पोखरा, १० असार – दुई वर्षअघि कास्कीको सिक्लेस पुग्दा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल‘प्रचण्ड’ तथा नेपाली कांग्रेसका नेता कृष्ण सिटौलालाई गाउँलेहरुले बख्खु र खादाले सम्मान गरे । हिमाली भेगमा एउटा पाटो ओच्छ्याउन र अर्को ओड्न मिल्ने बख्खु अत्यावश्यक सामानमै गनिन्छ । संयोगले उनै प्रचण्ड जन्मिएको कास्कीको अन्नपूर्ण गाउँपालिकाले ‘बख्खु’को ब्राण्डिङ गर्ने योजना अघि सारेको छ । अन्नपूर्ण गाउँपालिकाले आर्थिक वर्ष २०७७÷०७८ को बजेटमै राडीपाखी,कम्बल, भाँग्रा, झोलाको ब्राण्डिङ गर्ने घोषणा गरेको हो । उपल्लो भेगका गुरुङलगायतका जातजातिको परम्परागत सीपलाई व्यावसायिकरण गर्दै गाउँपालिकाले ‘अन्नपूर्ण ब्राण्ड’ बनाउने निर्णय गरेको गाउँपालिका अध्यक्ष युवराज कुँवरले बताए । यसका लागि गाउँपालिकाले परम्परागत तानहरुको संरक्षण गर्नेछ ।
‘तानहरुलाई आधुनिकीकरण र व्यावसायीकरण गर्दै ‘अन्नपूर्ण ब्राण्ड’ स्थापित गर्ने हाम्रो उदेश्य हो’, गाउँपालिका अध्यक्ष कुँवरले भने,‘ परम्परागत रुपमा प्रयोग हुँदै आएका सांस्कृतिक पोसाक र सामाग्रीलाई ब्राण्डका रुपमा विकास गरिन्छ ।’
अघिल्लो वर्ष भोटेकुकुर संरक्षण गर्ने अभियान ल्याएको अन्नपूर्णले यसपटक कोभिड–१९ को माहामारीसँगै स्थानीय तहले कृषिमा आत्मनिर्भर बनाउँदै आयआर्जन बढाउने, स्वरोजगार बन्न लगानी र स्वास्थ्य क्षेत्रलाई सबल बनाउने योजना अघि सारेको छ । ‘खाना नफालौं’ भन्ने अध्यक्षको थेगोलाई अभियानकै रुपमा संचालन गरिने पनि गाउँपालिकाको योजना छ ।
कम्तिमा ५ रोपनीभन्दा धेरै जग्गामा मौसमअनुसार खेती गर्ने व्यावसायिक किसान पहिचान गरी बजार उत्पादन र बजार प्रवद्र्धन गर्ने नीति गाउँपालिकाले लिएको छ । गाउँपालिकाले उत्पादनका हिसाबले उर्वर मानिएको कोदो प्रवद्र्धनका कार्यक्रम सञ्चालन गर्ने भएको छ ।
‘कोदोमा आत्मनिर्भर बनाउँदै उत्पादनमा अनुदान दिने, सबै होटल तथा रेस्टुरेन्टको मेनुमा कोदोको परिकार राख्न अनिवार्य गरिएको छ,’अध्यक्ष कुँवरले भने,‘ हामी कोदोको रक्सीको ब्रािण्डङबारे पनि सोचिरहेका छौं ।’ घरेलु कोदोको रक्सीलाई गुणस्तर मापनसहित ब्राण्डिङ गर्न सके यसले विदेशी मदिरा आयात रोक्ने र देशको अर्थतन्त्र बलियो हुने उनको तर्क छ । गुरुङ भाषामा कोदोको रक्सीलाई ‘नारे पा’ भनिन्छ ।
भूमि बैंक स्थापना गरी बाँझो जमिनलाई कम्तिमा २० वर्षका लागि लिजमा लिइ व्यावासयिक गर्ने दिने र गाउँपालिकाले सबै पूर्वाधारको उपलब्ध गराउने नीति लिइएको गाउँपालिका अध्यक्ष युवराज कुँवरले जानकारी दिए । अध्यक्ष कुँवरले भने, ‘कृषि तथा तरकारीमा आत्मनिर्भर बनाउन एक घर, एक टनेल अभियानका रुपमा सञ्चालन गर्ने भएका छौं ।’ दूध आत्मनिर्भर बनाउँदै गाउँपालिकाले नै बजारको प्रवन्ध मिलाइदिने र एक घर एक दुहुना गाई÷भैंसी अभियान सञ्चालन गरिने भएको छ ।
हाइवे अस्पताल , एक विद्यालय एक नर्स
कोभिड–१९ को माहामारीसँगै कास्कीको अन्नपूर्ण गाउँपालिकाले स्वास्थ्य सेवालाई नागरिकको सहज पहुँच बनाउने नीति ल्याएको छ । १५ शैयाको अस्पताल निर्माण गर्ने र पोखरा–बागलुङ राजमार्गको अन्नपूर्ण क्षेत्रभित्र गाउँपालिकाले हाइवे अस्पताल निर्माण गर्ने भएको छ ।
‘१५ शैयाको अस्पताल र अन्नपूर्ण क्षेत्रभित्र प्राविधिक हिसाबले उपयुक्त ठाउँमा हाइवे अस्पताल निर्माण गरी यसै वर्षबाट थालनी गरिने छ,’ गाउँपालिका अध्यक्ष युवराज कुँवरले भने, ‘एक वडा एक स्वास्थ्य नीतिअनुरुप सबै वडामा स्वास्थ्य सेवा केन्द्र स्थापना गरी सञ्चालन गरिने छ ।’
यसै वर्षदेखि सबै स्वास्थ्य संस्थामा प्रयोगशालासमेत स्थापना हुने भएको छ । भौगोलिक तथा जनसंख्याको अनुपातमा प्रत्येक ३० मिनेटको दूरीमा स्वास्थ्य संस्था स्थापना गर्ने गाउँपालिका अध्यक्ष कुँवरले जानकारी दिए ।
प्रत्येक विद्यालयमा स्वास्थ्य सेवा कार्यक्रम बिस्तार गर्न गाउँपालिकाले एक विद्यालय एक नर्सको कार्यक्रम ल्याएको छ । पोषण कार्यक्रमलाई प्रवद्र्धन गर्दै विद्यालयमा सबैखालका जंग फुडलाई निरुत्साहित गर्ने नीति गाउँपालिकाले लिएको छ ।
पर्यटकीय गन्तव्यका हिसाबले धेरै पर्यटकको रोजाइमा पर्ने अन्नपूर्ण क्षेत्रलाई फेरि जगाउन गाउँपालिकाले विभिन्न कार्यक्रम ल्याएको छ । विदेशबाट फर्केका युवालाई रोजगार दिन र स्वरोजगार बढाउन उद्यममा लगानी बढाउने गरी बजेट ल्याउने गाउँपालिका अध्यक्ष कुँवरले जानकारी दिएका छन् । कोभिड–१९ बाट सिर्जित अवस्थालाई ध्यानमा राख्दै गाउँपालिकाले करको दायरा बढाउने नीति लिएको छ । गाउँपालिकामा दर्ता नभएका सबै व्यवसायलाई करको दायरमा ल्याउन २०७४ सालयताको बक्यौता रकममा लाग्ने जरिवाना पूर्ण रुपमा छुट दिने नीति लिइएको अध्यक्ष कुँवरले बताए ।कार्यविधि बनाएर सार्वजनिक जग्गामा व्यवसाय गरिरहेका सबैलाई करको दायरमा ल्याउने गाउँपालिकाको नीति छ ।





