सोमबार, भाद्र ८ २०८३

सोमबार, भाद्र ८ २०८३
  • ८ भाद्र २०८३ , सोमबार
  • August 24 2026

स्थानीय र संघिय बजेट राष्ट्रिय सडकतर्फ मोडिदै

स्थानीय र संघिय बजेट राष्ट्रिय सडकतर्फ मोडिदै

पालिकाले गरेका लगानीदेखि संघिय संसदबाट आउने बजेटसमेत गौरबका आयोजनामा पहुँच बिस्तारमा खर्च भए ।


  • ढोरपाटन संवाददाता
  • असार ६ २०७७, शनिबार

बागलुङ, ६ असार – सरकारले खर्च नभएको सांसद बिकास कोष तथा स्थानीय साझेदार पूर्वधार कार्यक्रमको बजेट कोरोना रोकथाममा खर्चने निर्णय गरेको छ । तर बागलुङका सांसदले भने अधिकांस बजेट लगानी गरिसकेका छन् । धेरै बिकासे काममा लगानी भएको हो ।
जिल्लालाई उत्तरदक्षिण काटेको कालीगण्डकी करिडोर र पूर्वपश्चिम काटेको मध्यपहाडी लोकमार्गको पहुँच बिस्तार गर्न उनीहरुले रकम खर्चेका छन् । सोहीअनुसार स्थनीय पालिकाहरुका सडक बिकास पनि गौरवका आयोजनातर्फ मोडिन थालेका छन् । स्थानीय पालिकाले गरेका लगानीदेखि संघिय संसदबाट आउने बजेटसमेत गौरबका आयोजनामा पहुँच बिस्तारमा खर्च भएका हुन् । यसरी खर्च गर्दा सडकमार्गबाट छिटो सदरमुकाम र बजार क्षेत्रमा पुग्न सकिएको जनप्रतिनिधिहरुले बताए ।
स्थानीय बासिन्दा पनि तीनै सडकमार्फत पहुँच बढाउन पाएकोमा खुसी छन् । स्थानीय साझेदारी पूर्वाधार बिकास कार्यक्रमको लगानी पनि लिंक सडकमा पर्न थालेको छ । यसरी लगानी गर्दा बिकास छिटो भएको समेत स्थानीय बुझाई छ ।
निर्वाचित सांसदको अध्यक्षतामा रहने समितिले खर्चन पाउने बजेटबाट ग्रामीण बस्तीबाट मध्यपहाडी लोकमार्ग र कालीगण्डकी करिडोर जोड्ने लिंक रोड बनाएका हुन् । ती सडक बन्दा पालिकाको केन्द्रबाट राजमार्गसम्म सहज यात्रा गर्ने अबसर जुटेको तमानखोला–२ की ललिता बिकले बताइन् । उनले नजिकको मुख्य बजार बुर्तिवाङ झर्न सहज भएको बताइन् । सडक अभावमा पैदलै हिडेका स्थानीय जिप चढेर छिटो बजारको पहुँचमा पुगेपछि अत्यावस्यक खाद्यबस्तु ढुवानी र बिरामीपर्दा उपचारमा सहज बनेको बताइन् ।
अघिल्ला बर्ष खर्च गरेर पनि उपलब्धी नदेखिएपछि बढेको आलोचनाबाट बच्न चालुबर्ष देखिने योजनामा लगाएको सांसदहरुले समेत बताए । उनीहरुले पनि टुक्रेभन्दा ठूलो रकम खर्चंदा जनताले बढी फाइदा पाएको बताए । ‘धेरै काम सकिएको ६ महिनापछि जाँदा नभेटिने प्रवृत्ती अन्त्यका लागि रकम लगाएका छौं’ क्षेत्र नं. १ का सांसद सूर्य पाठकले भने, ‘दिर्घकालिन लक्ष पुरा गर्नेगरी लगानी गरिएको छ ।’ पाठकले चालु बर्षको बजेटबाट जैमिनीधामदेखि कुश्मीसेरा सडकका लागि १ करोड ३५ लाख रकम बिनियोजन गरेका थिए । उक्त बजेटले करिडोरदेखि कुश्मीसेरा जाने सडक सहज भएको छ ।
कुश्मीसेरादेखि सदरमुकाम आउने २१ किमी सडक बर्षौदेखि अलपत्र हुँदा दक्षिण बागलुङका सयौंले सास्ती खेपेका थिए । थोरै लगानीमा राष्ट्रिय गौरवका आयोजना जोड्ने क्रम शुरु भएपछि स्थानीयले छोटो र स्तरीय सडकबाट सदरमुकाम पुग्ने अबसर पाउन थालेका छन् । पाठकले धौलागिरी अञ्चल अस्पतालको पूर्वाधार निर्माणमा ५० लाख र धौलागिरी बहुमुखी क्याम्पसको पुस्तकालय निर्माणमा ५० लाख खर्चेका छन् । अस्पतालले आइसियु निर्माण गरेको छ भने क्याम्पसको पुस्तकालय भवन निर्माणाधिन छ ।
पश्चिम बागलुङमा पनि मोटो रकम खर्च भएको छ । छिटफुट आयोजना भने टुक्रे बजेट परेकोमा आलोचना पनि भएको छ । क्षेत्र नं. २ मा सांसद देवेन्द्र पौडेलको अध्यक्षताको समितिले अहिलेसम्म सडक संजालको पहुँच नपुगेको खुंखानीसम्मको सडक निर्माण गरेको हो । यो बजेटले सडक ग्राभेल भएकोले सहजै यात्रा गर्न सकिने भएको छ । गतबर्ष १ करोड रुपैयाँले ट्रयाक खोलेको यो सडक चालुबर्ष ग्राभेल गरिएको छ । बुर्तिवाङदेखि एक दिन पैदल यात्रा गर्नुपर्ने खुंखानी र नर्जाखानीका बासिन्दा अहिले दुई घण्टामा जिप चढेर झर्न सक्ने भएका छन् । यो सडकले तमानखोला गाउँपालिकाको केन्द्र र मध्यपहाडी लोकमार्गलाई छोटो दुरीले जोडेको छ ।
केही स्थानमा भने सांसदले कनिका छरेको आरोप लागेको छ । गलकोट नगरपालिका ३ को हटिया बजारदेखि कोतमैदानसम्म गतबर्ष नगरपालिकाले बनाइसकेको सडक निर्माण भन्दै ५० लाख बिनियोजन छ । उक्त सडक नगरपालिकाको प्राथमिकतामा थिएन । ‘गत बर्ष नगरपालिकाले खनिसकेको सडकमा फेरी लगानी गर्नु साटो समन्वय गरेर अन्यत्र खर्चन सकिन्थो’ नगरप्रमुख भरत शर्मा गैरेले भने, ‘भूगोल र आवस्यकता अनुसारको लगानी गर्नुपर्नेमा आँफूखुसी बिनियोजन भएको छ ।’
समन्वय गरेको भए उक्त सडकमा रकम थपेर ग्राभेल गर्न सकिने उनले बताए । कुश्मीसेरादेखि बरेङतर्फ जाने सडक भने अझै सहज बन्न सकेको छैन । संघिय सरकारको बजेट ल्याएर कालोपत्रे गरेमा मात्रै दक्षिणका बासिन्दाले सुबिधा पाउने उपभोक्ताले बताए । त्यसका लागि दुई जिल्ला वा प्रदेश जोड्ने सडकको रुपमा बिकास गरेर ठूलो लगानी गर्न पहल गरिएको बरेङ गाउँपालिकाका अध्यक्ष कृष्णप्रसाद शर्माले बताए । पूर्वाधार कार्यक्रममार्फत भीमगिठे र दर्लिङ जोड्ने बडिगाड खोला पुल, ताराखोलाको जमराघाट, जैमिनी नगरपालिकाको ठेउलेखोला पुल र बाटाकाचौरको हुग्दीखोला पुल भने निर्माण भएका छन् । ती पुलले पनि मुख्य राजमार्ग जोड्न छोटो बाटोको काम गर्छन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->