बागलुङ, १० असार– बागलुङको जैमिनी नगरपालिकाले किसानले उत्पादन गरेका कृषि उपजको बजार व्यवस्थापनका लागि बजेट बिनियोजन गरेको छ । बुधबार आगामी आर्थिक बर्षको नीति तथा कार्यक्रम र बजेट प्रस्तुत गर्दै नगरपालिकाले कृषिमा जोड दिएको हो ।
नगरले आगामी आर्थिक बर्षका लागि ६३ करोड ४२ लाख २० हजार ३३७ रुपैयाँको बजेट सार्वजनिक गरेको छ । सुन्तला, कागती, कफी, अलैची र महको बजारीकरणका लागि नगरपालिकाले २० लाख रुपैयाँ बजेट बिनियोजन गरेको छ । किसानलाई तत्कालै नगद आर्जन गर्न सकिने बालीतर्फ आर्कषित गर्ने र बजारको समस्या भए नगरपालिकाले खरिद गरेर बजारीकरण गर्ने द्देयले बजेटको व्यवस्था गरिएको नगरप्रमुख इन्द्रराज पौडेलले बताए ।
पौडेलले प्रस्तुत गरेको नीति तथा कार्यक्रम सर्वसम्मतिले पारित भएको छ ।
आगामी बर्षका लागि कोडिभ–१९ बिषेश कार्यक्रम सञ्चालन गर्ने, स्वास्थ्य संस्थाहरुको स्तरबृद्धि तथा सुदृढिकरण गर्ने, कृषि, पशुपालन र रोजगारीका कार्यक्रम सञ्चालन गर्ने नीति लिईएको छ । नगरले जैमिनीधाम–कुश्मीशेरा–फेदी सडकलाई प्राथमिकतामा राखेर बजेट बिनियोजन गरेको छभने कृषि र पशुपालनमा बिषेश कार्यक्रम सञ्चालनमा ल्याउने भएको छ ।
‘नगरप्रमुख पशुपालन परियोजना’का लागि ५४ लाख, ‘नगरप्रमुख कृषि परियोजना’का लागि १५ लाख नियमित कृषि कार्यक्रमका लागि २० लाख र नियमित पशुपालन कार्यक्रमका लागि ११ लाख तथा साझेदारीमा कार्यक्रम सञ्चालनका लागि दशलाख लगायत झण्डै दुई करोड रुपैयाँ पशुपालन तथा कृषि क्षेत्रमा बजेट बिनियोजन गरेको छ । कृषि र पशुपालनबाट स्वरोजगार उत्पादन गर्दै कोभिडको महामारीपछिको आर्थिक बिकासमा लागिने नगर उपप्रमुख लिला रानाले बताए ।





