
पोखरा, १३ असार – नेपालमा सलह कीरा पसेसँगै सामाजिक सञ्जालमा यसको चर्चा सुरु भएको छ । किसानहरु भने चिन्तित भएका छन् । कसैलाई गाली गर्नुपरे ‘तेरो बारीमा सलह पसोस्’ भन्ने सुनेकाहरुले यो कीराबारे कौतुहलता देखाएका छन् ।
शनिबार बिहानदेखि सर्लाही, बारा, रूपन्देहीमा सलह देखिएसँगै यो कीराको हुल गण्डकीमा पनि छिर्ने आशंका गरिएको छ । यद्यपि, यो समाचार तयार पार्दासम्म गण्डकीमा कीरा पसेको आधिकारिक पुष्टि हुन सकेको छैन । ‘सामाजिक सञ्जालबाट थाहा पाइएको छ’,पोखरा महागनरपालिकाका कृषि महाशाखा प्रमुख मनोहर कडरियाले भने,‘ किसानहरुले पनि सामाजिक सञ्जालमार्फत् थाहा पाउनु भएको छ, सचेत हुनुपर्छ, धानको बीउ जोगाउनतर्फ लाग्नुपर्छ, हावाको बहावसँगै आउने भएकाले नआउला भन्न चाहिँ सकिन्नँ ।’
विज्ञहरुले पछिल्लो २ दिन दक्षिण पश्चिमबाट उत्तर–पूर्व दिशामा हावा चलेका कारण सलह नेपाल आइपुगेको हुन सक्ने अनुमान गरेका छन् । पूर्वी अफ्रिकाबाट मध्यपूर्व हुँदै इरान, पाकिस्तान भएर केही महिनाअघि सलह भारत आइपुगेको थियो । यसअघि पछिल्लो समय सन् १९६२ मा नेपालमा सलह आएका थिए । ६० वर्षपछि नेपाल पसेको सलहको बथान कत्तिको ठूलो छ र कति क्षति गर्छ भन्नेबारे केही जानकारी पाइएको छैन । तर, सलहबारे अध्ययन गरेकाहरुको भनाईमा एक वर्ग किलोमिटर क्षेत्रफल ढाक्नेलाई सानो समूह भन्ने गरिएको छ । एक वर्ग क्षेत्रमा ४ देखि ८ करोडसम्म सलह कीरा हुन्छन् । यसले एकै दिनमा ३५ हजार मानिसले खाने अन्न खान सक्छ ।
कृषि विज्ञहरुले सलह आइहाले धानको ब्याड र घोगा लाग्न थालेको मकै जोगाउनतर्फ लाग्न सुझाएका छन् । धानको ब्याड सानो क्षेत्रमा हुने भएकाले झुल राखेर पनि बचाउन सकिन्छ । यस्तै थाल ठटाउने, माइक छ भने बजाउने गर्नुपर्छ । धुवाँ लगाउने गरेर सलह भगाउन सकिन्छ विषादी छर्ने हो भने बिहान ७ देखि ८ बजेसम्म छर्नुपर्छ ।





