पोखरा, १० असार – पोखरा महानगरपालिका, बागलुङ नगरपालिकासहित धेरैजसो स्थानीय तहले बुधबार आगामी आर्थिक वर्ष २०७७÷०७८ को लागि नीति तथा कार्यक्रम एवं बजेट ल्याउँदैछन् । असार १० गतेभित्र बजेट ल्याइसक्नुपर्ने कानूनी व्यवस्था अनुसार धेरै स्थानीय तहले असार १० मै बजेट ल्याउन लागेका हुन् ।
पोखरा महानगरसहित कास्कीको मादी र माछापुच्छे« गाउँपालिकाको पनि बजेट आउन बाँकी छ । अन्नपूर्ण र रुपाले भने बजेट सार्वजनिक गरिसकेका छन् । पोखरा महानगरपालिकाले चालु आर्थिक वर्षमा ७ अर्ब ५४ लाखको बजेट ल्याएको थियो । यो वर्ष महानगरले कोरोना नियन्त्रणमा बढी रकम खर्चेको र राजश्वको लक्ष्य पूरा भएको छैन । बजेटले रोजगार र स्वास्थ्यलाई विशेष महत्व दिने तथा पर्यटनको लागि प्याकेज कार्यक्रमसहित संवोधन गर्दैछ ।
यसैगरि सामाजिक संस्थाहरुलाई बलियो बनाइने र जनसहभागितालाई जोड दिँदै बजेट आउने महानगरका सहरी योजना आयोगका उपाध्यक्ष रामचन्द्र लामिछानेले बताए । यता बागलुङले नीति तथा कार्यक्रममा नै स्वास्थ्य र कृषिलाई बढी प्राथमिकता दिइसकेकाले बजेट त्यतै केन्द्रित हुने निश्चित छ ।





