बागलुङ, १० असार– बागलुङ नगरपालिकाले आगामी आर्थिक बर्षका लागि झण्डै ९५ करोडको बजेट सार्वजनिक गरेको छ । बुधबार बागलुङ नगरपालिकाको सातौं नगरसभाको दोस्रो बैठकमा उप–प्रमुख सुरेन्द्र खड्काले ९४ करोड ७७ लाख ८७ हजार ५ सय ३५ रुपैयाँको बजेट प्रस्तुत गरेका छन् । आगामी आर्थिक बर्षका लागि प्रस्ताव गरिएको यो बजेट चालु आर्थिक बर्षको भन्दा ९ करोडले कम हो ।
गत आर्थिक बर्षमा बागलुङले एक अर्ब ३ करोडभन्दा धेरैको बजेट ल्याएको थियो । संघ र प्रदेशबाट आउने बिभिन्न शिर्षकका अनुदान तथा सहयोगबाहेक आन्तरिक राजश्व संकलन ८ करोड ७३ लाख रुपैयाँ हुने अनुमान बजेटमा गरिएको छ । शिक्षा, स्वास्थ्य, रोजगारी र कृषिलाई प्राथमिकतामा राखेर नीति तथा कार्यक्रम ल्याएको नगरपालिकाले बजेटको खर्च भने सामाजिक बिकासमा सबैभन्दा धेरै गर्ने अनुमान प्रस्तुत गरेको छ ।
आर्थिक बिकासमा ५ करोड, पूर्वाधार बिकासमा १८ करोड र सामाजिक बिकासका लागि ४७ करोड रुपैयाँ बजेट बिनियोजन गरेको उप–प्रमुख खड्काले नगरसभामा जानकारी गराएका छन् । चालु आर्थिक बर्षमा सञ्चालनमा रहेका कार्यक्रमहरुलाई नै निरन्तरता दिएको बजेटले कोरोनाको रोकथाम र नियन्त्रणका लागि समेत प्राथमिकताका साथ बिनियोजन पेश गरेको छ । रोजगारी सिर्जना र पुरस्कार तथा सम्मानका कार्यक्रमलाई समेत बजेटमा समाबेश गरिएको छ ।







