छेक्यो छेक्यो देउराली डाँडा हुस्सु र कुहिरोले,
छोडेन कहिल्यै जाँ गएपनि मायाको धुइरोले !
पञ्चासे पुग्नु अगावै चार घण्टा तलको भदौरे देउराली गाउँ, स्वर्गीय शुक गुरुङको शब्द संगीतमा नेपथ्य ब्यान्डले ल्याएको गीतको माथिका हरफहरु यथार्थमै अनुभूत हुन्छ, यहाँ हुस्सु अनि कुहिरोसँगै लुकामारी खेल्ने ती लमतन्न परेका मौलिक घरहरु ! लाग्छ, घुम्न आएका पाहुनासँग लजाएर मुहार छोप्दै छ सिंगो गाउँले । छिनमै कुहिरोभित्र ढाकिने सिंगो गाउँ, छिनमै छ्याङ्ग आकाश खुलेर गाउँ सँगै देखिने माछापुच्छ«े र अन्नपूर्ण हिमशृंखला अनि आङै सिरिङ्ग बनाउने फेवातालको चिसो सिरेटो । पञ्चासे घुम्न आउनेहरु त्यसै लठ्ठ पर्छन पञ्चासे पुग्नु अगावै, यहाँ थकान मार्दा । अनि बिस्तारै लम्किन्छन् पाइलाहरु पञ्चासेतिर ।
कास्की, स्याङजा र पर्वत जिल्लाको पवित्र संगम स्थल हो पञ्चासे । उचाइ समुन्द्री सतहबाट जम्मा २ हजार ५ सय १७ मिटर । धार्मिक, सांस्कृतिक, ऐतिहासिक, पर्यटकीय तथा जैविक विविधताको सिंगो धरोहर मानिन्छ, यस क्षेत्र । पञ्चासे केही वर्षयता पर्यटकहरुको आकर्षक तथा अनुपम पदयात्राको गन्तव्यको रुपमा विकसित भइरहेको छ । झन्डै एक लाख मानिसहरु, थुप्रै जीवजन्तु र चराचुरुङ्गी आश्रित छन्, यस प्राकृतिक धरोहरमा । अहिले यस क्षेत्रको बृहत्तर योजनाबद्ध विकासका लागि पञ्चासे ग्रामीण पर्यटक विकास गुरुयोजना पनि बनिसकेको छ ।
पञ्चासेबाट आँखै अगाडि देखिने लमतन्न गुर्जा हिमाल, गणेश हिमाल, धौलागिरी, गंगापूर्ण, अन्नपूर्ण हिमश्रिंखला, माछापुच्छे«, लमजुङ, मनास्लु हिमाल एकटकले नियाल्दा जो कोही मन्त्रमुग्ध बन्छन् । जानकारहरु भन्छन्, एकै ठाउँबाट सबैभन्दा धेरै हिमश्रृङखलाहरु देखिने अनुपम ठाउँ नै पञ्चासे हो । मौसम खुल्दा देखिने नजिकैको गाउँहरु, नौडाडाँ, कास्कीकोट, सराङकोट, पोखरा अनि फेवातालको प्यानारोमिक दृश्य धीत मरुन्जेल कोही क्यामरामा त कोही मस्तिष्कमा कैद गर्छन,यहाँबाट ।
पाँच पवित्र टाकुराहरु मिलेर बनेको धार्मिक तपोभूमि पञ्चधाम हो, पञ्चासे । पञ्चासे ध्यान र योगको लागि पनि प्रसिद्ध छ । डाडैँमा छ, सिद्धबाबा मन्दिर । मन्दिरसगैँ ठुलो ढुंगा खोपेर ऋषिमुनिहरु तपस्या गर्ने गुफा देख्दा जो कोही अचम्मित हुन्छन् । त्यसको छेवैमा सन्तकुटी छ, जहाँ पञ्चासे बाबा बस्दै आएका छन् । मन्दिर पश्चिमपट्टि नवनिर्मित बुद्धस्तुपा पनि छ । बौद्ध धर्मवालम्बी विशेष गरी बुद्ध पूर्णिमा लगायत अन्य पर्वहरु यहाँ पुग्छन् । छेवैमा गुरुङ भ्यु टावर पनि निमार्ण भएको छ । वरिपरिका दृश्य धीतमरुन्जेल अवलोकन गर्छन, पर्यटकहरु यहाँबाट । नजिकै बाइसे चौबीसे राज्यको भग्नावशेष पनि रहेको छ । चैत वैशाखमा वरिपरि लालीगुरासँले ढकमक्क । वनमात्र हैन घुम्न आउनेहरुको मन पनि खुसी र हर्षले ढकमक्क हुन्छ । कोही लालीगुरासँ टिपेर चाख्छन् त कोही चुल्ठो सजाउन भ्याउँछन् ।
अनि अर्को मुख्य आकर्षक भनेकै पञ्चकोसी ताल । पञ्चासे डाँडाबाट करिब एक घण्टाको ओरालो बाटो । पानीको मुहान र निकास पनि नरहेको यस रहस्यमय ताल करिब ३ सय ५० मिटर लामो रहेको छ । तालसगैँ अवस्थित बाराही मन्दिर उस्तै सुन्दर र आकर्षक । प्राचीन कालमा पञ्च पाण्डवहरुले यही क्षेत्रमा वनवास गरेको किम्बदन्ती पनि रहेको छ । मातापिता भक्त श्रवणकुमारको समाधिस्थल पनि यही रहेको कथाहरु बूढापाकाले सुनाउँछन् । श्रवणकुमार कुवामा पानी लिन जादाँ मृगको आवाज ठानी राजा दशरथले हानेको वाणबाट उनको मृत्यु भएको मानिने ध्याङ्सिरी पञ्चासेको बाटोमै पर्छ ।
मनसुन सिजनमा पनि फरक अनुभव बटुल्न घुम्न आइरन्छन्, पर्यटकहरु । छाता वा रेनकोट ओढेरै उक्लन्छन्, पञ्चासे । धीतमरुन्जेल वरिपरिको सुन्दरतामा हराउँछन् । आकाश खुले आकाशसँगै मन खोलेर हिमालहरु नियाल्छन् । कलकल बग्ने स–साना झरनाहरु हुन् वा अजङ्गको छन्द्री छहरा, जो कोहीलाई रोमञ्चित तुल्याइदिन्छ । चराहरुको चिरबिर आवाज अनि बाटैभरि रङ्गीबिरङ्गी फुलेका वर्खे फूलहरु नियाल्दै अघि बढ्नुको मज्जा बैग्लै मिल्छ, यहाँ । भाग्यले साथ दिए मृगका बच्चाहरु, मुनाल अनि काडेँभ्याकुरको तस्वीर कैद गर्ने सौभाग्य मिल्न सक्छ ।
प्राकृतिक र जैवित विविधताले पनि सम्पन्न क्षेत्र हो यस क्षेत्र । ५ हजार ५ सय हेक्टरभन्दा बढी क्षेत्रफलमा फैलिएको वन क्षेत्र सुनगाभाको राजधानी भनेर चिनिन्छ । नेपालकै सबैभन्दा बढी प्रजातिका सुनगाभा (१ सय १३ थरी ) यहाँ पाइन्छ जसमध्ये इरिया पोखरेनसिस र पेनिसिया पञ्चासेनेसिस प्रजातिका सुनगाभा यहाँ मात्र पाइन्छ । यसका साथै ५ प्रजातिका गुराँस, ५६ प्रजातिका च्याउ, फूल फुल्ने ५९८ प्रजातिका विरुवा तथा पहिचान भएका १०७ प्रजातिका जडिबुटीहरु यस वन क्षेत्रमा पाइन्छन् । ३ सयभन्दा बढी प्रजातिका वनस्पति पाइने यस क्षेत्र दुर्लभ कालो भालु, बाघ, मृग लगायतका वन्यजन्तु र मुनाल, काडेभ्याकुर लगायतका चराचुरुंगीको क्रिडास्थल समेत रहेको छ । यस क्षेत्रमा मात्रै ८ प्रजातिका चमेराहरु, २५० भन्दा बढी प्रजातिका चराहरु समेत पाइने भएकाले यस क्षेत्रलाई चरावलोकनका लागि उपयुक्त गन्तव्य मानिन्छ ।
पाँच मुख्य खोला हर्पन, रति, जरे, आधीँ र सेती खोलाको उद्गम स्थल पनि हो, पञ्चासे । फेवातालको मुख्य स्रोत हर्पन खोला लगायत फेवाताल जलधार समेत रहेको पञ्चासेसगँ फेवातालको अस्तित्व जोडिएको छ । वर्षेनी फेवातालको क्षेत्रफल घट्दै जादा समेत पोखरेलीहरु सजग भएका छैनन् । समयमै पञ्चासे क्षेत्रमा हुने पहिरोलाई नियन्त्रण गर्न सबै सरोकारवालाको ध्यान जान जरुरत देखिन्छ ।
वरपरको क्षेत्र ग्रामीण जीवनशैली, रहनसहन र संस्कृतिको केन्द्र पनि हो । आसपासमा पर्ने कास्की – भदौरे, तामागी, सिदाने, पर्वत – चित्रे, छेवैको स्याङ्जा – फेदीखोला, आरुखर्क जति सुन्दर छन्, उस्तै आर्कषक छ, त्यहाँको जनजीवन, नाचगान अनि रैथाने संस्कृति । पर्यटकको सुविधाको लागि भनेर घर बास अर्थात होमस्टेमा जुर्मुराइरहेका छन् भदौरे तालीब्राङ, सिदाने, चित्रे गाउँका स्थानीयहरु । अर्गानिक खाना, आत्मीय गाउँले अनि न्यानो आतिथ्यता नै यहाँको विशेषता मानिन्छ । यसैले त फर्कीफर्की आउँछन्, पाहुनाहरु यहाँ ।
राउन्ड अन्नपूर्ण र अन्नपूर्ण आधार शिविर पदयात्रा जान समय र स्वास्थ्यले नभ्याउने पर्यटकहरु आजकल पञ्चासे टे«कमै मस्त रमाइरहेका छन् । यात्रामा भेटिन्छन् बालबच्चा देखि बुढाबुढी उमेरसम्मको समुह । हुन पनि केही वर्ष यता लेकसाइडको खहरेबाट, सराङकोट, कास्कीकोट, काडेँ, भदौरे, पञ्चासे, भञ्ज्याङ, पुम्दीभुम्दी, स्तुपा हुदैँ डेभिजफल वा गुप्तेश्वरी गुफामा अन्त्य हुने चार दिनको पदयात्रा प्रचलनमा आएको छ । अन्त कतै नपाइने भिन्न छ, यस पदयात्राको स्वाद । तिर्खाउँदा पञ्चासेको पानी जति पिउँदा पनि आत मर्दैन । यात्रा क्रममा भोक लाग्दा काफल, चुत्रो, ऐसेलु, पानी अमला चाख्छन् पर्यटकहरु । त्यति मात्र नभएर जैविक विविधताको अनुसन्धानका लागि मात्र भनेर पनि कैयौँ स्वदेशी तथा विदेशी अनुसन्धानकर्ता महिनौँ यहीँ बस्छन् । योग र ध्यानको हब बनेको छ पञ्चासे । प्याकेजमा हाइकिङ साथै ध्यान योगका लागि यस तपोभूमिमा आउदाँ पर्यटकहरु रमाउँछन् ।
पर्यटककै लागि भनेर ढुंगाले बनाएको चिटिक्कको बाटो छ । विश्राम स्थलहरु अनि पानीको धाराहरु पनि छन्, ठाउँठाउँमा । थकान मार्दै हिमश्रृंखला नियाल्नका लागि चौतारी लगायत बेन्चहरुको व्यवस्था पनि गरिएको छ । पदयात्रा सहज होस् र पञ्चासेको जानकारी लिनका लागि बोर्डहरु पनि बाटामा राखिएका छन् । छिमेकी गाउँहरुमा होमस्टेको सुविधा त छदैँ छ, भञ्ज्याङ अनि पञ्चासे डाँडामा पनि होटलहरुको व्यवस्था छ ।
वर्षभरि अर्थात् बाह्रैमास यस क्षेत्र घुम्न सकिन्छ । हरेक ऋतुमा यहाँ घुम्न आउदाँ फरक स्वाद लिएर फर्कन्छन् पर्यटकहरु । चैत बैशाखमा लालीगुरासँले वनै कलात्मक रुपले रङ्ग्याइदिन्छ । कार्तिक मंसिरमा मौसम खुल्दा हिउँले ढाकिएको हिमाल हेदैँ पर्यटकहरु रमाउँछन् । जाडो याममा हिउँ पदाँ हिउँ खेल्न मानिसहरुको उस्तै घुइँचो हुन्छ, यहाँ । वर्खा याममा पानीमा रुज्दै हरियालीमा रमाउदैँ पदयात्रामा रम्ने पदयात्रीको पनि छुट्टै जमात हुन्छ ।
यति धेरै विशेषता भइकन पनि अझै पञ्चासे पदयात्रा सोचे जति फस्टाउन सकेको छैन । न त अन्नपूर्ण क्षेत्र पदयात्रा गर्दा जस्तो शुल्क तिर्नु पर्छ, न त उताको जस्तो महङ्गी छ, यहाँ । यस क्षेत्रको महत्वको बारेमा प्रचारप्रचारको कमी, बाटामा पर्याप्त होटलहरुको व्यवस्था अनि पर्याप्त सूचना बोर्डहरु नभएकाले पर्यटकहरु माझ अझै यस क्षेत्र गुमगाम छ । भदौरे माविका प्राचार्य रामप्रसाद पौडेल नेपाली पर्यटकहरु माझ नै यस ठाउँलाई ब्रान्डिङ गर्न जरुरी ठान्छन् ।
पञ्चासे र आसपासको क्षेत्रको पर्यटन प्रवद्धनको लागि ११ अर्ब रुपियाँको लागतमा केबलकारसहितको पर्यटकीय पूर्वाधारको निमार्ण योजना बनाइएको छ । पोखरा महानगरपालिका – ३३ घाटीछिनादेखि पञ्चासेसम्म केवलकार निमार्णसँगै पञ्चासे तालदेखि चित्रे गाउँसम्म जिप फ्लायर, पञ्चासेदेखि आर्थरसम्म साइकल लेन, टे«किङ रुट, बाल उद्यान एवम् फन पार्क, श्रवणकुमार आश्रम, हस्तकला बिक्रीकेन्द्र एवम् हेरिटेज प्लाजासहित होटलका साथै होमस्टे तयार पार्ने गुरु योजना समेत रहेको छ । यी योजनाहरु पूरा हुन सके, कास्की मात्र हैन नेपाल चिनाउने अर्को माध्यम पञ्चासे बन्नेमा कुनै दुई मत छैन ।
यति धेरै महत्व बोकेको एउटै क्षेत्र सायद नेपालमा कमै होलान् । पञ्चासे स्वर्गको टुक्रा मात्र हैन सिंगो स्वर्ग नै हो । जस्तोसुकै प्रवृतिका पर्यटकहरु रम्न सक्छन्,यहाँ । धार्मिक, सांस्कृतिक, ऐतिहासिक र प्राकृतिक महत्व बुझ्न एक पटक पञ्चासे पुग्नै पर्छ । अनि यही मेसोमा नजिकैको गाउँहरु घुम्न छुटाउनै हुदैँन । अझै तपाई पुग्नु भा’छैन भने कोरोना कहर साम्य भएपछि पञ्चासे पुग्नुुस्, यही मेसोमा छेउछाउका गाउँहरु प्नि घुम्ने तालिका बनाउनुस् ।
जय पञ्चासे । जय पर्यटन ।





