महतगौंडामा स्थानीयले समातेको सलह । तस्विर : मनोहर कडरिया ।
पोखरा, १४ असार – गण्डकी प्रदेशमा पनि सलह पसेको छ । शनिबार साँझ नै पोखराका विभिन्न ठाउँमा सलह देखिएको हल्लासहित सामाजिक सञ्जालमा तस्वीर राखिए पनि आइतबार भने साँच्चिकै सलह पोखरा आएको प्रमाणित भएको हो । पोखरा महानगरपालिकाका कृषि महाशाखा प्रमुख मनोहर कडरियाले पोखरा-१७, महतगौंडामा ८/१० वटा सलह देखिएको पुष्टि गरेका हुन् ।
उनका अनुसार ठूलो हुल बाँधेर नआए पनि हावाको गतिमा सलह पोखरा आइपुगेको छ । ‘तितरबितर भएर सहल पोखरा आइपुगेको हुनसक्छ,विभिन्न सरोकारवाला निकायहरुले पहिचानको साथै सहकार्य गर्नुपर्ने देखिन्छ’, उनले भने,‘ सचेत हुन जरुरी छ । ’बाली सखाफ बनाउने सलह पोखरा पसेसँगै यो क्षेत्रका किसानहरुमा पनि सन्त्रास छाएको छ । गण्डकीको भूमि व्यवस्था तथा सहकारी मन्त्रालयकी प्रवक्ता ज्योति क्षेत्रीले सलह गण्डकी पसेपछि के गर्ने भन्नेबारे छलफल चलिरहेको जानकारी दिइन् ।





