बागलुङ, १० असार– चालु आर्थिक बर्षको केही योजनाहरुको भुक्तानीमा गाउँपालिकाले अवरोध गरेको भन्दै गाउँसभाका सदस्यहरु सभाहलबाट बाहिरिएपछि जिल्लाको तमानखोला गाउँपालिकाको सातौं गाउँसभा स्थगित भएको छ ।
गाउँसभामा अध्यक्ष जोकलाल बुढाले आगामी आर्थिक बर्षको नीति तथा कार्यक्रम प्रस्तुत गरेपछि नेपाल कम्युनिष्ट पार्टि (नेकपा) निकट सदस्यहरु सभाहलबाट बाहिरिएका थिए ।
आँफु निकट उपभोक्ता समितिले निर्माण गरेका भवन र सडकका योजनामा गाउँपालिकाले भुक्तानी रोकेको भन्दै बहुमत सदस्य बाहिरिएपछि गाउँसभा स्थगन भएको हो ।
गाउँपालिकाले रित नपुगेको भन्दै त्यस्ता योजनाको भुक्तानी रोकेको जनाएको छ । तीन वटा योजनाको सम्पूर्ण भुक्तानी गाउँपालिकाले रोकेको भन्दै नेकपा तमानखोलाले यसअघि विज्ञप्ती नै निकालेको थियो ।
उक्त आयोजनाको भुत्तानी गर्नुपर्ने शर्तसहित नेकपाका जनप्रतिनिधिहरुले माग लिएर आएको तर सार्वजनिक महत्वको प्रस्ताव दर्ता नभएकाले गाउँसभामा छलफल गराउन नसकिएको गाउँपालिका अध्यक्ष जोकलाल बुढाले बताए ।
नेकपा तमानखोलाले भने सम्बन्धित माग पुरा नगरेसम्म सभामा सहभागि नहुने जनाएको छ । गाउँपालिकाको सचिवालयले अर्को सूचना जारी नभएसम्मका लागि गाउँसभा स्थगन गरेको छ ।
गाउँपालिका अध्यक्ष बुढाले प्रस्तुत गरेको आगामी आर्थिक बर्षको नीति तथा कार्यक्रममा कृषि तथा पशुपालनमा आत्मनिर्भर योजना, शिक्षा, स्वास्थ्य र कोभिड—१९ रोकथाम तथा नियन्त्रणमा वजेट प्राथमिकता दिने उल्लेख छ ।





