पर्वत, ७ असार– गण्डकी प्रदेशमा कोभिड–१९ बाट संक्रमण हुनेहरूको संख्या ५ सय २३ पुगेको छ । आइतबार दिउँसोसम्म ३५ जनामा कोरोना संक्रमण पुष्टि भएको गण्डकी स्वास्थ्य निर्देशनालय पोखराले जनाएको छ । निर्देशनालयका निर्देशक डा. बिनोदबिन्दु शर्माका अनुसार, नयाँ थपिएका १९ जना स्याङ्जा, नवलपरासी, कास्की, बागलुङ र तनहुँ जिल्लाका हुन् ।
जसमा स्याङ्जाको चापाकोट नगरपालिकाका १८, २१, २१, २१ र ३३ वर्ष उमेरका ५ जना पुरुष र ३० बर्सिया महिला १ जना, गल्याङ नगरपालिकाका २०, २६ र ४६ वर्ष उमेरका ३ जना पुरुष र ४५ बर्सिया महिला १ जना रहेका छन् । उनीहरूको स्वाब पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा परीक्षण गरिएको थियो । यस्तै, प्रदेश क्षयरोग केन्द्रमा गरिएको परीक्षणमा नवलपरासी पूर्वको गैँडाकोट नगरपालिकाका १८ वर्षीय पुरुषमा संक्रमण रहेको पाइएको छ ।
नयाँ संक्रमितमा कास्कीको पोखरा महानगरपालिकाका ४० वर्षीय पुरुष १ जना र मादी गाउँपालिकाका १९ वर्षीय पुरुष १ जना रहेका छन् । यस्तै बागलुङको गल्कोट नगरपालिकाका १९, ३५ र २७ वर्षीय ३ जना पुरुष, बडिगाड गाउँपालिकाका १ जना १७ वर्षीय पुरुष र जैमिनी नगरपालिकाका १ जना ३० वर्षीय पुरुषमा पनि संक्रमण रहेको पुष्टि भएको छ । उता तनहुँको व्यास नगरपालिकाका ४७ वर्षीय १ जना पुरुषमा पनि संक्रमण रहेको पाइएको छ ।
डा. शर्माका अनुसार आइतबार दोस्रो पटक पुष्टि गरिएका १९ जना नै भारतबाट फर्किएकाहरू हुन् । उनीहरू सबै जनाको स्वास्थ्य अवस्था सामान्य रहेको छ भने सम्बन्धित जिल्लाका क्वारेनटाइनमा राखिएका उनीहरूलाई आइसोलेसनमा सारिएको छ ।





