शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

ताराखोला गाउँपालिकाको आर्थिक वर्ष २०७७\०७८ को नीति तथा कार्यक्रम (पुर्ण पाठ)

ताराखोला गाउँपालिकाको आर्थिक वर्ष २०७७\०७८ को नीति तथा कार्यक्रम (पुर्ण पाठ)


  • Dhorpatan News
  • असार १२ २०७७, शुक्रबार

सभाका सभा अध्यक्ष ज्यू,
यतिबेला विश्वव्यापी रुपमा फैलिएको कोभिड १९ रोगले विश्व मानव जातिमा संकट पैदा गरिदिएको छ । यो संकटबाट उन्मुक्ति पाउनको लागि नेपाल र विश्व नै प्रयासरत छ र प्रयास कहिले सफल हुने हो भन्न सकिने अवस्था छैन तर छिट्टै यो महामारीको  खोप पत्ता लाग्ने कुरामा आशावादी रहेका छौ । यसको प्रभाव नेपालको सबै स्थानीय तहमा परिरहेकोले यसबाट बच्नको लागि उच्च मनोबलका  साथ सावधानी अपनाउन आवश्यक देखिन्छ । नेपालमा पनि यसको संक्रमण दर बढ्दै गईरहेको छ । यस गाउँपालिकामा भारत लगायत विभिन्न देशबाट आउनुभएका दाजुभाईको आर.डि.टि र पि.सि.आर. विधिबाट परिक्षण भइरहेको छ । हाल गाउँपालिकाले नै क्वारेन्टीन स्थापना गरी विदेशबाट आएका व्यक्तिहरु राख्ने प्रयास गरिएको छ ।हालसम्म तेश्रो मुलुकबाट आएका व्यक्तिहरु ३८ र भारतबाट आई क्वारेन्टिनमा बसेका ब्यक्तिहरुको संख्या १०२ जना रहेकोमा ३३ जनाको पिसिआर नेगेटिभ आई घर फर्किसकेका छन् भने २ जनाको पोजिटिभ आएकोले उनीहरुलाई धौलागीरी अञ्चल अस्पतालमा आईसोलेसन वार्डमा राखी उपचार भईरहेको छ । विदेशबाट इमान्दारीपूर्वक सम्पर्कमा आई अनुशासित तरिकाले क्वारेन्टिनमा बसेर सहयोग गरिदिनुहुने सबै दाजुभाईमा धन्यवाद प्रकट गर्दछु ।  यस संकटपूर्ण घडिमा विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसवाट देशभित्र तथा देशबाहिर ज्यान गुमाउने दाजुभाई,राजनैतिक परिवर्तन, जनयुद्व जनआन्दोलन, लोकतन्त्र प्राप्तिको लागि जीवन उत्सर्ग गर्नुहुने महान सहिदहरुप्रति हार्दिक श्रदाञ्जली अर्पण गर्न चाहान्छु ।
साथै कोभिड १९ संक्रमणबाट उपचारत दाजुभाई दिदिबहिनिहरुमा पुर्ण स्वास्थ्य लाभको कामना एवं लोकतन्त्र प्राप्तिको क्रममा घाइते वेपत्ता हुनुभएका परिवारहरुलाईस्मरण गर्दछु । लिपुलेख, लिम्पियाधुरा, कालापानी क्षेत्रलाई समेट्ने गरी नेपालको नक्सा जारी गरेकोमा नेपाल सरकारको राष्ट्रवादी कदमको स्वागत गर्दछु । साथै कोभिड १९ प्रकोप जताततै फैलिन नदिन लकडाउनको घोषणा एवं कोहिलाई भोको नवसुन भन्ने उद्देश्यका साथ मजदुर विपन्न परिवारलाई राहत वितरणका लागि गण्डकी प्रदेश सरकारले प्रत्येक स्थानीय तहमा राहत घोषणा कार्यक्रम लगायत महामारी फैलिन नदिन गरिएका प्रयास प्रति गाउँपालिकाको तर्फबाट हार्दिक धन्यवाद प्रकट गर्दछु । यस गाउँपालिकामा १६० गरिव तथा विपन्न परिवारलाई स्थानीय उत्पादनमा आधारित खाद्यबस्तु वितरण गरिएको छ । यस संकटपूर्ण घडिमा एकजुट भई महामारी रोकथाम, नियन्त्रण तथा उपचार कार्यमा अहोरात्र खटिने स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, एम्बुलेन्स चालक तथा राष्ट्रसेवक कर्मचारीहरुको योगदानको उच्च सम्मान गर्दछु । साथै आफ्नो जन्म थलोबाट बिदेशी भुमिमा कर्मथलो बनाई यस संकटपूर्ण घडिमा अभियानकै रुपमा आर्थिक सहयोग गर्ने सम्पूर्ण जापान लगायत अन्य मुलुकमा रहनु भएका दाजुभाई दिदिबहिनीहरुमा सम्मान गर्दै यहाँहरुको काममा अझै सफलता मिलोस भन्ने शुभकामना दिन चाहान्छु ।
स्थानीय सरकार निर्माण देखि हालसम्मस्थानीय सरकारलाई प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा सहयोग गर्नु हुने राजनैतिक दल, पत्रकार, शिक्षक, वुद्विजिवी, सामाजिक अगुवा आम-जनसमुदायहरुलाई धन्यवाद दिदै आगामी दिनमा पनियस गाउँपालिकाले गर्ने हरेक काममा यस्तै सहयोग सुझाव र सक्रिय भुमिकाको अपेक्षा गर्दछु ।
गाउँपलिकामा जनप्रतिनिधी सहितको स्थानीय सरकार संचालन भएको आज ३ बर्ष पुरा गरी चौथो बर्षमा प्रवेश गर्दैछ । यस बिचमा हामी आर्थिक बर्ष २०७६।०७७ लाई पार गर्दै आगामी आर्थिक बर्ष २०७७।०७८ को नीति तथा कार्यक्रम निर्माण र कार्यान्वयनको चरणमा जुटिरहेका छौ । यसले समाज र समुदायका विभिन्न आवश्यकतालाई सम्वोधन सन्दर्भमा राज्य संचालनको एक बर्षको आयोजना र कार्यक्रमको रुपरेखा (प्याकेज) घोषणा गर्ने कुरा जुनसुकै सरकारका लागि महत्वपुर्ण अर्थ राख्ने भएकाले चालु आर्थिक बर्षको मुल्याङ्कन सहित आगामी वर्षको रणनीति तयार अनुमानित आय र प्रस्तावित खर्चको ढाँचा निर्माणले ताराखोला गाउँपालिकाको अगाडिको बाटोलाई मागदर्शन गर्न मद्वत पुग्ने विश्वास लिएको छु ।
सभाका अध्यक्ष एवं सदस्य ज्युहरु,
स्थानीय स्तरमा रहेको श्रोत साधन र मानवीय जनशक्तिको व्यवस्थित परिचालन र प्रयोगले नै कुनैपनि स्थानीय तह समग्र राष्ट्रको सोच र लक्ष्य निर्धारण हुने  भएकाले समयवद्द अनुसारको योजना र कार्यक्रम सु-स्पष्ट ढंगले कार्यान्वयन हुने, अपेक्षितप्रतिफल दिने समन्यायीक वितरण र  दिगो विकास समेत हुने रणनीति अवलम्वन गर्न आवश्यक देखेको छु । त्यसको लागि संघ र प्रदेशको योजना र कार्यक्रम लक्ष्य पालिकाको आवधिक विकास योजना साथै मध्यवधी खर्च संरचना सँग तादाम्यता मिलाई आयोजनाको प्राथमिकीकरण गर्न आवश्यक ठानेको छु ।साथै अनुगमन, मुल्याङ्कन, पारदर्शिता, जवाफदेहिता सुशासनको पक्षलाई अझै शसक्त र प्रभावकारी ढंगले अगाडि बढाउने दृद्वता व्यक्त गर्दछु ।
ताराखोला गाउँपालिका पहाडि भुभागयुक्त जमिन रहेको अधिकाँश क्षेत्रफल जंगलले ढाकेको र छरिएको बस्ती रहेको गाउँपालिका हो, अर्गानिक खेती यहाँको पहिचान हो । यसको क्षेत्रफल १२९.५२ वर्गकिलोमिटर रहेको छ, यस गाउँपालिकाले जिल्लाको झण्डै ७.२६% भूभाग ओगटेको छ । गाउँपलिकाको कुल जनसख्या घरधुरी सर्वेक्षण २०७४ अनुसार १४,३६९ रहेको छ । गाउँपालिका समुन्द्र सतहदेखि करिब १३३३ मिटर देखि ३५२४ मिटरसम्मको उचाईको भूभागमा अवस्थित रहेको छ ।
कृषि यहाँका बासिन्दाहरुको मुख्य पेशा हो, बैदेशिक रोजगारी र कृषिमा यहाँको आम्दानीको मुख्य श्रोत रहेको छ । गाउँपालिकामा मुख्य गरेर मकै, कोदो, जौ, गहुँ, फापर, धान, उवा आदी प्रमुख खाद्यन्न वाली तथा आलु, केराउ, तोरी, मूला, लसुन, प्याज, सिमी, भटमास, भागो, अलैची, किवी आदी नगदे वालीको रुपमा खेती गरिन्छ । गाउँपालिकाकोकुल २३३५.२६ हेक्टर जमिन मध्ये २३.१ हेक्टर खेत, ८१६.४५ हेक्टर बारी र १४९५.४५ हेक्टर पाखो रहेको छ । गाउँपालिकाले लिएको एक सर्वेक्षण अनुसार कृषि जन्य बस्तुको जम्मा उत्पादन २६५१.९५ मेट्रिक टन र विक्रि परिमाण ५५५.९८८ मेट्रिक टन रहेको छ । साथै गाउँपालिकामा आफ्नो उत्पादनले ३ महिनासम्म खान पुग्ने परिवार संख्या ४४७,३ देखी ६ महिनासम्म खान पुग्ने परिवार संख्या ९९८, ६ देखी ९ महिनासम्म खान पुग्ने परिवार संख्या ४६० र बर्षैभरी खान पुग्ने परिवार संख्या २२६ रहेको छ । पशुपालनमा रागाँ, भैसी, बाख्रा, भेडा, कुखुरा, हास, बंगुर, परेवा, रेन्वोट्राउट माछा आदी मासु तथा दुध उत्पादनका आधारहरु हुन् ।गाउँपालिकामा जम्मा घर पालुवा पशुको संख्या १२,८१७ र पंक्षीको संख्या १२०४५ रहेको छ ।बाख्रा फर्म १३ वटा, भेडा फर्म ४वटा, कुखुरा फर्म ७ वटा, गाई फर्म १ वटा, बंगुर फर्म ५ वटा, र भैसि फर्म ६ वटा रहेका छन।बार्षिक पशुजन्य जम्मा आम्दानी रु. २,२४,४३,३२९ रहेको छ ।
राइसमिल, अल्लो कपडाको धागो उत्पादन , नेपाली हाते कागज, ढाकाटान बुनाई, सिस्नो पाउडर, फर्निचर, स्लेट ढुङ्गा टायल, उद्योगहरु साना तथा घरेलु उद्योगभित्र सुचिकृत भएका छन र अन्य खनिजजन्य बस्तुको अन्वेषण शुरु गर्न सके अर्थतन्त्र सुधार र रोजगारीको प्रचुरसम्भावना रहेको छ । यसको लागि संघीय सरकार र स्थानीय सरकारले महत्वपूर्ण भुमिका खेल्नुपर्ने देखिन्छ ।
दरमखोला जलबिद्युत, सयपत्री हाइड्रोपावर (२.५ मे.वा.), ताराखोला साना जलबिद्युत परियोजना (३८० कि.वा.) संचालनमा रहेको छ। अन्य जलबिद्युत परियोजनाहरु निर्माणधिन संचालनको प्रक्रियामा अगाडि बढेको छ ।
गाउँपालिकामा बजार क्षेत्रमा होटेल ,  स-साना रेष्टुरेन्टहरु संचालनमा छन् । गाईघाट झरना,  डुँडेलेक, तिनचुले, थामी, घुम्टे, कालीलेक आदी रमणीय प्राकृतिक पर्यटकीय स्थलहरु हुन । भुसपोल्ने मेला , भदौरेमेला, असारे मेला, हरिवोदनी एकादशी, तमु लोसार, माघेसंक्रान्ति, दशैतिहार, तिज, पुत्रबढाई, छाङ्ग्रा खाने, विवाह, कुलपुजा, वैकुण्ठ चतुर्दशी मेला, पञ्चेबाजा, सालेजो, चुट्के भाका, यहाँको सास्कृतिक मेला र सस्कृतिक पर्वहरुहरु हुन ।
सभा अध्यक्षज्यू,
भौगोलिक विकटता, छरिएको बस्ती, सचेतनाको कमी आदि समस्या रहेपनि नेपालको नयाँ संविधानले निर्दिष्ट गरेको  स्थानीय तहको एकल अधिकारहरु सफलतापूर्वक कार्यान्वयन गरी जनतामा स्थानीय सरकारको प्रत्यक्ष प्रत्याभुति दिन सकिने हामी सामु राम्रो अवसर रहेको छ ।नेपाल सरकार र गण्डकी प्रदेश सरकारका नीति तथा कार्यक्रम तथा आवधीक योजनामा सहकार्य र समन्वय गरी दीर्घकालिन र रणनैतिक महत्वको योजना संचालन गर्न सकिने सम्भावना र अवसर रहेको छ ।गाउँपालिकामा बिद्यमान रहेका मानविय जनशक्ति र प्राकृतिक श्रोतहरुको समुचित उपयोग र परिचालनबाट अधिकतम फाइदा लिन सकिने सम्भावना रहेको छ ।साँस्कृतिक कला, सस्कृति तथा प्राकृतिक एवं पर्यटन क्षेत्रको पहिचान र पुर्वाधार विकासबाट आयआर्जनमा वृद्वि गर्न सकिने सम्भावना छ ।कृषि, पशुपालन, काठजन्य, खनिजजन्य उद्योग स्थापनाको माध्यमबाट रोजगारी सृजना गरी स्थानीय अर्थतन्त्र बलियो बनाउन सकिन्छ भने प्राकृतिक रुपमा रमणीय स्थलहरुको प्रचार प्रसार गरी पर्यटन गन्तब्य स्थलहरु निर्माण गर्न सकिने सम्भावना रहेको छ ।
उल्लेखित सम्भावनाका बावजुद भौगलिक बिकटता छरिएर रहेको बस्तिमा भौतिक पुर्वाधारमा गरिने लगानी महंगो हुनु,बसाइसराईको कारण सार्वजनिक क्षेत्रमा गरिएको लगानीको समुचित उपयोग हुन नसक्नु,कम दक्ष जनशक्ति सीप र जनचेतनाको कमिले आत्मनिर्भर बन्ने कुरामा आत्मबिश्वासको कमि हुनु, बदलिएको परिस्थिति अनुसार आनीबानीमा रुपान्तरण हुन नसक्नु,उच्च शिक्षा प्राविधिक शिक्षा पढ्ने भौतक वातावरण तयार हुन नसक्नु, युवा पुस्तामा स्वरोजगार हुन सीप विकास तथा लगानी गरी श्रम गर्ने बानीको विकास हुन नसक्नु, जनताका असिमित आवश्यकतालाई हामीसंग भएको न्यून श्रोत साधनले परिपुर्ति गर्न नसक्नु अहिलेका समस्याहरु हुन ।
गाउँपालिका विद्यमान भौतिक पुर्वाधार निर्माण सँगै प्राकृतिक स्रोत, वनजंगल, जडिबुटी,जमिन र सक्रिय जनशक्तिलाई व्यवस्थित परिचालन र व्यवस्थापन गर्न सके नेपाल सरकारको लक्ष्य समवृद्व नेपाल र सुखी नेपालीको सपना साकार पार्न ताराखोला गाउँपालिकाले समेत उपयुक्त भुमिका खेल्न सक्ने अवसर हामी सामू रहेको छ ।

सभा अध्यक्ष ज्यू,

उल्लेखित समस्या र सम्भावनाहरु विद्यमान रहे पनि हामीले निम्न चुनौतीहरुको सामना गर्नु परिरहेको छ ।

  • विश्वव्यापीरुपमाफैलिरहेकोकोरोना भाइरसको संक्रमणले पारेको प्रभाव र यसको रोकथाम तथा नियन्त्रण गर्न र यसलाई समुदायमा फैलिन नदिन हामीलाई मुख्य चुनौती रहेको छ
  • आर्थिक र सामाजिक रुपमा पिछडिएको वर्ग समुदायलाई विकासको मुल प्रवाहमा समाहित गर्न चुनौती रहेको छ ।
  • कृषि र पशुपालन व्यवसायीकरण र आधुनिकरण गर्न अर्को चुनौती रहेको छ ।
  • सार्वजनिक बिद्यालयहरुमा शैक्षिक गुणस्तर वृद्वि गरी राष्ट्रिय र अन्तराष्ट्रिय स्तरको प्रतिस्पर्धी उच्च शिक्षा र प्राविधिक शिक्षा हासिल गर्ने जनशक्ति उत्पादन गर्न ।
  • स्वास्थ्य सेवालाई सघन तुल्याई नसर्ने रोगहरुको उपचारमा सहज पहुँच बिस्तार गर्न ।
  • सामाजिक बिकृति बिसंगति न्युनिकरण र आनिवानीमा सुधार गर्न ।
  • विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरस र यसले वैदेशिक रोजगारीमा पारेको प्रभावका कारण गाउँपालिकामा फर्केका युवाहरुलाई रोजगारी सृजना गरी स्वावलम्बी बनाउन

सभा अध्यक्ष महोदय,

चालु आर्थिक वर्षको लक्ष्य र उद्देश्यको समिक्षा

चालु आर्थिक वर्षमा देहायका लक्ष्य तथा उद्धेश्य राखिएको थियो

  • कृषि, पशुपालन र पर्यटन प्रर्वद्वन गरी रोजगारी सृजना गर्ने र गरिबी निवारण गर्ने ,
  • गाउँपालिकामा प्राप्त खनिजहरुलाई व्यवस्थित गरी त्यसबाटको आयलाई विकास निर्माणमा प्रयोग गर्ने,
  • सार्वजनिक पुर्वाधारको निर्माण गरी व्यवस्थित गराउने,
  • प्रशासनिक नितिगत तथा कानुनी सुधार गरी सस्थागत क्षमता अभिवृद्वि गर्ने ,
  • स्वास्थ्य र शिक्षालाई गुणस्तरिय बनाई स्वच्छ र प्रतिस्पर्धी नागरिक उत्पादन गर्ने ,

सभाका सभा अध्यक्ष ज्यू,

माथि उल्लेखित नीति तथा कार्यक्रमबाट हालसम्म निम्न बमोजिमको प्रगती हासिल भएको छ ।

  • गाउँपालिकाको प्रशासनिक भवन ठेक्का प्रक्रिया अगाडि बढी सम्झौताको चरणमा पुगको छ ।साथैबहु उद्धेश्यीय सभाहल निर्माणको काम अन्तिम चरणमा पुगेको छ ।
  • वडा नं. ४ को वडा कार्यालय निर्माणधीन अवस्थामा रहेको छ ।
  • स्थानीय पुर्वाधार कार्यक्रम अन्तर्गत नेपाल मा.वि.को ४ कोठे भवन निर्माणको काम अन्तिम चरणमा पुगेको छ । साँस्कृतिक संग्रालय निर्माणको लागि ठेक्का प्रकृया अन्तिम चरणमा पुगेको छ भने औधोगिक ग्रामको ठेक्का सम्झौता भई कार्यन्वयनको चरणमा रहेको छ ।
  • हटिया-हरिचौर-सादी-तारा सडक बहुवर्षिय ठेक्का मार्फत कालोपत्रे सडकको काम अगाडि बढेको छ ।माझखर्क-खरिखोला-अर्गल-तारागाउँ सडक पिचको लागि प्रदेश सरकारबाट टेन्डर प्रक्रिया अगाडि बढेको छ ।रिजालचोक-अमरभुमी-अर्गल-तारा सडकको मर्मत सम्भार मार्फत वाह्रै महिना चल्न सक्ने भएको छ ।रिजालचोक-माझखर्क-दरमभैसे सडकको स्तर उन्नती कार्य भइरहेको छ ।भुस्कात-माझखर्क ट्रयाक खोल्ने काम सम्पन्न भएको छ ।
  • सबै वडा कार्यालय, स्वास्थ्य चौकी, सामुदायीक बिद्यालयको मा.वि. मा ईन्टरनेट जडान भएको छ । विद्यालयहरुमा विद्यार्थी अभिभावक सूचना प्रणाली जडान गरिएको छ ।गाउँपालिका स्तरिय सामुदायीक बिद्यालयका शिक्षक तालिम, राष्ट्रपति रनिङसिल्ड खेलकुद प्रतियोगिता, उत्कृष्ट खेलाडी सम्मान कार्यक्रम सम्पन्न भएको छ । साथै नमुना बिद्यालय र आवासीय विद्यालय निर्माण सम्बन्धी सम्झौताको कार्य अगाडि बढेको छ । वालबिकास केन्द्रमा वालबालिका हरुका लागि पौष्टिक खाजाको सञ्चालनमा रहेको छ । विद्यालयका बालबालिकाको लागि अतिरिक्त क्रियाकलाप अन्तर्गत सञ्चालन गरिदै आईएको छ ।गाउँपालिकाका दामुदायीक विद्यालयमा अध्यनरत जेहेन्दार छात्रछात्रालाई पुरस्कृत गरिएको छ ।
  • लेखा प्रणालीलाई सुत्रमाआवद्ध गरिएको छ ।
  • हालसम्म १८ ऐन र ८ नियमावली  र ६ वटा कार्यविधी तर्जुमा भई कार्यन्वयनमा रहेका छन्।
  • स्थानीय सरकारको संरचना अनुसार कर्मचारीको पदपुर्ती भएको छ ।
  • कोभिड १९ समुदायमा फैलिन नदिन क्वारेन्टीनको व्यवस्था गरिएको छ, PCR र RDT परिक्षणको कार्य भइरहेको छ ।
  • प्रमुख पर्यटकीय गन्तव्यहरुको डिपिआर तयार भई स्रोत व्यवस्थापनमा पहल गरिएको छ ।
  • चालु आर्थक वर्षमा सञ्चालनमा रहेका समुदाय स्तरका साना आयोजनाहरुका अधिकाँश कार्यहरु सम्पन्न भईसकेका छन् ।
  • कोभिड-१९ संक्रमणको जोखिमलाई मध्यनजर गरी गाउँपालिकामा कार्यरत कर्मचारी, जनप्रतिनिधी, पत्रकार, सुरक्षाकर्मी, लगायतको विमा गरिएको छ ।
  • गाउँपालिका जोड्ने मुख्य सडक प्रदेश सरकारबाट ठेक्का प्रकृया अगाडी बढेको छ । भने अन्य सहायक मार्गहरुको ट्र्याक खोल्ने कार्य अधिकाँश भागमा सकिएको छ ।वडाका टोल बस्ती सम्म पुग्ने कच्ची सडक पुरा भएको छ ।
  • कृषिलाई आधुनिकिकरण र व्यवशायीकरण गर्न कृषक तालिम, विउविजन वितरण, औजार वितरणको कार्य नियमित रुपमा भईरहेका छन ।कृषि कार्यक्रम अन्तर्गत अलैचीको ब्लक क्षेत्र कार्यक्रम संचालन, आलु जोन कार्यक्रम संचालन, किवी पकेट कार्यक्रम संचालन, १३००वटा किवी विरुवा ५०% अनुदानमा वितरण, जैविक विषादी उत्पादन सम्बन्धी तालिम, वोर्डो पेष्ट र वोर्डो मिश्रण बनाउने सम्बन्धी तालिम संचालन, साना सिँचाई , भकारो सुधार कार्यक्रम, जैविक विषादी तथा फेरोमेन ट्रयाप वितरण, तरकारी नर्सरी निर्माण कार्यक्रम, कृषि तथा पशुपंक्षि तथ्याङ्क संकलन कार्यक्रम, पशुपंक्षि विमा कार्यक्रम, जुनेटिक रोग सम्बन्धी स्कुल प्रसार शिक्षा, ४२०० पशु उपचार सेवा, ९३०० पंक्षि उपचार सेवा, २४ वटा साना पशुपालन, भेडा फार्म र लोकल कुखुरापालन फर्म स्थापना तथा सृदिढिकरण, पशु प्रजनन तथा कृत्रिम गर्भाधान गोष्ठी,घासको बिउ वितरण गर्ने कार्य सम्पन्न भएको छ ।
  • पशु उपचार तथा निशुल्क औषधी वितरणको कार्यलाई निरन्तरता दिईएको छ ।
  • कोभिड-१९ बाट प्रभावित दीर्घ रोगीहरुलाई निःशुल्क औषधी वितरणको कार्य गरिएको छ भने नेपाल सरकारले तोकेका औषधीहरु निशुल्क वितरणको व्यवस्था मिलाईएको छ । सुत्केरी, गर्भवती, कमजोर आर्थिक अवस्था भएका विरामिहरुलाई निशुल्क एम्बुलेन्स सेवा सञ्चालन गरिएको छ भने अन्य विरामीहरुलाई पनि न्यून शुल्कमा एम्बुलेन्स सेवा उपलब्ध गराईएको छ ।स्वास्थ्य कर्मचारी समायोजन पछि स्वास्थ्यसंकट व्यवस्थापनका लागि रिक्त रहेका दरबन्दीमा करार कर्मचारी भर्ना गरी सेवा प्रदान, संघीय कार्यक्रमहरु हात्तिपाइले,परिवार नियोजन, क्षयरोग जस्ता कार्यक्रमहरु सम्पन्न भएका छन, महिला स्वयमसेविकाहरुको क्षमता अभिवृद्वि तालिम, सुत्केरी तथा गर्भवती महिलाहरुको लागि पोसिलो खानेकुरा वितरण, सामुदायीक विद्यालयका छात्राहरुको लागि सेनेटरी प्याड व्यवस्था गरिएको छ ।
  • सामाजिक सुरक्षा र पञ्जीकरणलाई अनलाईन पद्धतीमा लगिएको छ, चालु आर्थिक बर्षको फाल्गुन सम्म १३०३ जनालाई अपाङ्गता सम्बन्धी परिचयपत्र वितरण गरिएको छ भने३२५ जन्म दर्ता, ७३ मृत्युदर्ता, १०५विवाहदर्ता ३१बसाईसराई, १सम्बन्धविच्छेद  घटना दर्ताभएका छन् ।
  • प्रदेश सराकारबाट संचालित लावाङ, हल्पुखोला स्कीम, माझखर्क खानेपानी, नागबेलीखोला खानेपानी सम्पन्न भएको छ भने थापा गैरा तारा ४ र ५ को खानेपानी आयोजना हल्पुखोला निर्माणधीन अवस्थामा छन् ।
  • गाउँपालिकाको आर्थिक सहयोगमा गाउँपालिकामा थप एउटा सामुदायीक होमस्टे स्थापना गरिएको छ ।
  • गाउँपालिका स्तरीय खेलकुद मैदान स्थापनाको लागि कार्य सञ्चालन भईरहेको ।
  • गाउँपालिकामा रहेका जलबिद्युत आयोजनाहरु संचालन भई प्रत्येक घरमा बिद्युत पुगेको अवस्था रहेको छ। काठको पोल विस्थापित गर्न गाँउपालिकाको बजेटबाट पोल खरिदको कार्य अन्तिम चरणमा पुगेको छ ।

चालु आर्थिक वर्षको कुल बजेट रु २५ करोड ७० लाख ३१ हजार ८०० मध्येहालसम्म कुल खर्च औषत खर्च ६३.२७ % रहेको छ,  चालु खर्च ७५.०३ प्रतिशत र पुँजीगत खर्च ५१.५० प्रतिशत भएको छ ।

सभा अध्यक्ष तथा सदस्य ज्युहरु,

अब म आगामी बर्ष २०७७/७८ को नीति तथा कार्यक्रम प्रस्तुत गर्न चाहान्छु । आगामी आर्थिक वर्षको वजेट, नीति तथा कार्यक्रम तर्जुमा गर्दा निम्न आधारहरु तय गरिएको छ ।

  • नेपालको संविधान, २०७२
  • स्थानीय सरकार सञ्चालन ऐन, २०७४
  • प्राकृतिक स्रोत तथा वित्तिय आयोचग ऐन, २०७४
  • संघ र प्रदेश सरकारले जारी गरेको नीति, कानून तथा मापदण्ड
  • संघ, प्रदेश र स्थानीय सरकारको आवधिक विकास योजना
  • गाउँपालिकाको मध्यवती खर्च संरचना
  • गाउँपालिकाको श्रोत साधन
  • विकासका अन्तर सम्बन्धित विषयहरु
  • दिगो विकासका लक्ष्यहरु
  • नेपाल सरकारले अन्तराष्ट्रिय जगतमा गरिएका प्रतिवद्वताहरु

सोचः कृषि, वन, खनिज र पर्यटन उद्यमशिलताका लागि सबल पुर्वाधार समृद्व समन्यायीक ताराखोला विकासको मुल आधार ।

उद्देश्यः
राजनैतिक लोकप्रियताका लागि श्रोत साधन छर्ने तरिकाले योजनाहरु त धेरै बन्न सक्छन् तर त्यस्ता आयोजना / कार्यक्रमहरुबाट गाउँपालिकालेप्रतिफलप्राप्त गर्न सक्दैन त्यसैले छिटो प्रतिफल दिने, गरिवी निवरण गर्ने, रोजगारी श्रृजना गर्ने तथाउपलब्धीमुलक आयोजनाहरुलाईआगामी आर्थिक बर्षमा विशेष ध्यान दिने । बजेट विनियोजन गर्दा वहुबर्षे आयोजना, समपूरक योजना साथै नतिजामूखि आयोजनालाई प्रथामिकता दिने ।

  • कोभिड १९ को महामारी रोकथामलाई प्राथमिकता दिने ।
  • कोभिड १९ को महामारी रोकथाम गर्न खटिने स्वास्थ्यकर्मी लगायत कर्मचारीहरुको सुरक्षालाई प्रथामिकता दिने । समुदायमा यस संक्रमणले पार्ने मनोवैज्ञानिक त्रास न्यूनिकरण गर्ने ।
  • कृषि, पशुपालन र पर्यटनको माध्यमबाट आयआर्जनमा वृद्वि गरी जीवन स्तर उकास्ने कार्यक्रम संचालन गर्नु ।
  • कोभिड-१९ को प्रभावबाट बैदेशिक रोजगारी गुमाएका युवाहरुलाई लक्षित गरी कृषि र पशुपालन व्यवशायलाई प्रवर्धन गर्ने ।
  • गाउँपालिकाको श्रोत साधनको व्यवस्थित प्रयोग गरी रोजगारी सृजना गरी गरिबी निवारण गर्नु ।
  • स्वास्थ्य र शिक्षालाई गुणस्तरीय बनाई स्वच्छ र प्रतिस्पर्धी नागरिक उत्पादनमा जोड दिईनेछ ।
  • स्वच्छ खानेपानी र सरसफाई सम्बन्धी कार्य गरी असल स्थानीय शासनको प्रत्याभूती गराउने ।

आर्थिक विकास क्षेत्रः

  • कृषि तथा पशुपालनः
  • कृषि पूर्वाधार विकास तथा कृषि यान्त्रीकरण प्रर्वद्वन कार्यक्रम संचालन गरिनेछ ।
  • आयआर्जनका लागि कृषि तथा पशुपंक्षी युवा लक्षित कार्यक्रम संचालन गरिनेछ ।
  • गरिब तथा विपन्न किसानहरुका लागि मागमा आधारित बाख्रापालन कार्यक्रम संचालन गरिनेछ ।
  • राष्ट्रिय फलफुल विकास कार्यक्रम संचालन गरिनेछ ।
  • बाख्राको साना व्यवसायिक कृषि उत्पादन केन्द्र (पकेट) विकास कार्यक्रम संचालन गरिनेछ ।
  • संघ र प्रदेश सरकार सगँको साझेदारीमा एक “वडा एक एकिकृत नमुना कृषि फर्म” स्थापना गरी वैदेशीक रोजगारी गुमाएका युवाहरुलाई परिचालन गरिने छ ।
  • कृषि उत्पादितलाई संकलन गर्न बृहत खाद्य भण्डारण केन्द्र निर्माण गरिने छ ।
  • ओखर तथा किवी खेति तर्फ आकर्षित गर्न कृषकहरुलाई ५०% अनुदानमा विरुवा वितरण गरिनेछ ।
  • प्रधानमन्त्री कृषि आधुनिकरण परियोजना कार्यक्रम प्रभावकारी रुपमा कार्यान्वयन गरिनेछ ।
  • दुग्ध संकलन केन्द्र स्थापना गरी दुध वजारीकरणको लागि सहज बनाइनेछ ।
  • कृषि तथा पशु विमा कार्यक्रमलाई प्रभावकारी रुपमा संचालन गरिने छ ।
  • बाझो जग्गाहरुको एकिकृत तथ्याङ्क संकलन गरी पूर्ण उपयोग गर्ने व्यवस्था मिलाउन भूमि बैकको स्थापना गर्ने अभियान सञ्चालन गरिने छ ।
  • कृषि तथा पशुपालन फर्म स्थापना गर्न उद्यमीहरुलाई कृषि अनुदानको कार्यक्रम मार्फत प्रोत्साहन गरिनेछ।
  • प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत विपन्न श्रमिकको दैनिक ज्यालादारीमा गरिने कार्यक्रमलाई व्यवसायीक कृषि र पशुपालनसंग आवद्ध गरी आयआर्जन सँग जोडिनेछ ।
  • सहकारी तथा वित्तिय क्षेत्रः
  • सहकारी संचालकहरुलाई तालिम तथा कोभिड १९को प्रकोपलाई मध्यनजर गर्दै अन्य स्थानहरुका सहकारीहरुले गरेका नमुना कामहरुकोअध्ययन गराउन भ्रमणको लागि व्यवस्था गरिने छ ।
  • सहकारीहरुको संख्या कटौती गरी कार्यक्षेत्रका आधारमा गाभ्ने कार्यको थालनी गरिनेछ ।
  • सहकारी मार्फत आधुनीक कृषि तथा पशुपालन, पर्यटन लगायत लगानी बढाउन आवश्यक नीति तय गरिने छ ।
  • उद्योग तथा वाणिज्यः
  • लघु उद्यम विकास मोडेलमा नयाँ उद्यमीहरु निर्माण गर्ने नीति लिइनेछ ।
  • गाउँपालिका भित्र संचालन हुने विभिन्न उद्योगमा आम नागरिकको सेयर लगानी गर्ने र त्यसको लागि पालिका भित्र रहेका अति विपन्न गरिब परिवारको लागि निश्चित प्रतिशत सेयर गाउँपालिकाले लगानी गर्ने नीति अवलम्बन गरिने छ ।
  • खनिज जन्य उद्योग सम्भाव्यताको खोजअनुसन्धानको लागि नेपाल सरकार र प्रदेश सरकारलाई अनुरोध गरिनेछ ।
  • औद्योगिक ग्राम भित्र कुनै पनि उद्योग संचालन गर्ने उद्योगी व्यवसायीहरुलाई प्रोत्साहन तथा सहजीकरण गरिनेछ ।
  • उद्यमीको स्तरउन्नती गर्नको लागि उनीहरुको आवश्यकता पहिचानको आधारमा पनर्ताजकी एडभान्स सीपविकास तालिम कार्यक्रम संचालन गरिनेछ ।
  • गाउँपालिकामा रहेका सम्पूर्ण ढुंगा, तामा एवं अन्य खानीहरुको संरक्षण गरी रोजगारी सृजना गर्न खानीजन्य उद्योग प्रवद्र्धनको नीति अबलम्बन गरिनेछ । औधोगिक ग्राममा ढुंगा प्रशोधन उद्योग स्थापना गर्न प्रोत्साहन गरिनेछ ।
  • पर्यटन क्षेत्रः
  • गाईघाट झरना, घुम्टे, डुडेलेख, तिनचुले, सिर्खूनिहाङ, कालीलेख प्राकृतिक क्षेत्रहरुलाई पर्यटन गन्तव्य बनाई पर्यटन पूर्वाधार कार्यक्रम समचालन गरिने छ ।
  • भुसपोल्ने पर्व, असारे पर्व, सिस्नो खोस्ने, भदौरे मेला, वैकुण्ठ चतुर्थी मेला, हरिवोदनी एकादशी, तमु ल्योसार, पञ्चे बाजा, परम्परागत भजन कला र सास्कृतिको संरक्षण तथा प्रचारप्रसार गरी पर्यटकीय गन्तव्य बनाउन कार्यको थालनी गरिने छ ।
  • पर्यटक आवागमन र बसोबासलाई आधुनिक र व्यवस्थित वनाउन होमस्टे  स्थापना साथै क्षमता अभिवृद्वि  कार्यक्रम संचालन गरिनेछ ।
  • पुराना सस्कृतिलाई नयाँ पुस्तामा हस्तान्तरण गर्न तालिम संचालन गरिनेछ ।गाउँपालिकाको एकीकृत दीर्घकालीन पर्यटन गुरुयोजना निर्माण गरिनेछ ।
  • गाईघाट झरना, मोतिमारे (कालीबराह मन्दिर) कालिलेख क्षेत्रलाई ताराखोला गाउँपालिकाको पर्यटन गौरवको आयोजनामा समावेश गरी पर्यटन पूर्वाधारहरुको निर्माण कार्यलाई तिब्रता दिईनेछ ।
  • डुडे लेकसम्म पुग्ने पैदल मार्गको निर्माण गरी डुडेलेकको धुरीमा गण्डकी प्रदेशको उच्च स्थानमा रहेको नमूना पार्कको रुपमा विकास सम्भाव्यता अध्ययन गरिने छ ।

पूर्वाधार विकास क्षेत्रमा

  • सडक तथा पुल
  • प्रदेश सराकारको सहयोगमा गाउँपालिका जोड्ने मुख्य सडकहरु हटिया-हरिचौर-घुस्मेली-तारा सडक र माझखर्क-खरिखोला-अर्गल-तारागाउँ  जोड्ने सडक ग्राभेल तथा कालोपत्र गरिनेछ ।
  • रिजालचोक-अमरभूमी-तारा-म्याग्दी सडक कालो पत्रेको लागि संघ तथा प्रदेश सरकारमा पहल गरिनेछ ।
  • अन्य वडा भित्रका सहायक मार्गहरुको नाली सहित स्तरोन्नती गरी बाह्रै महिना सावारी साधन चल्न सक्ने बनाइने छ ।
  • माझखर्क देखी हरिचौर भैसदे सडक निर्माणको लागी प्रदेश सरकारसँग विशेष पहल गरिनेछ ।
  • घुस्मेलीघाट मोटरेवल पुल निर्माण कार्यका लागि विशेष पहल गरिनेछ ।
  • दलानचौरघाट र दोगाडिघाट मोटरेबल पुल निर्माणको लागि संघ र प्रदेश सरकारसँग पहल गरिनेछ ।
  • हाल भइरहेका सडकहरुको स्तरोन्नती गरिने छ, नयाँ ट्र्याक खोल्ने कार्यलाई अत्यावश्य बाहेक निरुत्साहन गरिने छ ।
  • सिँचाईः
  • सिँचाई व्यवस्था नभएका खेतीयोग्य जमिनहरुको वर्गिकरण गरी आवश्यक ठुला साना सिँचाई कार्यक्रमहरु संचालन गरिनेछ ।
  • गाउँपालिकाबाट सिँचाईको लागि श्रोत अपुग भएमा प्रदेश सरकार र संघीय सरकारसँग अनुदान माग गरिनेछ ।
  • भवन तथा सहकारी विकास
  • अति विपन्न परिवारको पहिचान गरी घरविहिन परिवारको लागि जनता आवास कार्यक्रम तथा “गरिबसँग गाउँपालिका” कार्यक्रम संचालन गरिनेछ ।
  • एकिकृत बस्ती विकासको लागी ५ वटै वडाको सम्भाव्यता अध्ययन गरिने छ ।
  • नक्सा पास गरी घर बनाउने प्रक्रियाको थालनी गरिने छ ।
  • गाउँपालिकाको प्रशासनिक भवन निर्माण कार्य थालिनेछ ।
  • वडा नं. ४ को प्रशासनिक भवन निर्माण कार्य चालु आ.व. २०७७/०७८ मा सम्पन्न गरिने छ र अन्य वडाको प्रशासनिक भवन क्रमशः निर्माण कार्यको थालनी गरिनेछ ।
  • सास्कृतिक सङ्ग्राहलय भवन निर्माण कार्य थालिने छ ।
  • उर्जाः
  • ग्रामीण इलाकामा रहेको काठको पोल विस्तापित गरी फलामको पोल जडान गरिनेछ ।
  • उज्यालो गाउँपालिका घोषणा कार्यक्रमको आवश्यक तयारी गरिनेँछ ।
  • जलविद्युत उत्पादन गर्न निजी क्षेत्र र समुदायलाई प्रोत्साहन गरिनेछ ।
  • उत्पादित बिद्युत खपत क्षमता बढाउनको लागि औद्योगिक संरचनाहरु स्थापना गरिने छ। विद्युत खपतबाट आयआजन र गरिबी निवारण तर्फ कार्यक्रम केन्द्रित गरिने छ।

सामाजिक विकास क्षेत्र

  • शिक्षा
  • गाउँपालिका स्तरिय शैक्षिक योजना कार्यान्वयन गरिने छ ।
  • शिक्षक अभावलाई न्यूनिकरण गर्न आवश्यक बिद्यालयहरुमा बिद्यालय अनुदान कार्यक्रमलाई निरन्तरता दिइनेछ ।
  • शिक्षक तालिम र छात्रवृति कार्यक्रमलाई निरन्तरता दिइनेछ ।
  • अभिभावकविहिन बालबालिकाको खोजि गरी आवासिय रुपमा पढ्ने आवश्यक व्यवस्था गरिनेछ ।
  • पुननिर्माणबाट नेपाल मा.बि ताराको ४ कोठे, दुर्गाभवानी मा.बि. को ४ कोठे, त्रिशुली प्रा.बि.को ३ कोठे, युवावर्ष प्रा.बि.को २ कोठे र बिशेष अनुदानबाट हरी मा.बि.को ४ कोठे भवन निर्माण गरिनेछ ।
  • क्याम्पस स्थापना तथा प्राविधिक शिक्षा स्थापनाको लागि सम्भावना अध्ययन गरिनेछ ।
  • युवा तथा खेलकुद
  • गाउँपालिका स्तरिय खेलमैदान निर्माणलाई निरन्तरता दिइनेछ ।
  • खेलकुद कार्यक्रमको विकास तथा पूर्बाधारलाई शारीरिक मानसिक रुपमा स्वस्थ राख्न खेल प्रशिक्षकको व्यवस्था गरी यूवाहरुलाई तालिम गराइनेछ ।
  • युवाहरुलाई सामाजिक कार्यमा लाग्न प्रोत्साहन गरिनेछ ।
  • राष्ट्रपति रनिङसिल्ड खेलकुद प्रतियोगितालाई निरन्तरता दिइनेछ ।
  • दण्डपिडित बालबालिकाले उच्च तथा प्राविधिक शिक्षा पढ्न चाहेमा पढ्नको लागि सहजिकरण गरिनेछ र कुनै रोजगारी गर्नको लागि अभिप्रेरित गरिनेछ ।
  • वालवालिकामा शैक्षिक गुणस्तर वृद्वि गर्दै लगिनेछ ।
  • कक्षा ८ र SEE परिक्षामा पालिका भित्रका सामुदायीक विद्यालयका उत्कृष्ट अंक ल्याउने छात्रा र छात्र एक-एक जनालाई पुरस्कृत गरिनेछ ।
  • पशुविज्ञान अध्ययनको लागि आवश्यक सहज योजना निर्माण गरिनेछ ।
  • आवासिय विद्यालय र नमुना बिद्यालयहरुलाई क्षमता वृद्वि गर्दै लगिनेछ ।
  • प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत विपन्न श्रमिकको ज्यालामा आधारित कार्यक्रम संचालन गरिने छ ।
  • ताराखोला गाउँपालिकाबाट बिभिन्न मुलुकहरुमा काम तथा रोजगारीमा रहेका व्यक्तिहरुको ताराखोला प्रवासी समाज गठन गरी गाँउपालिकामा लगानीको लागि कोष स्थापना गरिने छ । उक्त कोष मार्फत बैदेशिक रोजगारीबाट फर्किएका युबाहरुलाई लगानीको माध्यमबाट रोजगारी श्रृजना गरिने छ । ताराखोलाबाट विदेशमा रहेका व्यक्तिहरुलाई गाउँपालिकाको पर्यटन, उद्योग लगायतका क्षेत्रमा लगानी गर्न प्रोत्साहन गरिने छ ।
  • खानेपानी तथा सरसफाईः
  • सरसफाई युक्त गाउँपालिका घोषणा गर्न आवश्यक तयारी गरिनेछ ।
  • प्रदेश तथा संघीय सरकारबाट संचालित आयोजनाहरु हल्पुखोला खानेपानी , थापागैरा खानेपानी, गैरा खानेपानी वडा नं. ४ र ५ का खानेपानी समयमा नै  सम्पन्न गर्न विशेष पहल गरिनेछ ।
  • करले लिफ्टिङ, काक्राखोर लिफ्टिङ खानेपानी र भुस्कात खानेपानी आयोजना संचालन गर्न बिशेष पहल गरिनेछ ।
  • सस्कृति प्रवर्द्वनः
  • गाउँपलिकामा रहेको परम्परागत कला, सस्कृति, ऐतिहासिक वस्तुहरुको खोज, संरक्षण प्रवर्द्वन गरी प्रचार-प्रसार गरिनेछ ।
  • संग्राहलय निर्माण गरी गाउँपालिकाको पहिचान झल्किने ऐतिहासिक महत्वका वस्तुहरु प्रर्दशन गरिनेछ ।
  • सहिद पार्क निर्माण गरी क्रमश सहिदहरुको पदमूर्ति निर्माण गरिनेछ ।
  • लैंगिक समानता र सामाजिक समावेशिकरणः
  • लक्षित वर्ग, महिला, दलित, अपाङ्गता, जनजाती, बालबालिका, जेष्ठ नागरीक कार्यक्रम शसक्तिकरणमा ध्यान दिदै आयआर्जन सिपमूलक विभिन्न कला र सस्कृति झल्किने कार्यक्रममा जोड दिइनेछ ।
  • छुवाछुत, जातिय भेदभाव लगायतका विकृति न्यूनिकरणमा विशेष अभियान संचालन गरिनेछ ।
  • अपाङ्गता हुने व्यक्तिहरुको परिचय पत्र वितरण कार्यसहज र सरल बनाई क्षमता र सिप विकासमा विभिन्न कार्यक्रमहरु संचालन गरिनेछ ।
  • जेष्ठ नागरीक सँगको ज्ञान, सिप र अनुभवलाई आत्मीकरण गर्न विभिन्न अन्तरक्रिया कार्यक्रम संचालन साथै सम्मा कार्यक्रम गरिने छ ।
  • स्वास्थ्यः
  • नेपाल सरकारबाट ससर्त सहित आएका कार्यक्रमलाई प्रभावकारी रुपमा सञ्चालन गरिनेछ ।
  • निशुल्क स्वास्थ्य सेवा औषधी वितरण एम्बुलेन्स सेवालाई प्रभावकारी वनाइनेछ ।
  • निर्माणधिन तारा स्वास्थ्य चौकी आर्थिक वर्ष २०७७।०७८ भित्र संचालनमा ल्याउन बिशेष पहल गरिनेछ।
  • अर्गल स्वास्थ्य चौकीको भौतिक पूर्वाधार निर्माणको लागि बिशेष पगल गरिनेछ ।
  • नेपाल सरकार र प्रदेश सरकारको साझेदारीमा १५ सैयाको हस्पिटल निर्माणको लागि विशेष पहल गरिनेछ ।
  • सबै स्वास्थ्य चौकीमा क्रमशः जनशक्तिको व्यवस्थापन सहित ल्यावको ब्यवस्था गरिनेछ ।
  • भ्याक्सिन व्यवस्थापनगर्न cold chain लाई प्रभावकारी रुपमा संचालनमा ल्याईनेछ ।
  • वर्थिङ सेन्टरका लागी अपुग पुर्वाधार निर्माण गरिने छ । सेवा प्रवाहलाई वृद्वि गरिनेछ । यस सेवा भित्र खटिने नर्सलाई नर्सिङ हजार्डको व्यवस्था गरिनेछ।
  • राष्ट्रिय महिला स्वास्थ्य स्वयमसेविका कार्यक्रम प्रभावकारी रुपमा संचालन गरिने छ ।
  • कोभिड १९ को कारण समाजमा फैलिन त्रासलाई न्यूनिकरण गर्न मनोवैज्ञानिक परामर्श संचालन गरिनेछ ।
  • कोभिड १९ नियन्त्रण रोकथाममा खटिने स्वास्थ्यकर्मी र कर्मचारीहरुलाई आवश्यक सुरक्षा सामाग्री प्रदान गरिने छ । बिमा गरिने छ ।
  • स्वास्थ्य विमाको लागि विपन्न परिवारको तथ्याङ्क संकलन गरिनेछ ।
  • कोभिड १९ रोग समुदायमा फैलिन नदिन क्वारेन्टीन व्यवस्थापनलाई प्रभावकारी बनाइने छ ।
  • क्वारेन्टिन व्यवस्थापनमा परिचालन हुने स्वयमसेवकलाई कोभिड १९ बिमा गरिनेछ ।

वन वातावरण तथा विपद व्यवस्थापन

  • बन
  • जडिबुटी उत्पादनको लागि जडिबुटी खेतिको सम्भाव्यता अध्ययन गरी व्यवसायीक जडिबुटी खेति गर्न प्रोत्साहन गरिनेछ ।
  • सडक तथा अन्य पूर्वाधार निर्माण गर्दा दिगो विकास सहितको वन पर्यावरणमा ध्यान दिइनेछ ।
  • खनिज जन्य खानीहरुको प्रारम्भिक वातावरणीय प्रभाव मुल्याङ्कन गरिनेछ ।
  • जलाधार संरक्षणः
  • पानिका मुहानहरुको संरक्षण गर्न आवश्यक कार्यक्रम संचालन गरिनेछ ।
  • वडा स्तरमा निर्माण गरिने पोखरीलाई निरन्तरता दिइनेछ ।
  • फोहोरमैला व्यवस्थापनः
  • हरेक वडाका टोल बस्तीहरुमा फोहोरमैला विसर्जन स्थल निर्माण कार्यलाई प्रभावकारी बनाइने छ ।
  • कुहिने र नकुहिने फोहोर छुट्याई कुहिने फोहोरबाट जैविक मल बनाउन प्रोत्साहन गरिने छ ।
  • प्लास्टिकजन्य बस्तुहरुको आयात न्युनिकरण कार्यक्रम संचालन गरिने छ ।
  • जल उत्पन्न प्रकोप नियन्त्रणः
  • नदी खोला भरान नियन्त्रण गर्न किनारा वरपरका ढुङ्गा फुटाउने,खानी खोल्ने कार्यलाई निरुत्साहित गरिनेछ ।
  • नदिखोलाले क्षति पुर्याउन सक्ने स्थानहरुको पहिचान गरी आवश्यक कार्य गरिनेछ ।
  • विपद व्यवस्थापनः
  • विपद व्वस्थापनसँग सम्बन्धित ऐन, कानून, कार्यविधी निर्माण गरी कार्यान्वयन गरिनेछ ।
  • विपद व्वस्थापन कोषमा आवश्यक रकम थप गर्दै लगिनेछ ।
  • विपद व्वस्थापनको पूर्व तयारीमा आवश्यक सामाग्री, औजार, उपकरण खरिद गरी विपद व्यवस्थापन समिति मार्फत प्रयोगको लागि व्यवस्था गरिनेछ ।

सुशासन तथा संस्थागत विकासः

  • प्रशासनिक व्यवस्थापन तथा सुशासनः
  • योजना सम्झौता भुक्तानी र आम्दानीको अभिलेख सफ्टवेयर जडानको कार्य प्रभावकारी रुपमा लागु गरिनेछ ।
  • नागरीक वडा पत्रलाई क्रमशः डिजिटल प्रविधिमा लगिने छ ।
  • सार्वजनिक सुनुवाई कार्यक्रमलाई निरन्तरता दिदै जनप्रतिनिधी तथा कर्मचारीलाई जनता प्रति उत्तरदायी बनाईनेछ ।
  • जनतासँग जनप्रतिनिधि कार्यक्रमलाई निरन्तरता दिइनेछ ।
  • गाउँ कार्यपालिकाको कार्यालयबाट सेवा प्रवाहलाई प्रविधीद्वारा छिटो छरितो बनाउन विशेष जोड दिइनेछ ।
  • सवै वडामा नेट इन्टरनेट सेवाको पहुच विस्तार गरिनेछ ।
  • रेडियो प्रशारणका लागि गल्कोट एफ.एम.क्षेत्र स्तरिकरण मार्फत रिले स्टेसन निर्माण गरी विस्तार गरिनेछ । जसको लागि गल्कोट सूचना सहकारी सँग आवश्यक समन्वय गरिने छ ।
  • राजश्वको दायरा बढाइनेछ, दरलाई समय अनुकुल बनाइने छ, सम्पति करलाई आर्थिक बर्ष २०७७।०७८ बाट लागु गरिनेछ ।
  • लेखा प्रणालीलाई व्यवस्थित गरिनेछ .
  • नेट इन्टरनेट सवै वडामा पुर्याइनेछ ।
  • यसै वर्ष सामुदायीक रेडियो गलकोट स्तरीकरण मार्फत रिले स्टेसन निर्माण गरी रेडियो प्रसारण गरिने छ ।
  • निश्चित मापदण्डको आधारमा योगदानमा आधारित करार कार्मचारीहरुको कल्याणकारी कोष स्थापना गरिनेछ ।
  • आर्थिक प्रशासन एवं सुशासनः
  • आम्दानी र खर्चको अभिलेख सुत्र मार्फत संचालन गरिने छ । गाउँपालिकाको आम्दानीको पहिचान गरी कर संकलनलाई प्रभावकारी बनाइने छ ।
  • आन्तरिक लेखा परिक्षण नियमित रुपमा गरिनेछ ।
  • खरिद प्रक्रियालाई योजनावद्व गरी दाखिला सफ्टवेयर मार्फत कार्य संचालन गरिनेछ ।
  • गत आर्थिक बर्षको बेरुजु फर्छौट गर्न सम्बन्धित पक्षसँग तार्कता गरिनेछ ।
  • उपभोक्ता समितिलाई तालिमको व्यवस्था गरी योजना कार्यान्वयन र प्रभावकारी बनाउन प्रोत्साहित गरिने छ ।
  • विलासिताको वस्तु आयात न्यूनिकरण गर्दै स्थानीय उत्पादित बस्तुमा प्रोत्साहन गरिनेछ ।
  • आयोजना संचालन सम्बन्धितः
  • आयोजना संचालन एवं सम्पन्न गर्नको लागि समयमा नै कार्यान्वयन गर्नआवश्यक नीति अवलम्बन गरिने छ ।
  • योजना सम्झौता र भुक्तानी प्रक्रियालाई आधुनीक प्रविधि मार्फत अझै प्रभावकारी बनाइने छ ।
  • योजना तथा कार्यक्रम अनुगमनलाई प्रभावकारी गराइनेछ ।
  • आयोजना प्रभावकारी कार्यान्वयनको लागि कामको गुणस्तर अभिवृद्विको लागि सिभिल ल्यावको स्थापना गरिने छ ।

अन्तमा प्रस्तुत नीति तथा कार्यक्रमले गाउँपालिकाको भौतिक पूर्वाधार निर्माण गरी औद्योगिक ग्राम निर्माण तथा संचालनले धेरै भन्दा धेरै रोजगारी सृजना हुने कृषि र पशुपालनको आधुनिकरण र व्यवसायीकरणबाट स्थानीय अर्थतन्त्र सृदृढ विस्वास लिएको छु ।

आजको प्रस्तुत नीति तथा कार्यक्रम अनुसार आगामी आर्थिक वर्षको कार्यक्रम बन्ने र कार्यक्रम प्रभावकारी रुपमा कार्यान्वयन हुने कुरामा अपेक्षा गरेको छु ।

प्रस्तुत नीति तथा कार्यक्रम तयार गर्न सहयोग गर्ने उपाध्यक्ष डिल कुमारी रोका ज्यू र प्रमुख प्रशासकीय अधिकृत राम प्रसाद शर्मा ज्यू प्रति आभार प्रकट गर्दछु र सम्पूर्ण वडाका अध्यक्ष ज्यूहरु, कार्यपालिका सदस्य ज्यूहरु, वडा सदस्य ज्यूहरु, प्रमुख प्रशासकीय अधिकृत रामप्रसाद शर्मा ज्यू , प्रशासकीय अधिकृत लगायत विषयगत शाखाका सम्पूर्ण कार्समचारी साथीहरु विभिन्न राजनैतिक दलका पदाधिकारी, शिक्षक, पत्रकार, विभिन्न संघ संस्थाका प्रतिनिधी र समग्र देश विदेशमा रहनुभएका ताराखोला वासी आम दाजुभाई दिदिबहिनीहरुमा हार्दिक धन्यवाद प्रकट गर्दछु ।

धन्यवाद।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->