बागलुङ, १० असार– बागलुङको निसीखोला गाउँपालिकाले आगामी आर्थिक बर्षको लागि ३८ करोड १३ लाख रुपैयाँको बजेट बिनियोजन गरेको छ ।
बुधबार सातौं गाउँसभामा उपाध्यक्ष शोभाकुमारी कार्कीले प्रस्तुत गरेको बजेट र गाउँपालिका अध्यक्ष तारानाथ पौडेलले प्रस्तुत गरेको नीति तथा कार्यक्रम गाउँसभाबाट सर्बसम्मत पारित भएको छ ।
गाउँपालिकाले आगामी आर्थिक बर्षमा पनि पूर्वाधार बिकास, जडिवुटी, बन पैदावार, कृषि, शिक्षा, स्वास्थ्य र रोजगारी सिर्जनामा जोड दिएको छ । गाउँपालिकाले बजेटको ब्रेकडाउन भने गरेको छैन् ।
कुल बजेटको ५० प्रतिशत पूर्वाधार बिकासमा खर्चिने नीति गाउँपालिकाले लिएको छ । सामाजिक बिकासमा २० प्रतिशत, आर्थिक बिकासमा १५ प्रतिशत, बन तथा वातावरणमा १० प्रतिशत र न्याय तथा सुशासनमा ५ प्रतिशत बजेट बिनियोजन गरिएको छ ।
कोरोना भाईरस रोकथाम तथा नियन्त्रणमा केन्द्रित बजेटले १ करोड १५ लाखको विपद् व्यवस्थापन कोष खडा गरेको छ । कोरोनासँग सम्बन्धित गतिविधि र अन्य विपद्हरुको समेत व्यवस्थापन हुनेगरी कोष स्थापना गरिएको गाउँपालिकाले जनाएको छ ।





