सोमबार, भाद्र ८ २०८३

सोमबार, भाद्र ८ २०८३
  • ८ भाद्र २०८३ , सोमबार
  • August 24 2026

बजेटमा सम्झिए ऋषिराम, गोविन्द, भगत र विरशाली

बजेटमा सम्झिए ऋषिराम, गोविन्द, भगत र विरशाली

नेता र समाजसेविका नाम जोडिएका कार्यक्रममा नगरको जोड


  • ढोरपाटन संबाददाता
  • असार १३ २०७७, शनिबार

बागलुङ, १३ असार– बागलुङ नगरपालिकाले आगामी आथिक बर्षको बजेटमा नगरको बिकासमा योगदान पु¥याएका नेता तथा समाजसेवीको नाम जोडिएका कार्यक्रम समावेश गरेको छ ।
चालु बर्षमै सञ्चालनमा रहेको ‘गरिवसँग मेयर ऋषिराम’ कार्यक्रम आगामी बर्षमा पनि सञ्चालन हुने भएको छ । नगरपालिकाले शहरी गरिवी निवारणका लागि यो कार्यक्रम ल्याएको हो । आगामी आर्थिक बर्षका लागि २० लाख रुपैयाँ बजेट बिनियोजन गर्दै नगरले शहरी गरिबी न्यूनिकरण कोषलाई सोही कार्यक्रममा समाहित गर्दै कमजोर रहेका परिवारमा आयआर्जनको वातावरण बनाउने कार्यक्रममा परिचालन गर्ने उल्लेख गरेको छ । ऋषिराम शर्मा बागलुङ नगरपालिकाका पूर्व नगरप्रमुख हुन् ।
हृदयघातका कारण मृत्यु भएका तत्कालिन नेकपा एमालेका नेता गोविन्द अधिकारीलाई पनि नगरले सम्झनामा राखेको छ । ‘गोविन्द अधिकारी व्यवसायीक शिक्षा छात्राबृत्ति’ कार्यक्रम आगामी बर्षको बजेटमा समाबेश भएको छ । चालु बर्षमा समेत सञ्चालनमा रहेको यो कार्यक्रमलाई थप प्रभावकारी बनाउँदै युवा शक्तिलाई प्राविधिक तथा व्यवसायीक शिक्षातर्फ आकर्षित गरिने नगरप्रमुख जनकराज पौडेल बताउँछन् ।
यस्तै, नेपालको दलित आन्दोलनका अगुवा नेता भगत सर्वजित विश्वकर्माको नाम जोडिएको कार्यक्रम पनि आगामी बर्ष सञ्चालन हुने छ । ‘भगत सर्वजित विश्वकर्मा सिप तथा रोजगार प्रबद्र्धन’ कार्यक्रम आगामी आर्थिक बर्षबाट कार्यान्वयनमा ल्याईने भएको छ । कार्यक्रम सञ्चालनका लागि कार्यबिधि स्वीकृत भैसकेकाले रोजगारी तथा स्वरोजगार प्रबद्र्धनका लागि कार्यक्रम कार्यान्वयनमा ल्याउने बजेटमा उल्लेख छ ।
साहित्यकार विरशाली पन्तको नाम जोडिएको कार्यक्रम पनि बागलुङ नगरको बजेटमा समाबेश छ । ‘विरशाली पन्त साहित्य पुरस्कार’ कार्यक्रमले हरेक दुई बर्षमा साहित्यको क्षेत्रमा योगदान दिनेहरुलाई पुरस्कृत गर्ने बजेटमा व्यवस्था गरेको छ । अक्षयकोष स्थापना गरेर सोही कोषको परिचालनमार्फत विरशाली पन्तको सम्झनामा पुरस्कार वितरण हुने नगर उपप्रमुख सुरेन्द्र खड्का बताउँछन् ।
नेपाली कांग्रेसका नेता तथा संविधानसभाका सदस्य हरि खड्काको स्मृतिमा धौलागिरी अस्पतालमा स्थापना गर्ने भनिएको ट्रमा सेन्टरले भने आगामी आर्थिक बर्षको नीति कार्यक्रम र बजेटमा निरन्तरता पाएन । चालु आर्थिक बर्षमै सुरु गर्ने भनिएको कार्यक्रम कार्यान्वयनमा नआएकाले उक्त कार्यक्रम हटाईएको नगर स्रोतले बताएको छ । उल्लेखित सबै कार्यक्रमका लागि नगरले दश लाख रुपैयाँ बजेट बिनियोजन गरेको छ ।
‘बजेटको आकार सानो भएपनि कार्यक्रम प्रभावकारीताका हिसावले महत्वपूर्ण छन्’ नगर प्रमुख जनकराज पौडेल भन्छन्– ‘योगदान गर्नेलाई सम्झनु हाम्रो दायित्व हो ।’ व्यक्तिका नाम जोडिएका कार्यक्रमहरु सञ्चालनमा आउँदा नगरकै गरिमा बढ्ने उनको ठम्याई छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->