य कुनै पनि आधारमा हुने सवै प्रकारका विभेद, शोषण र अन्यायको अन्त्य गरी सभ्य र समतामूलक समाजको निर्माण गरिनेछ ।
५३. गाउँपालिका भित्र रहेका प्राचीनकला,साहित्य र संस्कृति विशिष्ट पहिचानका रुपमा रहेका छन । यसर्थ सामाजिक र सांस्कृतिक रुपले हाम्रो समाज जीवित संग्रहालय हो । त्यसैले संस्कृतिको साझा सुन्दर फुलवारीको रुपमा रहेको हाम्रो समाजको तस्विर झल्काउन र अन्तर संस्कृतिको सम्मान गर्न गाउँपालिका केन्द्रमा सांस्कृतिक संग्राहालय स्थापना गरिनेछ ।जहाँ बाट सवैभाषी, धर्म, भूगोल र जनजातिका मानिसले आफ्नोपन र सहायताको अनुभूति समेत गर्न सक्नेछन ।
५४. आफ्नो नागरिकताको राज्य वा भूमि भन्दा अर्को राज्य तथा भूमिमा आश्रय खोज्ने हाम्रो नेपाली संस्कृति र प्रवृत्तिलाई अन्त्य गर्न एकिकृत वस्ती विकासको अवधारणा लिईनेछ ।

सुशासन र सार्वजनिक सेवा प्रवाह
५५. शासकीय स्वच्छता र सुशासन प्रवर्द्धनलाई प्राथमिकतामा राखी सवै क्षेत्रमा सदाचार पद्धति अवलम्वन गरिनेछ ।
५६. सार्वजनिक प्रशासनको कार्य संस्कृतिमा आमूल परिवर्तन गरी संघीय शासन प्रणाली अनुरुपको सोच र कार्य शैलीको विकास गरिनेछ । सार्वजनिक पदाधिकारीहरुको जवाफदेहिता सुनिश्चित गरिनेछ ।
५७. कोभिड–१९ को संक्रमण जोखिमको विद्यमान अवस्थामा कार्यस्थलमा खटिने स्वास्थ्यकर्मी लगायत सबै राष्ट्रसेवकको योगदानको उच्च मूल्यांकन गरी कोरोना रोकथाम र उपचारको लागि अग्रपंक्तिमा रही काम गर्ने राष्ट्रसेवकहरुलाई प्रोत्साहन गर्न आवश्यक रकम विनियोजन गरेको छु ।
५८. आगामी आर्थिक वर्षको लागि अस्थायी, करार लगायत गाउँपालिकामा कार्यरत सबै राष्ट्रसेवकहरुको रु १ लाख सम्मको निःशुल्क कोरोना उपचार बीमा गर्ने व्यवस्था मिलाएको छु ।
५९. कर्मचारी तथा शिक्षकहरुको गाउँपालिका भित्र सरुवा,पुरस्कार,सजाय,वृत्ति विकास र क्षमता अभिवृद्धिको अवसरलाई कार्यसम्पादनमा आधारित बनाइनेछ ।
६०. आगामी आर्थिक वर्षबाट कार्यान्वयनमा आउने गरी कर्मचारी कल्याण कोष स्थापना गरी वजेटको सुनिश्चितता गर्दै लगिनेछ ।आगामी आर्थिक वर्षका लागि कर्मचारी प्रोत्साहन तथा पुरस्कारका र कर्मचारी कल्याण कोषका लागि वजेट विनियोजन गरेको छु ।
६१. आगामी आर्थिक वर्ष २०७७÷७८ देखि वजेट तयारी, लेखाङकन लेखांकन तथा प्रतिवेदन जस्ता कार्य स्थानीय संञ्चित कोष व्यवस्थापन प्रणाली क्ग्त्च्ब् शुत्रको पूर्णरुपमा लागू गरी हाम्रो सरकारको आर्थिक कार्यप्रणाली र प्रशासनिक कामकारवाहीमा सुशासन कायम गरिनेछ ।
६२. कोभिड–१९ को कारणले राजस्व र अन्य स्रोतमा परेको चापको कारणले सीमित स्रोतको उच्चतम र मितव्ययी तवरले उपयोग गर्नुपर्ने भएको छ । यस सन्दर्भमा अनावश्यक प्रशासनिक खर्च नियन्त्रण,अत्यावश्यक वाहेकका तालिम गोष्ठी,बैठक भत्ता र बैठकमा प्रयोग हुने खाजा वा खाना जस्ता विषयहरुको खर्च न्यूनीकरण गरी सार्वजनिक खर्चलाई व्यवस्थित र मितव्ययी वनाउने नीति लिइनेछ ।
६३. बजेट सरकारको वार्षिक नीति मात्र होइन जनताको आशा र भरोसाको दस्तावेज पनि हो । स्रोत व्यवस्थापन र यसमा हुने खर्चको माग आफैमा चुनौतीपूर्ण विषय पनि हो । यो जटिल परिस्थितिमा तयार हुने बजेटमा अंकित विनियोजनको अंकलाई विवेकपूर्ण र औचित्यपूर्ण वनाउने दायित्व हामी सवैको हो । एक ठाउँमा हुने अध्याधिक माग वा खर्च नगर्ने प्रवृत्तिले अर्को अत्यावश्यक क्षेत्र स्रोतको अभावले ग्रस्त हुन जान्छ । यी विषयमा सवैबाट थप सहयोगको अपेक्षा गरेको छु ।
६४. आगामी आर्थिक वर्ष २०७७÷७८ मा विभिन्न विषय क्षेत्रगत आर्थिक,सामाजिक,पूर्वाधार,वन,वातावरण तथा विपद व्यवस्थापन,सुशासन तथा संस्थागत विकासमा अनुमानित विनियोजन भएको वजेट अनुसूचीमा समावेश गरेको छु ।
सभाका अध्यक्ष महोदय,
गाउँसभाका सदस्यज्यूहरु,
अव म बजेटमा उल्लिखित क्षेत्रगत नीति तथा कार्यक्रमहरु कार्यान्वयन गर्न आवश्यक पर्ने बजेट विनियोजन र स्रोत अनुमान प्रस्तुत गर्न चाहन्छु ।
६५. आगामी आर्थिक वर्षका नीति तथा कार्यक्रम कार्यान्वयन गर्न जम्मा रु ३४ करोड ९८ लाख ७० हजार रुपैंया खर्च हुने अनुमान गरेकोछु । कुल विनियोजन मध्ये चालुतर्फ रु २० करोड ५ लाख ९० हजार अर्थात् ५७.३३ प्रतिशत र पुँजीगततर्फ रु १४ करोड ९२ लाख ८० हजार अर्थात् ४२.६७ प्रतिशत रहेको छ ।
६६. आगामी आर्थिक वर्षको व्यय अनुमानको विवरण (उपशिर्षकगत तथा खर्च शीर्षकगत समेत) गाउँपालिकाको विनियोजन विधेयक,२०७६ संगै पेश गरेको छु । त्यस विवरणमा पदाधिकारी र कर्मचारी तलव भत्ता,पानी तथा विजुली महसुल,घर भाडा,करार सेवा शुल्क,सवै कार्यक्रम खर्च,‍औषधि व्यवस्थापन खर्च,राहत उद्धार खर्च, शैक्षिक संस्थालाई अनुदान जस्ता प्रशासनिक प्रकृतिका चालु खर्चको लागि चालु खर्च शिर्षकमा रु ४ करोड ५ लाख ६० हजार रुपैंया विनियोजन गरिएको छ जुन कुल बजेटको ११.५७ प्रतिशत हुन आउँछ । आगामी वर्षको वजेटमा सामाजिक सुरक्षा भत्ता समावेश गरिएको छैन ।
६७. आगामी आर्थिक वर्षका लागि अनुमान गरिएको खर्च व्यहोर्ने स्रोतमध्ये नेपाल सरकारबाट प्राप्त हुने वित्तीय समानीकरण अनुदान रु ७ करोड ५६ लाख,संघीय विभाज्य कोषबाट प्राप्त हुने राजश्व वाँडफाँड रु ५ करोड ५५ लाख ९८ हजार १३ सय ,सशर्त अनुदान रु १५ करोड ३८ लाख, प्रदेश सरकारबाट प्राप्त हुने वित्तीय समानीकरण अनुदान रु १ करोड २० लाख १२ हजार, प्रदेश राजश्व वाँडफाँड रु २२ लाख ३९ हजार, आन्तरिक राजस्वबाट प्राप्त हुने रु २० लाख, नेपाल सरकारबाट प्राप्त समपुरक अनुदान रु १ करोड ७२ लाख, नेपाल सरकार बाट प्राप्त हुने बिशेष अनुदान रु १ करोड २० लाख, प्रदेश सरकारबाट प्राप्त हुने सशर्त अनुदान रु ४० लाख र समपुरक अनुदान रु. ५० लाख व्यहोर्दा रु १ करोड ३ लाख ५५ हजार ८ सय ७० न्यून हुनेछ । सो न्यून पूर्ति गर्न चालु आर्थिक वर्षको असार मसान्तसम्म खर्च भई बाँकी रहने अनुमानित नगद मौज्दात १ करोड ३ लाख ५५ हजार ८ सय ७० उपयोग गरिनेछ ।
सभाका अध्यक्ष महोदय,
सभाका सदस्यज्यूहरु,
अव म आर्थिक वर्ष २०७७÷७८ को लागि राजस्वका नीति प्रस्तुत गर्न चाहन्छु,
६८. स्थानीय सरकारको क्षेत्रभित्रका करको आधार फराकिलो पार्दै आन्तरिक राजस्व वृद्धि गर्न कर तथा गैरकर राजस्वको अधिकतम परिचालन गर्ने नीति लिएकोछु ।
६९. कर तथा गैरकर राजस्व संकलनलाई प्रभावकारी बनाउन कानुनी तथा संस्थागत सुधार गरिनेछ ।कर तथा गैरकरका दरलाई प्रगतिशील बनाई राजस्व परिचालन गर्ने व्यवस्था मिलाएको छु ।
७०. आर्थिक रुपले विपन्न,अशक्त र असहाय अवस्थामा रहेका नागरिक मैत्री कर प्रणाली विकसित गरिनेछ ।
७१. गाउँपालिका क्षेत्रभित्रका फरक क्षमता भएकाहरुको परिचयपत्र सम्वन्धी,आर्थिक रुपमा विपन्नहरुको निशुल्क उपचार सम्वन्धी तथा प्राकृतिक प्रकोप सम्वन्धी सिफारिश दस्तुर छुट गरिनेछ ।
७२. जन्म, मुत्यु तथा अन्य व्यक्तिगत घटना सम्वन्धी ऐन,२०३३ बमोजिम नै बढीमा रु ५० सेवा शुल्क लिने व्यवस्था मिलाएको छु ।
७३. रोडा, ढुङ्गा, गिटी, बालुवा, चुनढुङ्गा लगायतका दहत्तर, बहत्तर शुल्क,विज्ञापन कर र मनोरञ्जन कर स्थानीय तहबाट संकलन गरी ग–४–२ बाँडफाँड खातामा जम्मा गरी ६० प्रतिशत स्थानीय तहमा राखी ४० प्रतिशत प्रदेश सञ्चित कोषमा जम्मा हुने कानुनी व्यवस्था प्रभावकारी रुपमा कार्यान्वयन गरिनेछ । रोडा, ढुङ्गा, गिटी, बालुवा, चुनढुङ्गा लगायतका दहत्तर बहत्तर शुल्क, विज्ञापन कर र मनोरञ्जन कर आदिको दर तथा दायरा विज्ञ समूहबाट अध्ययन गराई राजस्व संकलनलाई थप प्रभावकारी बनाइनेछ ।
७४. गाउँपालिका भित्रका व्यापारिक र व्यावसायिक प्रकृतिका मनोरञ्जनका महोत्सव,उत्सव तथा मेला आदिमा मनोरञ्जन करको व्यवस्था मिलाईनेछ ।
७५. गाउँपालिका भित्रमा घर नक्सा पास प्रक्रियालाई वि.सं.२०७७ साल श्रावण १ देखि लागू गरिनेछ ।
७६. गाउँपालिका क्षेत्रभित्र व्यापार,व्यवसाय वा सेवामा पुँजीगत लगानी र आर्थिक कारोवारको आधारमा व्यवसाय दर्ता गर्न प्रोत्साहित गरी व्यवसाय करको दायरामा लिइनेछ ।
७७. कर सम्वन्धी प्रस्ताव आर्थिक विधेयक,२०७६ यसै साथ प्रस्तुत गरेको छु । कर सम्वन्धी प्रस्ताव सम्वत २०७७ साल साउन १ गतेबाट लागू हुने व्यवस्था मिलाएकोछु ।
सभाका अध्यक्ष महोदय,
सभाका सदस्यज्यहरु,
७८. अन्त्यमा, कोभिड–१९ महामारी विरुद्धको हाम्रो संघर्ष पूर्णत कहिले अन्त्य हुन्छ भन्ने कुरा अहिले नै एकिन गर्न कठिन छ । तर,हामी सबैको सामुहिक प्रयासवाट यसलाई छोटो समयमा नै नियन्त्रण गर्न सफल हुने विश्वास मैले लिएको छु । जीवन रहे सुख र खुसी पुनःस्थापित गर्न सकिन्छ । समृद्धिको यात्रालाई पुनःजोड्न र गतिशील बनाउन सकिन्छ । यतिवेला हामी सबैको ध्यान कोभिड–१९ का विरुद्धको संघर्षमा केन्द्रित छ । कोभिड–१९ महामारीका कारणले उत्पन्न हुनसक्ने खाद्य संकट आउन नदिन,रोजगारी गुमाउन पुगेकाहरुको जीविकोपार्जनको आधार तयार गर्न तथा रोग नियन्त्रणसंगै अर्थतन्त्रलाई गतिशील बनाउने उद्देश्यअनूरुप नै यो बजेट, योजना तथा कार्यक्रम प्रस्तुत गरिएको छ ।
७९. यो बजेटको कार्यान्वयनमा नागरिक सहभागितालाई नागरिकको अधिकारको रुपमा स्थापित गरी स्वशासन र जनताद्वारा शासनको चरितार्थ गरी जनताप्रति पूर्ण जिम्मेवारपूर्वक भूमिका निर्वाह गर्ने कार्यमा हाम्रो सरकार पूर्ण प्रतिवद्ध छ ।
८०. यो बजेट तर्जुमाका लागि मार्गदर्शन गर्नुहुने गाउँपालिका अध्यक्ष,गाउँसभाका सदस्यहरु,विभिन्न राजनीतिक दल,राष्ट्रसेवक कर्मचारी,निजी क्षेत्र,सहकारी क्षेत्र र नागरिक समाजका व्यक्तित्वहरु तथा पत्रकार जगतबाट प्राप्त सुझाव,सहयोग र सल्लाहप्रति हार्दिक आभार प्रकट गर्दछु ।
८१. अन्त्यमा,समृद्ध गाउँपालिका निर्माण गर्ने अभिभारा र कोभिड– १९ ले सिर्जना गरेको चुनौतीहरु वीच आएको यो बजेटको सफल कार्यान्वयनमा विगतमा जस्तै सबै पक्षको अपनत्व र पूर्ण सहयोग प्राप्त हुने विश्वास लिएको छु । साथै, मुलुक भित्र र वाहिर रहनु भएका सवै नेपालीलाई “समृद्ध बरेङ,सुखी बरेङवासी” निर्माणको हाम्रो सरकारको महान यात्रामा सहभागी हुन आब्हान गर्दछु ।

धन्यवाद !
डिल कुमारी पुन
बरेङ गाउँपालिका

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->