बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

कागले मकै सखाप पारेपछि रुनु न हाँस्नुको पिडामा किसान

कागले मकै सखाप पारेपछि रुनु न हाँस्नुको पिडामा किसान

डाँडाखेत, अम्बोट लगाएतका क्षेत्रमा पाक्नै लागेको मकै, सिमी लगाएत तरकारी बाली कागको बथानले नष्ट गरिदिए ।


  • ध्रुवसागर शर्मा
  • असार ६ २०७७, शनिबार

म्याग्दी, ६ असार – बाँदर, दुम्सी लगाएतका जंगली जनावरले खेतीबाली नष्ट गरिदिने कुरा त सबैलाई थाहा भएकै हो । तर कागले पनि किसानले लगाएको बाली नष्ट गरेर किसानलाई रुनु न हाँस्नुको अवस्थामा पु¥याएको कुरा भने धेरैका लागि नौलो हुनसक्ला । म्याग्दीका ग्रामीण क्षेत्रका किसानलाई कागले सताएपछि हैरान भएका छन् । खेतबारीमा लगाएको मकै बाली र तरकारी बाली कागको बथानले नष्ट गरिदिए पछि यहाँका किसान रुनु न हाँस्नुको स्थितिमा पुगेका छन् ।
जिल्लाको बेनी नगरपालिका वडा नं २ डाँडाखेत, अम्बोट लगाएतका क्षेत्रमा पाक्नै लागेको मकै,सिमी लगाएत तरकारी बाली कागको बथानले नष्ट गरिदिएको स्थानीय कृषक सुनिल सापकोटाले बताए । सापकोटाका अनुसार, डाँडाखेत र अम्बोट क्षेत्रमा मात्रै होइन खबरासम्म कागले पाक्नै लागेको मकैबाली खाएर र बोट ढलाएर नष्ट गरिदिएको छ । ‘हाम्रो मकै बाली कागले मासेर नष्ट गरिदियो,अव हामी उजुरी गर्न कहाँ जाने ? सापकोटाले भने ।

अम्बोट र डाँडाखेतको फाँटमा कागले सताउन थालेपछि स्थानीयले विहानदेखि बेलुकीसम्म मकै जोगाउन कुरेर बस्नु पर्ने समस्या रहेको स्थानीय डिलबहादुर सापकोटाले बताए । ‘बिहान उज्यालो हुने बित्तिकै खेतमा काग आउँछ, पालो लगाएर बिहानदेखि बेलुकासम्म खेतमा मकै जोगाउन कुरेर बस्नुपर्छ’, उनले भने । सापकोटाले भने ‘कागले सीमि, बोडी, आलुका साथै तरकारी बालीमा पनि क्षति पु¥याएको छ । हिउँदमा आलु जोगाउन मुस्किल, अहिले फेरि मकै, तरकारी र फलफूल जोगाउन मुस्किल भयो कागले मकै खाने तथा च्यातेर नष्ट पा¥यो, हामी त रुनु न हाँस्नुको अवस्थामा पुगेका छौं ।’
डाँडाखेतदेखि अम्बोटसम्मको हजारौ रोपनी फाँटमा कागले मकै च्यातेर र मकैका रुख ढालेर नष्ट गरेपछि बगरफाँटको टाकुरा नजिकै बस्ने भीमबहादुर विकले डाँडाखेतमा सानो झुपडी नै बनाएर काग धपाउन बसेका छन् । हूलका हूल काग आएर खेतबारीमा बाली नष्ट गर्ने गरेकोले बालीनाली जोगाउन बिहानदेखि बेलुकासम्म खेतबारीमा कुर्दा पनि जोगाउन नसकिएकोे उनको भनाइ छ । विक भन्छन् ‘पशुले खाइदिएको भए अर्मल लिनु हुन्थ्यो, मान्छेले क्षति पु¥याइ दिएको भए उजुरी गुर्नहुन्थ्यो, दण्ड तिराउन पाइन्थ्यो, कागले पो सखाप पारिदियो त, अव उजुरी गर्न कहाँ जाने हामी ?’

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->