पोखरा, १० असार– गण्डकी प्रदेशले आर्थिक वर्ष २०७७/०७८ को लागि १८०७ वटा शीर्षकमा बजेट विनियोजन गरिएको छ । अर्थात् यो वर्ष विनियोजित बजेटले १८०७ वटा काम हुँदैछन् । मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयबाट कार्यान्वयन गरिने ‘पूजा खर्च ( सवारी साधन र मेसिनरी ) शीर्षकमा ५ लाख छुट्याइएको छ । असोज १ गते अर्थात् विश्वकर्मा पूजाका दिन सवारी साधन पुजिन्छ । त्यो बेलासम्म कोरोना कहर जारी नै रहने यहाँका आर्थिक मामिला तथा योजनामन्त्री किरण गुरुङको ठम्याई छ । तर, धान छाडेर लप्सी भनेजस्तो पूजाकै लागि ५ लाख छुट्याउन उनी विवश देखिएका छन् ।
संघजस्तै गण्डकी प्रदेशमा पनि नेपाल कम्युनिष्ट पार्टीको दुई तिहाई सरकार छ । धर्म हैन कर्ममा विश्वास गर्ने कम्युनिष्टहरुले पूजापाठमा नै ५ लाख छुट्याएकोमा सोही पार्टीबाट प्रतिनिधित्व गर्ने सभासद दीपक कोइरालाले आश्चर्य व्यक्त गरे । मुख्यमन्त्री, मन्त्री र शक्तिकेन्द्रले रुचाएको क्षेत्रमा बढी आयोजना दिइएको भन्दै सभासदले विनियोजन विधेयकमाथिको छलफलमा प्रश्न उठाइरहँदा सभासद कोइरालाले परम्परावादी तरिकाले बजेट छुट्उयाँदा पुरानै अवस्थामा छौं कि जस्तो लागेको बताए । सत्तापक्षकै भएकाले उनले घुमाउरो पाराले बजेटको बचाउ गरेजस्तो त गरे तर मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा विनियोजन भएको बजेट हेर्दा आफूले सोचेजस्तो नभएको टिप्पणी गरे ।
‘सरकारले नीति तथा कार्यक्रम एक वर्षको लागि बनाउने होइन । संवैधानिक व्यवस्था अनुसार वार्षिक रुपमा आए पनि पचासौं वर्षको लागि सरकारले नीति तथा कार्यक्रम ल्याएको हुन्छ’, उनले भने,‘निर्वाचन क्षेत्र पूर्वधार विकास कार्यक्रम उत्पादनसँग जोड्नु्पर्छ ,कार्यविधिमा पनि आओस् ।’ यता, नवलपरासीबाट प्रतिनिधित्व गर्ने सभासद रोशन गाहा मगरले नवलपुरलाई प्रदेशले विभेद गरेको भदै बागमती वा पाँच नम्बर प्रदेशमा गाभिदिन माग गरे । उनले भने,‘ नवलपुरका ४ गाउँपालिका र ४ नगरपालिकाकोे क्वारेन्टाइनमा बसेकाहरुको स्वाब यत्तिकै थन्किएको छ । यसमा हामीलाई निकै दुख लागेको छ । कि नवलपुरलाई काठमाडौं टेकुबाट बागमती प्रदेशको भरतपुर हो भनेर तोक्नुप¥यो, कि पाँच नम्बरको बुटवल । अरुकोे समयमै जाने र हाम्रो एक महिना थन्किदा नराम्रो लागेको छ ।’
उनले नवलपुरबासीले गण्डकी प्रदेशमा भएकोमो गर्व गरे पनि सम्बन्धित निकायबाट ढिलासुस्ती र विभेद् गर्दा मन दुखेको बताए । ‘अब यस्तो नहुने गरि यसको व्यवस्था होस्’, उनलेभ भने,‘ यसको अर्को अर्थ नलागोस् ।’
अर्का सभासद हरिशरण आचार्यले मुख्यमन्त्री र अन्य मन्त्री आफ्नो क्षेत्रमा बजेट सोहोर्न लागेको आरोप लगाए । ‘३५ अर्बको बजेट विनियोजन गर्दै गर्दा एउटा निर्वाचन क्षेत्रमा ९७ करोड बजेट पर्छ । मुख्यमन्त्रीज्यू तपाईंको निर्वाचन क्षेत्रमा मात्रै दुई अर्बको बजेट छुट्याइएको छ । तपाईं अभिभावक भएर ख्याल गर्नुपर्दैन ?’, उनले प्रश्न गरे,‘ २ अर्ब बजेट छुट्टिइरहँदा अरु निर्वाचन क्षेत्र सौतेली मामिलाका छोराछोरी हुन् ? ’
उनले अगाडि भने,‘अनि मैले समन्वायिक बजेट वितरण गरेको छुँ, तपाईंको खोक्रो बजेट कतिञ्जेल सुन्ने अर्थमन्त्रीज्यू ? यो संसदमा हामी भाँडाकुँडी खेल्न आएका हौं ? केटाकेटीलाई कथा सुनाए जस्तो भाषण सुन्न आएका हौं हामी ? म गोरखा जिल्लाको प्रतिनिधि हुनुको नाताले ४ वटा निर्वाचन क्षेत्र छन् । भौतिक पूर्वाधार मन्त्रीले गोरखा जिल्लामा छुट्टिएको ३ भागको दुई भाग आफ्नो क्षेत्रमा छुटुयाउने । सबैले आफ्नो क्षेत्रमा छुट्याउने भई सकेपछि सबैले मन्त्री बन्न तछाँडमछाँड नगरेर के गर्ने ? चाँकडी र चाप्लुसी गर्ने बाहेक अरु के हुन्छ यो मुलुकमा ? नयाँ संस्कारको विकास कसरी हुन्छ ?’ उनले मुख्यमन्त्री र अर्थमन्त्रीले महंगो गाडी चढ्ने प्रतिष्पर्धा मात्रै गरेको आरोप पनि लगाए ।
पोखराबाट प्रतिनिधित्व गर्ने सभासद विन्दुकुमार थापाले रातो र सेतो किताब अध्ययन गर्दा परम्परागत सोच र मानसिकतामा मात्रै होइन , आगामी चुनावमा प्रतिपक्ष बिनाको नेकपा सरकार बनाउने गरि आएकोजस्तो देखिएको बतए । उनले बजेट विनियोजन र योजना कांग्रेसलाई सिध्याउने गरि आएको जस्तो लागेको धारणा पनि राखे ।‘ उनले भने,‘ यो जनताको बजेट होइन, नेकपा पार्टीको पार्टीमुखी अथवा निर्वाचनमुखी दस्तावेज हो भन्ने मलाई लाग्छ । विपक्षी दलका माननीयलाई भूमिका नहुने गरि बजेट ल्याइएको छ । विशेषगरि पावर पहुँच भएका कर्मचारी र साबिक एमालेका वडाध्यक्ष कर्मचारी र संघका सांसदको मिलिमतोमा बजेट आएको पाएका छौं ।’ उनले आफू व्यक्तिगत रुपमा योजना माग्न नगएको बताउँदै भने,‘ मेरो व्यक्तिगत रुपमा दलबाटबाहेक व्यक्तिगत रुपमा बजेट माग्न गइन । पर्यटन मन्त्रीले पहिला पनि परेन, दुई–चारवटा योजना ल्याउनुस् न भनेर परेको हो । रातो र सेतो पछि पहिलो किताब हेर्न बाँकी छ । गण्डकी प्रदेश राजधानीलाई राजधानी जस्तो बनाउनु पनि त्यतिकै जरुरी छ । सडक पार्किङ, आकाशे पुलहरु बनाउन पर्छ । मन्त्रीज्यू हरुको बाहिरी जिल्लाको भएर हो कि योजनाहरु परेका छैनन् ।’
बजेटबारे कसले के भने ?
हाँच्छिउ लगाउने झार लगाऔं : विष्णुप्रसाद लामिछाने
मैले पनि कहिलेकाहिँले लेख्ने मान्छे । म भित्रको साहित्यिक व्यक्तित्व जागेर आयो । एउटा मुक्तक सुनाउन चाहन्छु ः
भेंडालाई नि गाईं देख्छौं अचम्म छ
बहिनीलाई नि गाईं देख्छौं अचम्म छ
पुतना कृष्णलाई मार्नै आएकी थिईं
उसलाई पनि धाईं देख्छौं अचम्म छ
बजेट मन्तव्य आउँदा कोभिड रोकथामको लागि कम बजेट आए जस्तो लागेको थियो । प्रधानमन्त्रीको अभिव्यक्त सुनेपछि गलत भए जस्तो लागेको छ । बेसार खाएर हाँच्छिउँ गरेर कोरोना भगाउने भएपछि धेरै भयो कि जस्तो लाग्छ । त्यो बजेटले गाई पाल्न सक्छौं । सानो हुँदा खेतमा पाइन्थ्यो हाच्छिउँ झार भन्थ्यौं । त्यो झार विकास गर्न सके हाँच्छिउ आएकोआयै हुन्थ्यो ।
थ्यांक यू भन्छु : कृष्ण थापा
म के अनुरोध गर्न चाहन्छु भने जनताहरु दुई प्रकारले ठगिँदा रहेछन् । एउटा राज्यले राम्रो नजर नलगाउँदा दोस्रो प्राकृतिक सम्पदाका कारण ठगिँदा रहेछन् । बनेको रहेछ भने त्यसैमा हिडौंला नबनेको भए कुन शक्तिले काट्यो ।
बजेट धेरै काटियो । यसमा पनि चित्त बुझाउँदा । बिरकिम्ला नगनि बाख्रा गनेर चित्त बुझाउने कुरा गरेँ । पहिला त आफ्नो हेर्नुप¥यो, आफ्नो निर्वाचन क्षेत्रको सडकको बजेट हेरें । त्यहाँ ११ करोड ७५ लाख विनियोजित भएको रहेछ । अनि अर्कोलाई कसरी छुट्याइयो त भनेर हेर्दै हेर्दै जाँदा एउटा सडक देख,ें मैले त्यहाँ । बेशिंसहर, घलेगाउँ, भुजुङ भन्ने सडक रहेछ । ११ करोड ७५ लाख छुट्याइ दिएकोमा थ्यांक यू भनेर चित्त बुझाएँ ।
पकेटबाट आयो : प्रकाशचन्द्र दवाडी
आज राम्रो किताब आयो कि जस्तो मलाई लागेको थियो । किताबको धेरै चर्चा आयो । किताब त आयो । ढोकाबाट आउँछ कि झ्यालबाट आउछ कि झैं पनि लागेको थियो । तर, पकेटबाट आएको महसुस आयो । घरदैलोमा पुग्ने माननीय ज्यूको आशा विपरित आएको छ । अलि अलि मिसाएर छिर्केमिर्के गराएर आएको छ ।
असोजसम्मको लागि बजेट भनेको अर्थमन्त्रीले धेरै कुरा हेरे । असोजको पछि अर्को बजेट ल्याउने हो कि भन्ने आभाष सरकारमा बस्ने मन्त्रीज्यू हरुलाई भएको हो कि भन्ने महसुस भएको छ । धेरै चोटी पढे पढ्दा गण्डकी सरकार १२, १४ हजार बाँडेर बस्न जस्तो लागेको छ । होइन कि भनेर हेरे वडा कार्यालय जस्तो लाग्यो । स्याना कुरामा अल्झेर जनताको समस्या हल हुँदैन ।
दुर्गम बस्तिमा योजना परेन : खिमविक्रम शाही
आर्थिक बजेटको छलफलमा पनि भनेको थिए । दुर्गम जिल्लाका दुर्गम बस्तिलाई आधारमा बजेट आउला । सरसर्ती हेर्दा केन्द्रमुखी, सहरमुखी, बजारमुखी आएको छ । त्यो पनि बजारको पनि केन्द्रमुखि पालिकाका दुर्गम बस्तिमा योजना परेका छैनन्
अंक बिना नै रिजल्ट : धनमाया पोखरेल लामा
प्राप्त अंक बिनाको रिजल्ट ल्याउन किन हतार ? यसको जवाफ चाहन्छु, मार्कसिट बिनाको सर्टिफिकेटको के अर्थ हुन्छ ? कार्यक्रम मात्रै समावेश भएको बजेटको व्यवस्था भएको छैन ।
विनियोजित रकमको मोटो रकम भौतिक पूर्वाधार मन्त्रालयमा छ । तेस्रो वर्षको बजेट ल्याउदा पनि टेन्डर हुन सकेका छैनन् । यसमा ध्यान जाओस् । पुँजिगत खर्च एकदमै न्युन छ । वैशाखसम्म पुँजिगत खर्च ६२ प्रतिशत रह्यो । लक्ष असारसम्म ६६ प्रतिशत खर्च गछौं भनेर अर्थमन्त्रीले यहीं रोष्टमबाट भन्नुभएको थियो । हामीले कहाँनेर विश्वास गर्ने ? १० महिनामा ३२ प्रतिशत खर्च हुने प्रदेश सरकारको औकात छ । असार र जेठमा ६४ प्रतिशत गर्न क्षमता छ भन्दा पत्याउनुपर्ने ?
राम्रा योजना : पुष्पा केसी भण्डारी
जनतासँग प्रत्यक्ष सम्पर्कमा आउने हेल्लो मुख्यमन्त्री, एक्सन रुम प्रदेश विकास कार्यक्रम व्यवसाय जीवन रक्षा कोष विद्युतीय सुशासन र निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रमलाई विशेष ठानेको छु । समग्रमा राम्रा योजना आएका छन् ।
मन्त्रीका नियतमा कुनै खोट छैन : गायत्री गुरुङ
हामी संघीयताको पहिलो अभ्यासमा छौं । प्रदेश सरकार एकताबद्ध हुँदै सबै माननीयको सुझाव गोलबद्ध गदैं महान अभियानमा सफल हुने नै छ । हामी निर्वाचित भएर आउँदा केही पनि थिएन । हामीले संरचना निर्माण ग¥यौं । नीति थिएन, नीति बनायौं । प्रदेशको नामै थिएन, न्वारन ग¥यौं । राजधानी कसलाई बनाउने भन्ने थिएन । त्यो पनि ग¥यौं,सत्तापक्ष भनेनौं । विपक्षी भनेनौं । नीति बनाएर अघि बढ्यो । प्रदेश सरकारको लक्ष्य एउटै छ । प्रदेशलाई कसरी समृद्ध बनाएर अघि बढ्ने भन्ने छ । मन्त्रीको नियतमा कुनै खोट छैन ।
आधारशिला बन्छ : जुनादेवी नेपाली
महामारीबाट शिथिल भएको अर्थतन्त्रलाई चलायमान र प्रदेशलाई गतिशील बनाउन विनियोजना विधेयकले महत्वपूर्ण भूमिका खेल्ने छ । त्यसको लागि सफलताको शुभकामना व्यक्त गर्दछु । कोभिड १९ को महामारी नियन्त्रण गर्न व्यापार व्यवसाय विकास निर्माण र नागरिकको जीवन सामान्य हुँदै जाने नै छ । समग्र आर्थिक बृद्धिले गति लिने छ । प्रदेश विकासको आधाशिला खडा हुनेमा मैले विश्वास लिएको छुँ ।
जनताको लागि जोखिम : मनबहादुर गुरुङ
यो सरकार यस्तो बेलामा पनि जोखिम मोलेर जनताको हितमा यो प्रदेशका जनतालाई खुसी, सुखी र समृद्ध बनाउन अत्यन्त मेहेनत गरेर दुई अर्बको ऋण लिएर बजेट ल्याएको छ । सरकारको यो उद्देश्यलाई म सकारात्मक छु ।
ठीक बच्चा जन्मोस् : मणीभद्र शर्मा
लोकसेवा आयोगको गर्भाधान भएको छ , लामो प्रसव वेदना छ । ठीकसँग बच्चा जन्मोस् । बच्चाले सरकारले व्यवस्था गरेको सामल तुमल राम्रोसँग उपभोग गर्न पाओस् भन्ने शुभकामना दिन चाहन्छु । सभाको अर्को बैठक असार १६ गते दिनको १ बजे बस्नेछ ।





